‘दिगो विकासका लागि पर्यटन र ऊर्जा’ भन्ने नाराका साथ ३३ आँै विश्व पर्यटन दिवस असोज ११ गते (सेप्टेम्बर २७) विश्वभर विभिन्न कार्यक्रम आयोजनाका साथ मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठन (डब्लुटिओ) ले पर्यटन र ऊर्जाबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै यस वर्ष यो सन्देश दिएको हो । विश्वव्यापीरूपमा ऊर्जा सङ्कट भइरहेको र यसले वातावरणमा समेत नकारात्मक असर पार्दै लगेको अवस्थामा वैकल्पिक एवम् नविकरणीय ऊर्जाको उत्पादनमा पर्यटनले नेतृत्वदायी र उत्प्रेरकको भूमिका निर्वाह गर्नसक्ने विश्वास गरिएको छ । सो अवसरमा ब्डलुटिओका महासचिव तालेव रिफाइले एक सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घले आगामी सन् २०३० सम्ममा सबैका लागि दिगो ऊर्जाको पहँुचको लक्ष्यलाई पूरा गर्न पर्यटन क्षेत्रका सबै व्यक्तिलाई भविष्यका लागि पर्यटनलाई स्वच्छ ऊर्जा प्राप्ति गर्ने प्रमुख माध्यम बनाउन आग्रह गर्नुभएको छ । दिगोरूपमा हुने ऊर्जा प्राप्तिबाट नै पर्यटन क्षेत्रले आर्थिक अवसर र लाखौँ मानिसलाई रोजगार प्रदान गर्नसकिने धारणा महासचिव तालेवले व्यक्त गर्नुभएको छ । सन् २०१२ मा विश्वभर करिब एक अर्ब मानिसले पर्यटक भएर विदेश भ्रमण गर्ने अनुमान गरिएको छ । पर्यटन व्यवसाय विश्वमै छ दशमलव सात प्रतिशतले वृद्धि भइरहेको र एसियाका साथै छिमेकी राष्ट्रमा समेत पर्यटन उद्योगको तीव्र विकास हँुदै गएको अवस्थामा नेपालमा पर्यटकको सङ्ख्यात्मक एवम् गुणात्मक वृद्धिका लागि सरकार, पर्यटन व्यवसायीलगायत सबै क्षेत्रबाट सामूहिक पहल हुनु जरुरी छ ।
विश्व पर्यटन दिवसका अवसरमा नेपालमा पर्यटनसँग सम्बन्धित ४८ वटा सङ्घसंस्थाले गोष्ठी, सडक महोत्सव, खाद्य महोत्सव, प्रभातफेरी, पर्यटकलाई सम्मान र सत्कार, पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई सम्मान एवम् विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्यटन दिवसप्रति ऐक्यबद्धता जनाउन लागेका छन् । सन् २०१२ को आठ महिनामा हवाईमार्गबाट तीन लाख ७७ हजार ४३ पर्यटक देशभित्र आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो गत वर्षको तुलनामा १६ प्रतिशतको वृद्धिदर हो । गत वर्ष नेपाल पर्यटन वर्षको अभियानसँगै दश लाख पर्यटक भित्रयाउने लक्ष्य राखिए पनि करिब सात लाख पचास हजार पर्यटकले नेपालको अवलोकन गरेका थिए ।
देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा तीन दशमलव दुई प्रतिशतको योगदान गरेको पर्यटन उद्योगले सरकारको कुल राजस्वमा ३३ प्रतिशत अंश ओगटेको छ । पर्यटन उद्योगबाट मुलुकलाई प्रतिवर्ष करिब ३८ करोड अमेरिकी डलर प्राप्त हुने गरेको छ भने सात लाख पचास हजार नेपालीलाई प्रत्यक्ष एवम् अप्रत्यक्षरूपमा रोजगारी दिँदै आएको छ ।
