काठमाण्डौ । एमाओवादी अध्यक्ष प्रचण्डले पहिचानसहितको संघीयता लगायत पार्टी र गठवन्धनका सवै सर्त मान्न कांग्रेस–एमाले तयार भएको दावी गर्नुभएको छ ।
हिजो बालुवाटारमा बसेको सत्ताधारी संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको वैठकमा अध्यक्ष प्रचण्डले सरकार बाहेक सवै बिषयमा कांग्रेस एमालेसँग सहमति भइसकेको जानकारी गराउनुभएको हो ।
वैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले बैशाख अन्तिम सातामा निर्वाचन गर्ने, २ सय ४० प्रत्यक्ष, २ सय ४० समानुपातिक १० जना मनोनित सहितको संविधानसभा बनाउने, पहिचान र सामथ्र्यका आधारमा संघीयतामा जाने लगायतका बिषयमा कांग्रस एमालेसँग सहमति भएको बताउनुभएको थियो ।
सरकारको बिषय मिल्न बाँकी रहेपनि कााग्रेस र एमालेको एउटा खेमा यही सरकारलाई केही दिनका लागि राष्ट्रिय सहमतिको स्वरुप दिन तयार रहेको उहाँको दावी थियो । ‘मैले कुनै लिखित सहमति गरिसकेको छैन, सवै बिषय मिलाएर चुनावमा जाने र काांग्रसलाई नेतृत्व दिने भन्ने समझदारी मात्र हो’– प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने–’गठवन्धनलाई बाइपास गरेर गोप्य सहमति गरेको हल्ला निराधार हो, मैले देश सहमति तिर गयो मात्र भनेको हुँ, सवै मिलिसक्यो भन्या हैन ।’ सहमतिको बिकल्प नभएकाले आफ्ना सर्त मनाएर सरकार छाड्नुपर्ने प्रचण्डको भनाई थियो । नयाँ शिराबाट अघि बढ्नुपर्ने भने पनि प्रचण्डले नयाँ शिरा के हो भन्ने प्रष्ट पार्नुभएन् ।
बाबुरामको आपत्ति
वैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफुलाई सहमतिको बाधक देखाउने गरि अध्यक्षले नै षडयन्त्र गरेको भन्दै आक्रोश पोख्नुभएको थियो । ‘सर्त पुरा नभएसम्म सरकार नछाड्ने, सकेसम्म गठवन्धन भित्रैबाट बिकल्प खोज्ने भन्ने हाम्रो निर्णय थियो, मैले त्यही निर्णय फलो गरिरहेको छु’ प्रधानमन्त्रीले भन्नुभयो–गठवन्धनको निर्णय बिपरित गोप्य सहमति गर्दै हिड्ने मलाई सहमतिको बाधक देखाउन खोज्ने ?’ प्रधानमन्त्रीको प्रश्न थियो– कााग्रेसलाई नेतृत्व दिने भन्ने हामीले कहिले निर्णय गरेका थियौं ? दिने हो भने पहिले गठवन्धनबाट निर्णय हुनुपर्यो, त्योअनुसार चल्न म तयार छु । ‘तपाईले के सम्झौता गर्नुभयो र मलाई बाधक भन्दै हिड्नुभएको छ ? भन्दै भट्टराईले कुनै गोप्य सहमति गरेको गठवन्धन दलसमक्ष खुलस्त पार्न आग्रह गर्नुभएको थियो ।
वैठकमा बोल्दै फोरम अध्यक्ष बिजयकुमार गच्छदारले कांग्रेसलाई कुनै पनि हालतमा प्रधानमन्त्री स्वीकार्न नसकिने बताउनुभयो । परिवर्तन स्वीकार्न नसक्ने कांग्रेसको नेतृत्व चुनाव पनि हुन नसक्ने र परिवर्तन पनि संस्थागत नहुने भन्दै गच्छदारले गठवन्धन भित्रैबाट बिकल्प खोज्न जोड दिनुभएको थियो । तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने अहिलेको आबश्यकता चुनाव र संघीयता भएकाले यी दुई सुनिश्चित हुने गरि सम्झौता गरेर अघि बढ्नुपर्ने बताउनुभएको थियो । चार जना नेताले बोलेपछि वैठक स्थगित भएको छ ।
प्रचण्डलाई सहकर्मीको कटाक्ष
गठवन्धनका अध्यक्षसमेत रहेका प्रचण्डलाई वैठकमा अन्य दलका नेताहरुले कटाक्ष गरेका थिए । प्रचण्डको कोटमा भुवा देखिएपछि नेताहरुले ‘के टाँसिएछ कमरेडको कोटमा ?’ भन्दै सोधेका थिए । केही नेताले बिचमै टिप्पणी गरे– ‘जाडोमा सुन्तलाको भुवा होला । त्यस्तो केही हैन, हिड्ने बेलामा बच्चा (सायद नाती) खेलाएको थिएँ, खै के टाँसिएछ ।’
साना दलका एक नेताले कटाक्ष गरे– खेलाउन त कमरेड माहिर हुनुहुन्छ नी ।’ प्रचण्डको जवाफ थियो– ‘केटाकेटी खेलाउन त रमाइलै हुन्छ, ठूलालाई खेलाउन गाह्रो हुँदोरहेछ ।’













