स्वार्थ राजनीति हो भने नेपालमा राजनीति खुब फस्टाएको छ । सेवा राजनीति हो भने नेपालमा राजनीति छैन, तिल्के मारवाडीले मुनाफा कमाउन गर्न हुने नहुने जे पनि गरेजस्तो व्यापारमात्र छ । प्रष्ट छ, नेताहरु व्यापारी भएका छन् र जनताको शोषण र दोहन गरिरहेका छन् ।
दलालको अभिष्ट बोकेर देशभक्तको आवरणमा नेताहरु स्थापित भए भने राष्ट्रले धेरै दु:ख झेल्नुपर्छ । अब जनताले सोध्नेबेल भयो– नेताहरुले के दिए राष्ट्रलाई ? सुन आगोमा खारिएपछिमात्र गहना बन्छ । जनयुद्धबाट प्रचण्ड, जनआन्दोलन र तराई आन्दोलनबाट सुशील, झलनाथ र मधेसी मोर्चाका नेताहरू नेपाली गणका गणपति बनेका हुन र उनीहरू गणतन्त्र हाँकिरहेका छन् । नेपाली गण र नेपालको गणतन्त्रको लगाम यिनै नेताहरूको हातमा छ तर यिनको कमान विदेशीको मुठ्ठीमा बन्दकी परेको छ, जसका कारण यिनीहरू आत्मनिर्णय गर्नै सक्दैनन् । आत्मनिर्णयको अभावमा संविधानसभा बिघटन भयो, सहमतिका प्रयासहरू सफल हुन सकेनन् । सर्पले सर्पको खुट्टा देख्छ भनेझैं नेताहरू एक दोस्राप्रति ‘कठपुतली, विदेशीप्रभूका दास, विदेशीका एजेन्ट’जस्ता आरोप लगाइरहेका छन् र आफूचाहिं कठमुल्ला चरित्र देखाइरहेछन्, यसैमा रमाइरहेका छन् । कठमुल्ला कहिल्यै लोकतन्त्र हुनसक्छ र ?
के भयो खोई परिवर्तन ? २०६३ साल वैशाख ११ गतेका दिनदेखि २०६९ साल मंसिर २१ गतेका दिनसम्म पनि सिंहदरवार, सत्ता, संसद, शितलनिवाससम्मको काखमा लुटपुटिएर पुलपुलिएका शीर्ष राजनीतिक दलहरूले नयाँ नेपालको नाममा माखोसम्म मारेनन् । शान्ति, संविधान, संघीयता, गणतन्त्रबारे बिबादको रण्डखाल बेथिति मच्चाउनेहरू बेइमानीका उदाहरण बनेका छन् । यिनलाई लोकभन्दा अपराधी मनपर्छ, यिनलाई राम्रोभन्दा हाम्रो मनपर्छ । स्वार्थको चस्मा लगाएर स्वच्छ देखिन्न । नेताका दिमागमा किरा सलबलाएकाले राजनीतिको स्वास्थ्य बिग्रदै गएको छ । आशा र अपेक्षाहरू सीसा फुटेझैं चकनाचूर भएको देखेर दिक्क भएका जागरुक जनता भन्न थालेका छन्– बनारसका नाङ्गा तवाइफ र नेपालका नागा नेताहरू उस्तै उस्तै हुनपुगे । यिनको प्रयास र प्रतिवद्धताहरूका न रूप छन्, न रङ् । यिनमा न इमान छ, न धर्म । राजनीति नीति, नैतिकता, निष्ठा र सिद्धान्तहीन गैरजिम्मेवार बाइफाले हुँदै गएको छ ।
