काठमाडौँ । मलेसियामा हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन चारको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई जिपी कोइराला फाउन्डेसनले सम्मान गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा खेलाडीहरूलाई सम्मानस्वरूप रु ५० हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो । टोलीलाई फाउन्डेसनकी अध्यक्ष एवम् नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायतले नगद तथा ट्रफी प्रदान गर्नुभयो । कार्यक्रममा नेत्री कोइरालाले खेलाडीहरूले समयमै उचित तालिम पाउने हो भने ओलम्पिक खेलमा समेत राम्रो नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले स्व पिता गिरिजाप्रसाद कोइरालाको आर्दशलाई मर्न नदिन र उहाँले देखेको सपना पूरा गर्न फाउन्डेसनको स्थापना गरेको बताउनुभयो । खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले खेलकुद क्षेत्रलाई कसैले पनि राजनीतिकरण गर्न नहुने बताउनुभयो । सदस्य–सचिव युवराज लामाले गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकताले नै खेलकुद क्षेत्र राम्रोसँग सञ्चालन हुने बताउनुभयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शोभाकर पराजुलीले सबै राजनीतिक दलहरूले खेलकुदको ‘स्पोट्सम्यानसिप स्पिरिट’ को भावनालाई आत्मसात् गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलाडीले मात्र मेहनत गरेर कुनै पनि प्रतियोगितामा सफलता हात पार्न नसकिने बताउदै सरकारले पनि खेलाडी र खेलकुदको विकासमा उत्तिकै चासो दिनुपर्ने बताउनुभयो ।
पूर्वाञ्चलस्तरीय तेक्वान्दो प्रतियोगिता हुने
विराटनगर । मदरल्यान्ड एकेडेमी विराटनगर—५ को आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम मदरल्यान्ड प्रोफेसनल तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता यहाँ सञ्चालन हुनेभएको छ । मदरल्याण्ड एकेडेमी जामुनगाछी र पूर्वाञ्चल तेक्वान्दो एसोसिएसनको संयुक्त आयोजनामा हुने उक्त एक दिने प्रतियोगितामा १६ जिल्लाका १६ खेलाडीको सहभागिता रहनेछ । मदरल्यान्ड एकेडेमीका प्राचार्य मोहन बुढाथोकीले यहाँ आयोजित पत्रकार सम्मेलनमा यही असोज १३ गतेदेखि सोही विद्यालयको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगिताका विजेता टिमलाई नगद रु २५ हजार, उपविजेतालाई रु १५ हजार र तृतीय हुनेलाई रु १० हजार सहित ट्रफी प्रदान गरिनेछ । एकदिन उक्त प्रतियोगितामा ५० देखि ६५ केजी तौल समूहका खेलाडीको सहभागिता हुनेछ ।










