वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१२ को राष्ट्रपति पदको निर्वाचनमा दिनुभएको उम्मेदवारीमा पेन्सिलभेनियाका साथै अन्य दुई प्रमुख क्षेत्रमा आफ्नो स्थान बलियो बनाउनुभएको हालै सम्पन्न एक अभिमत सर्वेक्षणको नतिजामा देखिएको छ । किनिपियाक विश्वविद्यालय, न्यु योर्क टाइम्स तथा सीबीएस न्युजले गरेको सर्वेक्षणमा फ्लोरिडामा राष्ट्रपति ओबामालाई ५३ प्रतिशत जनताको समर्थन भएको देखिएको छ भने रिपब्लिकन पार्टीका प्रतिस्पर्धी मिट रोम्नीलाई ४४ प्रतिशत जनताको समर्थन रहेको देखिएको छ । यो प्रतिशत ओहियोमा ५३ र ४४ प्रतिशत तथा पेनसिलभेनियमा ५४ र ४२ प्रतिशत रहेको देखिएको छ । यी तीन राज्यमा ओबामाप्रति समर्थन ५४ प्रतिशत र रोम्नीप्रति समर्थन ४१ प्रतिशत देखिएको छ । उक्त सर्वेक्षणमा यी तीन राज्यका एक हजार २०० सम्भावित मतदातालाई प्रश्न गरिएको थियो ।
भायग्राको उत्पादन बन्द गर्न आग्रह गरे
ढाका । बङ्गलादेशका चिकित्सकहरूले भारतमा यौनदुर्बलता रोक्ने औषधि भायग्रा व्यापक रूपमा उत्पादन हुँदा हरेक पसलमा यस्तो औषधि उपलब्ध हुने भएकाले यस्तो अनुमति रोक्न सरकारलाई आग्रह गरेका छन् । सरकारको औषधि नियन्त्रण समितिले हालै एक दर्जनभन्दा बढी कम्पनीलाई सिलडेनाफिल सिट्रेट उत्पादन गरी बिक्री गर्न अनुमति दिएको छ । यस औषधिलाई भायग्रा भनिन्छ । बङ्गलादेश मेडिकल एसोसिएसनमा ३२ हजार चिकित्सक सदस्य रहेका छन् र यस संस्थाले सरकारले गरेको उक्त निर्णयको विरोध गरेको छ ।
यस संस्थाले यस्तो औषधि बजारमा सजिलै उपलब्ध हुँदा प्रयोगकर्ताको स्वास्थ्य जोखिममा पर्नसक्ने धारणा राखेको छ । यस संस्थाका महासचिव शर्फुद्दिन अहमदले सरकारले यी अनुमतिपत्र रद्द गर्नुपर्ने माग गर्नुभएको छ । यस संस्थाले आउँदो साता यस विषयमा आपत्कालीन बैठक बोलाएको छ । हाल बङ्गलादेशमा भायग्रा कानुनी रूपमा उपलब्ध छैन
तीस हजाभन्दा बढी मारिए
बेरुत । सिरियामा गत मार्च महिनामा राष्ट्रपति बसार अल–असादविरुद्ध विद्रोह आरम्भ भएपछि हालसम्म मर्ने व्यक्तिको सङ्ख्या तीस हजारभन्दा बढी भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हालसम्म २१ हजार ५३४ नागरिक, सात हजार ३२२ सैनिक, एक हजार १६८ भगौडा सैनिकको मृत्युभएको बताउनुभयो ।
यस सङ्ख्यामा हतियार लिएर विद्रोहमा संलग्न भएका गैरसैनिक नागरिक पनि रहेको उल्लेख गर्नुभयो । यसमा सिरियाली जेलमा रहेका वा पहिचान प्राप्त नभएका शवहरूको सङ्ख्या नजोडिएको बताइएको छ । यसमा सरकार समर्थक हजारौँ शबिहा लडाकूको सङ्ख्या पनि नपरेको उहाँले उल्लेख गर्नुभयो । गत १८ महिनामा तीस हजार भन्दा बढी व्यक्तिको मृत्युले प्रत्येक दिन करिब १०० व्यक्तिको मृत्युभएको देखिएको उहाँले उल्लेख गर्नुभयो ।
अल निप्पोन एयरवेजको यात्रीले उडान रद्द
टोकियो । अल निप्पोन एयरवेजले चीन तथा जापानबीच क्षेत्रीय विवादका कारण नोभेम्बरसम्मको तीन महिनाका लागि जापान–चीन मार्गका करिब ४० हजार यात्रीले उडानका लागि अग्रिम रूपमा खरिद गरेको टिकट रद्द गराएको जानकारी दिएको छ ।