मुख लुकाएर हिड्नुपर्ने नेताहरु आफ्ना अकर्मण्यतालाई शक्ति सम्झने भूल गर्दै नेताहरू हुटिट्याउँले सगर थामेझैं चर्का भाषण गर्न लजाउँदैनन् । सुल्टो बोल्छन् र उज्याला अनुहार देखाउँछन्, उल्टो गर्छन् र वातावरण अँध्यारो बनाउँछन् । यिनका चर्तिकला देखेर सोझा जनता, कतिपय पत्याउँछन् र चूप लाग्छन् । कतिपय पत्याउँदैनन् र मौन बस्छन् । नेताहरू हरेक दिन छेपारोले रङ् फेरे झैं कुरा फेर्छन् । अलाउद्दीनको चिराग समातेझैं के के न गर्छु भनेर आफै उफ्रिन्छन् र नतिजा शून्य भएर आफै थचारिन्छन् । लखनौंको भुलभुलैयाभित्र रनभुल्ल परेझैं आम नागरिक ट्वालट्वाल्ती हेरिरहन्छन्, ट्वाल्ल पर्छन् र ‘गंगादास र जमुनादास’हरूको चटकका मूकदर्शक बनिरहेका छन् । चटकेको सस्तो ओखती जस्तै बिकिरहेको छ, नेताहरूको सस्तो राजनीति । नेतामा दृष्टि देखिन्न, राजनीतिमा सृष्टि देखिन्न, जनतामा लामो स्मृति देखिन्न । मानौं ०३६ सालमा ब्यूँझिएर १० वर्षे मस्त निन्द्रामा सुतेका जनता, ०४६ पछि ०६२–६३ को जनआन्दोलनमा ब्यूँझिएका थिए । जनता फेरि कुम्भकर्णे निन्द्रामा सुतिसके र तिनीहरू फेरि कहिले ब्यूँझन्छन् भन्न सकिन्न । कूशासन, भ्रष्टाचार, आपराधिकरण, द्वन्द्वको ‘ऐठन’ जनता सुतेरै सहिरहेका छन् । जनता कहिले उठ्लान् र सत्तास्वार्थमा बरालिएका नेताहरूलाई दण्डित गरेर सही बाटोमा आउन बाध्य पार्लान् ? किनभने जतिसुकै खराब भए पनि जनताले यिनै राजनीतिक दलहरूभित्रबाट आफ्ना प्रतिनिधि चुन्नैपर्छ र खोरिया फाँडेर लोकतन्त्रको लोक राजमार्ग बनाउनैपर्छ ।
एउटा नेताको देशभक्तिले लाशैलाश र रक्तरञ्जित श्रीलंका शान्तिबाटिकाको निर्माणमा लाग्यो । तमिल टाइगरको बम पड्किदैन, बमको धुवाँ, धूलो, प्रदूषण छैन श्रीलंकामा आजकल । महेन्द्रा राजापाक्षेले श्रीलंकाको कायापलट गरिदिए । राजनीतिक नेतृत्व गर्ने पात्र गलत पर्यो, विदेशपरस्त भयो भने देश मर्छ भन्ने इतिहास सिक्किमलाई पढे थाहा हुन्छ । १९७५ को अप्रिल २६ को दिनको उज्यालोमा सिक्किम राष्ट्र सुनाखरी अंकित झण्डामा फरफराइरहेको थियो । जब नेताहरूले इन्दिरा गान्धीको फौजलाई आमन्त्रण गरे, सुनाखरी फूल मुर्झायो– सिक्किममा कमलको फूल फुल्यो, सिक्किमको शीरमा तिरङ्गा लहरायो । हरेक कुरा विदेशीको नक्कल गर्न खप्पीस हाम्रा शीर्ष नेताहरूलाई यी सब घटनाक्रम थाहा छ, तर भाषणमा देशभक्ति देखाउने नेताहरू ब्यवहारमा गम्भीर छैनन् । अहंकारीतन्त्र, दुर्योधनतन्त्र, आन्दोलनतन्त्र, झूठतन्त्र, मंगलसेनतन्त्र गणतन्त्र अथवा लोकतन्त्र हुनसक्दैन । २६ सय वर्ष अघि गण सार्वभौम रहेको सुद्धोधनको गणतन्त्र कस्तो थियो ? गणको