नेपालले पनि ऊर्जा सङ्कट भोगिरहेको वर्तमान अवस्थामा विश्व पर्यटन दिवसको सन्देशलाई ग्रामीण स्तरसम्म पुर्याउनुपर्ने आवश्यकता छ । देशमा भइरहेको लोडसेडिङले पर्यटन उद्योगमा समेत नकारात्मक प्रभाव पारिरहेको गुनासो पर्यटन व्यवसायीको रहेको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोडसेड्ङिलाई आगामी हिउँद महिनामा पनि दश घन्टामा सीमित राख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
यस कार्यमा सरकारको ठोस नीति र कार्ययोजना आउनुपर्छ भने ऊर्जा उत्पादन एवम् सञ्चयप्रति जनचेतना जागृत गर्न पर्यटन व्यवसायीले सौर्य र नविकरणीय ऊर्जाको उपयोगमा जोड दिनु अत्यावश्यक छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्य आकर्षक हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथलगायतका गन्तव्यस्थलले विश्वमै नेपालको पर्यटकीय पहिचान बनाइसके पनि राजनीतिक अस्थिरता, पर्याप्त हवाईसेवाको सुविधा नहुनु र बेलाबखत विश्व पर्यटन बजारमा भ्रामक एवम् नकारात्मक प्रचारप्रसारजस्ता कारणले ती पर्यटकीय सम्पदाबाट मुलुकले अपेक्षित प्रतिफल पाउनसकेको छैन । सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाउने निर्णय गरेपनि ठोस कार्यक्रम नभएकाले यो अभियान ओझेल पर्न थालेको महसुस भइरहेको छ । लुम्बिनीको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी बढीभन्दा बढी बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्ने अवसरलाई नेपालले गुमाउनु हुँदैन ।
पर्यटनको विकासबाट नै देशले आर्थिक क्रान्तिको नयाँ ढोका खोल्ने कुरामा कसैको दुईमत छैन । नेपालमा पर्यटन व्यवसाय पर्वतारोहण क्षेत्रबाट नै प्रारम्भ भएकाले पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने यस क्षेत्रका व्यवसायीको माग रहेको छ । यस क्षेत्रमा पर्यटक आगमनको ४० प्रतिशत पर्यटक आउने गरेको तथ्याङ्कले देखाउँछ । सरकारले आरोहणका लागि खुल्ला गरेका तर प्रवद्र्धन हुननसकेका देशका विभिन्न २३ वटा हिमचुलीको प्रवद्र्धन र व्यवस्थापन गर्न नेपाल पर्वतारोहण सङ्घलाई जिम्मेवारी दिनुपर्ने सङ्घका अध्यक्ष जिम्बाजाम्बु शेर्पाको माग रहेको छ । उहाँ नेपालको गौरवलाई सगरमाथाको उचाई समान पुर्याउने कीर्तिमानी पर्वतारोही विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न सरकारले उनीहरूलाई उचित सम्मान र रोजगारीको व्यवस्था गर्नुपर्ने धारणा राख्नुहुन्छ । राजनीतिक दलहरूले गत वर्ष देशमा पर्यटन क्षेत्रलाई नकारात्मक असर पार्ने गरी बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाए पनि केही महिनाको अन्तरालमा नै ती वचन तोडेर बन्द, हडतालमा ओर्लिएका गुनासो पर्यटन व्यवसायीले गरिरहेका छन् । पर्यटनलाई अतिथि सत्कारका रूपमा मात्र नलिई व्यावसायिकरूपमा प्रवद्र्धन गर्ने सचेतना आम नागरिकमा अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालप्रतिको सकारात्मक दृष्टिकोण बनाई राख्नसकेमात्र नेपालको दिगो पर्यटन विकास सम्भव छ । यसका लागि ग्रामीण क्षेत्रका ऊर्जास्रोतको संरक्षण र पर्या–पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिनसके देशको पर्यटन विकासले फड्को मार्न सक्ने निश्चित छ ।