यी टिकटहरू समूहगत यात्राका लागि खरिद भएका थिए । यी यात्रीमध्ये १२ हजार यात्री चीन जाने योजनामा रहेको र बाँकी जापान जाने योजनामा रहेको बताइएको छ । आनाको प्रतिस्पर्धी जापान एयरलाइन्सले समूहगत रूपमा अग्रिम रूपमा खरिद भएका १५ हजार ५०० टिकट रद्द भएको जानकारी दिएको छ । आनाका अध्यक्ष सिनिचिरो इतोले आउँदा दिनमा यस मार्गमा सानो विमान सञ्चालन गरिने जानकारी दिनुभयो ।
सिरियाको दमासकसमा पुन: बम आक्रमण
दमासकस । सिरियाको राजधानी दमासकसको मध्य सहरमा आज पुन: दुईवटा बम विस्फोटन भएको समाचार छ ।सशस्त्रबलको प्रमुख कार्यालय नजिकै भएको यस विस्फोटनबाट हताहतिको कुनै समाचार भने नभएको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । यस आतङ्ककारी आक्रमणमा सपत्ती क्षति भएको तर मानवीय हताहति भने नभएको सूचना मन्त्री ओमार अल मोह्बीले बताउनु भएको छ् । यस आक्रमणबाट सबै सेनाका कमाण्डर तथा प्रवक्ता सुरक्षित रहेको उहाँले जनाउनु भएको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असाद अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनको क्रममा २९ हजारभन्दा बढीको ज्यान गएको र लाखौ विस्थापित भएको मानवअधिकारबादीहरुले जनाएका छन् ।
पत्रकारको मृत्यु
तेहरान । दमासकसमा एक बन्दुकधारीले इरानको ‘प्रेस टीभी’का समाचारदाता माया नासेरको सिरियाली सैनिक मुख्यालय नजिकै बम विस्फोट भएको स्थानमा समाचार लिइरहेको समयमा लुकेर गोली हानी हत्या गरेको तथा समाचारकक्ष निर्देशक हुसेन मोटार्डालाई घाइते बनाएको जानकारी उक्त समाचार च्यानलले दिएको छ । उक्त च्यानलका लागि स्थलगतरूपमा समाचार प्रत्यक्ष प्रसारण गरिरहेको समयमा ३३ वर्षीय माया नासेरको घाँटीमा गोली लागी मृत्यु भएको उक्त टेलिभिजनले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । समाचार निर्देशक हमिद रेजा इमादीले दमासकसमा आफ्ना पत्रकारको हत्याका लागि टर्की, साउदी अरेबिया तथा कतारलाई दोष लगाउने बताउनुभयो । उहाँले यी मुलुकले सिरियामा विद्रोहीलाई हतियार उपलब्ध गराइरहेको र विद्रोहीले पनि बन्दुकधारीको प्रयोग गर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले यसका कारण स्थानीय जनता तथा पत्रकारहरूमा त्रास पसेको बताउनुभयो । उहाँले युद्धस्थलमा मर्ने कुनै पनि पत्रकारको हत्याप्रति भत्र्सना गरिने बताउनुभयो । लेबनानी नागरिक मोटार्डा पनि उक्त घटनामा घाइते भएको बताइएको छ ।
मोर्टाडाको दमासकस अस्पतालमा उपचार भइरहेको बताइएको छ । मोटार्डाले प्रेस टीभीका साथै इरानी सञ्जाल अल–अलामका लागि पनि काम गरिरहेको देखिएको छ । इमादीले ‘प्रेस टीभी’का अन्य पत्रकार पनि सिरियामा कार्यरत रहेको बताउनुभयो । उहाँले अन्य पत्रकारको सुरक्षाको व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो । ‘प्रेस टीभी’ले अङ्ग्रेजीमा समाचार दिने गरेको छ र ‘अल–अलाम’ले अरेबिक भाषामा समाचार दिन्छ । दुबैलाई इरानी सरकारले आर्थिक सहयोग दिने गरेको छ । इरानले सिरियाली राष्ट्रपति बसार अल–असादको सरकारलाई समर्थन गरिरहेको छ । सिरियामा सन् २०११ को मार्चदेखि मारिएका पत्रकारहरूका सङ्ख्या चार पुगेको छ ।