सार्वभौम हड्पेको अहिलेको सिंहदरवारको गणतन्त्र कस्तो छ ? नेपाल गणराज्य हो भने शीर्ष नेताहरू कति गणमतका गणधिपति हुन् ? संविधानसभा बिघटन भएपछि गणपति र गणवीच के सम्बन्ध छ ? नेताहरूको गणमत धरातल के हो ? गणमत मिचेर र अन्य शक्तिलाई निषेध गरेर शीर्षदलको सहमति कसरी राष्ट्रिय सहमति अथवा गणतन्त्र हुन्छ ? तथापि जनआन्दोलनको जय, परिवर्तनको जय तर नेताहरू चण्डाल कि चंगेज खाँ हुन् ? नेताहरूले बुझ्नुपर्छ नक्कली दाँत हालेर सक्कली हाँसो हाँस्न सकिन्न ।
२००३ सालमा भारतको भवानीपुरको भेलाबाट जन्मेको नेपाली कांग्रेसलाई वीपीले समाजवादी सिद्धान्त लटरम्म फलेको ‘रुख’ बनाए । वीपी– ‘देश भूगोल होइन, माटो हो । जनअधिकार हनन गर्नु देशको अधिकार हनन गर्नु हो । जब द्विविधा हुन्छ, माटो हातमा लिनु, मनले जे भन्छ त्यही गर्नु । राजतन्त्र र प्रजातन्त्रको घाँटी जोडिएको छ’ भन्थे । ०४६ सालको परिवर्तन, ०४७ सालको संविधान निर्माण र त्यसपछिको निर्वाचनमा कांग्रेस कति माथि थियो र आज कति तल झरेको छ ? किनकि वीपी छैनन्, वीपीका अनुयायी देखिदैनन्, कांग्रेस छ– कांग्रेसभित्र वीपीवाद पनि छैन । आजको कांग्रेस कंग्रगेशनमा विश्वास राख्दैन र पार्टीको अवधारणा, मार्गचित्र चित्ताकर्षक रूपमा प्रस्तुत गरेर जनतालाई आकर्षित गर्दैन र भन्छ– सरकार चलाउने अब हाम्रो पालो । चुनाव हाम्रो नेतृत्वको सरकारले गराउँछ । यो आजको कांग्रेसको भाषा सैद्धान्तिक, घोषणापत्रअनुरूप हो कि भवानीपुरको भीड बोलेको ? लोकतन्त्र पोखरा र भैरहवाका बस व्यवसायीले चलाएको जस्तो सिण्डिकेट हुनसक्छ ?
प्रतिपक्षमा बसेर एमालेले निर्णय नै गर्यो– बाबुराम त हुँदैहुन्न । एमाले नेतृत्व दावी गर्दैन र कांग्रेसको दावीमा समर्थन गर्छ । एकजना टिप्पणीकार भन्दै थिए– एमाले भनेको ‘आलु पार्टी’ हो । आलु जुनसुकै चिजमा मिसाएर तरकारी पकाउन सकिन्छ । हिजो माधवकुमार नेपाल र झलनाथ खनाल प्रचण्डको बुई चढेर प्रधानमन्त्री बन्न सफल भए । आज कांग्रेससँग मिलेर माओवादीसँग पहलमानी खेल्दैछन् । एमाले बम्बैका लड्डुजस्तो छ, ‘जो खाया पछताया, जो नही खाया वह भी पछताया’ । एमालेको एउटै पक्ष सबल छ, त्यो हो उसले आफूलाई माक्र्सवादी लेनिनवादी कम्युनिष्ट भने पनि प्रजातान्त्रिक अभ्यासमा खरो उत्रिएको छ ।
