काठमाण्डौ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले संबिधानका बिबादित बिषयमा सहमति नजुटाई नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन नसकिने बताउनुभएको छ । सहमतीय सरकारको नेतृत्वमा नेपाली कांग्रेसलाई सर्मथन गर्न आग्रह गर्न प्रचण्ड निवास लाजिम्पाट पुगेका कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग प्रचण्डले पार्टीको अडान सुनाउनुभएको हो ।
माओवादीको हालै बसेको ब्युरो इन्चार्जसहितको पदाधिकारी वैठकले यथास्थितीमा कांग्रेस वा एमालेको नेतृत्व स्वीकार्न नसकिने निर्णय गरेको थियो । पौडेलसँगको कुराकानीमा प्रचण्डले संबिधानका बिबादित बिषय टुंगाएमा कांग्रेसको नेतृत्व स्वीकार्न सकिने तर सरकार नेतृत्व पनि नहुने र संबिधानको टुंगो नलाग्ने अबस्था आफ्नो पार्टीलाई स्वीकार्य नभएको जानकारी गराउनुभएको लाजिम्पाट श्रोतले जानकारी दियो । छलफलमा ठोस सहमति नभए पनि गतिरोध अन्त्यका लागि निरन्तर छलफल गर्ने विषयमा भने दुबै नेता सहमत भएका छन् ।
छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै पौडेलले एकीकृत माओवादीकै नेतृत्वमा पुन: सहमतिको सरकार गठन हुने सम्भावना नरहेकाले चुनावी सरकार निर्माणमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको जानकारी दिनुभयो । यसैवीच उपसभापति पौडेलले हिजो राष्ट्रपति डा. रामबरण यादवलाई भेटेर सहमतीय सरकार गठनका लागि सात दिनको समयसीमा थप गर्न आग्रह गर्नु भएको छ । शीतल निवासमा भएको भेटमा नेता पौडेलले दलहरुवीच सहमति कायम हुन अझै केही दिन लाग्ने भएकाले समयसीमा थप गर्न आग्रह गर्नु भएको हो ।













