काठमाडौं । राजदूत जयन्तप्रसाद निजी गाडी चढेर राष्ट्रपति, उपराष्ट्रपति, प्रम बाबुराम, अध्यक्ष प्रचण्ड, कांग्रेस र एमालेका नेताद्वय सुशील र झलनाथ खनालका घर घरमा कुदिरहेका छन् । उनलाई कांग्रेसका नेता अमरेश कुमार सिंहले साथ दिइरहेको देखिन्छ । एक्कासी जयन्तप्रसादको यो रेसले राजनीति रेस्लिङको स्वरुप धारण गर्दैछ । आखिर किन भारतीय राजदूत सत्ता परिवर्तनको यो खेलमा निर्णायक भूमिका खेल्दैछन् ? हाम्रा देशभक्त ‘राजनेताहरू’ र ‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री’ एउटा राजदूतलाई हदैसम्मको महत्व दिइरहेका छन् ।
जयन्तप्रसाद हेर्दा नरम स्वभावका र कम बोल्ने प्रकृतिका भारतीय राजदूतका रुपमा छन् । यद्यपि केही दिन अघि कास्की पुगेर उनले १२ बुँदे सहमति गराउन र नेपालमा गणतन्त्र स्थापना गर्न भारतले खुलेर सहयोग गरेको थियो भन्न हिचकिचाएनन् । उनले त्यतिभन्दा पनि जनआन्दोलनको बलमा राजतन्त्र फाल्नेसम्मको परिवर्तन गराउन सफल भएको धक्कु लगाउने नेताहरूले पटक्कै प्रतिक्रिया जनाएनन् । हुन त, भारतकै संरक्षण र प्रायोजनमा माओवादीले जनयुद्ध र आठै राजनीतिक दलहरू मिलेर जनआन्दोलन गरेको कुरामा शंका छैन । यदि जनताकै बलमा र जनताले नै परिवर्तन गरेका भए परिवर्तनका असली हकदार र परिवर्तनका हक जनता हुनेथिए । आज जयन्तप्रसाद निजी गाडी चढेर नेपालको राजनीतिक मैदानमा गोल हान्ने फरवार्ड बनेका छन्, यसबाट बुझ्नेका लागि भारी, नबुझ्नेलाई हनुमन्ते पारी भइरहेको छ ।
३ दिन अघि १६ देशका राजदूत धुलिखेलमा जम्मा भएर ‘सहमति’ गर्न नेताहरूलाई सुझाव दिए । यिनै १६ मध्येका भारत, अमेरिका र स्केण्डेनेभियन देशका राजदूतहरू राजधानी फर्कन नपाउँदै जनजाति र माओवादी नेताहरूसँग गुप्तगु गर्न हतारिएको देखियो । राजदूतहरूले चलाउने नेपालको राजनीति नेपालको पक्षमा कसरी हुनसक्छ ? त्यसैगरी भारतीय राजदूत ‘भायसराय’ बनेर दिएको निर्देशनमा मञ्चन हुने सहमतिको नाटक कसरी नेपाल र नेपालीको हितमा होला र ? जेहोस्, जयन्तप्रसादको रेस र रेस्लिङको गति सुनामीभन्दा तीब्र छ । हेर्नुछ, त्यो तीब्र सुनामीले राजनीतिक नेताहरूको छवि र तिनको ल्याकतमा कतिसम्मको बिध्वंश देखाउने हो ? हुन त, नेताहरूको नालायकीको नतिजा भोग्ने हामी सोझा जनताले नै हो ।