१० वर्षे जनयुद्धकारी शक्ति थियो माओवादी । दिल्लीको १२ बुँदेको उलिनकाठ चढेर काठमाडौंको सत्तामा उक्लेको माओवादी जनआन्दोलनको निर्णायकदेखि आजसम्म राजनीतिको केन्द्रविन्दू बनेको छ । गिरिजाप्रसादको मृत्युपछि प्रचण्ड आफूलाई ‘राजनीतिको बादशाह’ का रूपमा प्रस्तुत गरिरहेका छन् । प्रचण्ड यस्ता महारथी हुन् जसले विदेशीको साखुल्ले बनेर ‘भारतवादी बाबुराम’लाई सत्तामा पुर्याएर सुप्रिम प्राइमिनिष्टर चलाइरहेका छन् । संविधान बन्लारे भनेर एकल जातीय संघीयताको पटाखा पड्काएर झण्डै जातीय रक्तपात मच्चाइदिएनन् यिनले । यिनकै निर्देशनमा निर्वाचन घोषणा गराएर संविधानसभाको सत्गत् गरिदिएपछि मैले त पहिचानसहितको बहुजातीय संघीयताको बिकल्प छैन भनेको भन्न पुगे । देर आए दुरुस्त आए । मंसिर ७ को चुनाव नहुने निश्चित भएपछि वैशाखमा चुनाव गराउने ‘सहमति’ खोज्न आजकल यिनलाई निकै चटारो परेको छ । राष्ट्रपतिले फर्मान जारी गरेको तेस्रो पटकको म्याद आजै सकिदैछ । ‘ठूला परिवर्तन हिंसाबाट हुन्छ’ भन्ने मान्यता रँख्ने प्रचण्ड आफूले भनेजस्तो संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र संविधानका शर्तमा कांग्रेस, एमालेलाई मान्न बाध्य पारेर आजै सहमति निकाल्ने उनको दाउ छ । संघमा स्थानीयले, केन्द्रमा साझा सरकार हुनुपर्छ भन्नेसहितका मधेसी मोर्चाका मागलाई प्रचण्डले ‘प्याकेजभित्रै’ घुसाएका छन् । हेरौं, साह्रै लचकनीति अपनाएको दावी गर्ने प्रचण्डले ‘खुलजा सिम सिम’ भनेर आजै सहमतिको ढोका खोलिहाल्छन् कि ?
सहमतीय वार्ताहरूमा अमेरिका, चीन, भारत, बेलायतका राजदूतहरू खुलेर नेपाली राजनीतिमा कूटनीतिक रसायन घोलिरहेका छन् । देशका हनुमानहरू बिस्मार्क बन्लान् भनेको त उल्का भयो, ६ वर्षदेखि बिभिषणका झल्का देखाइरहेका छन् । अर्थात्, रुद्राक्षजस्तो पवित्र लोकतन्त्र कंटकारी साबित भइरहेको छ । कल्पवृक्षजस्तो मानिएको लोकतन्त्रको जगमा विषवृक्ष उम्रिरहेको छ । लोकतन्त्रमा न लोक खुशी छ, न राष्ट्रको स्वाधीनता सुरक्षित । लोकतन्त्रका अनिवार्य संस्था पार्टीहरू पसल बने, ‘पार्टी पसलहरू’ सत्ता बजारमा गुलजार छन् । लिडरजति डिलर बनेका छन् । टाक्सिएका छन्, खिइँदै गएका छन् त जनता र राष्ट्र । हाम्रो लोकतन्त्रभित्र अब्राहम लिंकनका परिभाषाहरू अटाएनन् ।
जोन अफ केनेडी भन्थे– ‘नसोध राष्ट्रले तिमीलाई के दियो ? सोच तिमी राष्ट्रलाई के दिनसक्छौ ? यसरी सोच्ने नेता एकजना पनि देखिएनन् । सबै स्वार्थका लम्पट भएका छन् र स्वार्थ सिद्ध गरिरहेका छन् ।
चबवबलज्ञढछटपबचपष्२थबजयय।अयm












