काठमाडौं– वर्तमान राजनीतिक जटिलताको अन्त्यका लागि विभिन्न प्रस्तावका बारेमा छलफल भए पनि दलहरू निष्कर्षमा पुग्न नसकिरहेको बेला सहमतीय सरकारको नेतृत्वको बारेमा नयाँ तथ्य बाहिर आएको छ । एकीकृत नेकपा माओवादीको हेटौंडामा चलिरहेको सातौँ महाधिवेशनपछि सहमतिको नयाँ फर्मुला लिएर आउने अध्यक्ष प्रचण्डले बताइरहेको बेला नयाँ तथ्य बाहिर आएको छ ।
सहमतीय सरकारको नेतृत्व बारे चार प्रस्ताव बाहिर आएको हो, जस अनुसार ठूला दलहरूबाट सहमति बने डा. बाबुराम भट्टराई, स्वतन्त्र व्यक्तिबाट भएमा प्रधानन्याधीश खिलराज रेग्मी, मधेसी मोर्चाबाट भएमा महन्त ठाकुर र साना दलबाट भएमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालमध्येबाट अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताइन्छ । माओवादी श्रोतका अनुसार प्रचण्डले महाधिवेशनपछि मुलुकको जटिल परिस्थितिको निकासका लागि सर्वदलीय बैठक आह्वान गरी यो प्रस्ताव राख्ने तयारी गरेका छन् । आन्दोलनरत विपक्षी दलहरूले यी चारमध्ये जसलाई समर्थन गर्छन् उनै सहमतीय प्रधानमन्त्री बन्न सक्ने स्रोतको दाबी छ ।
विपक्षी दललाई जति विकल्प दिँदा पनि सहमति हुन नसकेपछि माओवादी अध्यक्ष प्रचण्डले अन्तिम विकल्पको रुपमा चार नेताको नाम अघि सारेका हुन् । जसमा बाबुराम भट्टराईको नेतृत्वमा सहमति बन्ने कुनै सम्भावना नभएको विपक्षी दलले बताएका छन् भने स्वतन्त्र व्यक्तिबाट प्रधानमन्त्री बनाउँदा सबै दलको सहमति बन्न नसक्ने बताइएको छ ।
सहमतीय सरकार निर्माण गरी आगामि निर्वाचन गर्नुपर्ने दलहरूको बाध्यता रहेको छ । तर आफ्नो पक्षको प्रधानमन्त्री भएन भने चुनाव हारिन्छ भन्ने दलहरूको मानसिकताका कारण दलहरूबीच नेतृत्वमा हानथाप भएको स्रोतको दाबी छ । मधेसी मोर्चाका तर्फबाट महन्त ठाकुरको नाममा सहमति बन्ने सम्भावना पनि न्यून छ किनकि मोर्चाबाटै विजय गच्छदार आफैं प्रधानमन्त्री बन्ने ध्यानमा लागेका छन् । उता माघ १७ गते संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आयोजना गरेको जनजागरणसभामा बोलेपछि नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल सत्तापक्ष र प्रतिपक्षबीच लोकप्रिय बन्दै गएका छन् । उनले सबै दलले राष्ट्र र जनता पहिले भन्ने भावनाका साथ दलहरू अगाडि बढ्ने हो भने मुलुकले चाँडै निकास पाउने बताउँदै भने ‘हामी जुत्ता नभएर रुन्छौँ, तर खुट्टा नभएका नेपालीहरुको बारेमा सोचौँ हामी हारेर भए पनि देशलाई जिताऔँ ।’ उनले सभामा विपक्षी दलहरूलाई पनि सहमतिमा ल्याउन सत्ता पक्षले त्याग गर्नुपर्ने बताएका थिए ।
यसरी ठूला दलको नेतृत्वमा सहमतिय सरकार बन्न नसक्ने अवस्थामा साना दलका तर्फबाट प्रस्तावित अध्यक्ष ढकालको नेतृत्वमा सहमतीय सरकार बन्ने सम्भावना बलियो छ । किनकि उनले नेतृत्व गरेको पार्टी सानो भएकोले निर्वाचनमा धाँधली होला भन्ने कुनै दलले पनि नसोच्ने भएकाले साना दलको नेतृत्वलाई सबैले स्वीकार्ने एक राजनीतक विश्लेषकले बताए ।
उनका अनुसार ठूला दलको नेतृत्व जनताले हेरिसकेकाले अब जनता पनि साना दलको नेतृत्व मै सहमति बनोस् भन्ने पक्षमा रहेका छन् । साना दलको तर्फबाट सहमतीय सरकारको नेतृत्वमा तपाईको नाम आएको छ नि भनि मन्त्री ढकालसँग जिज्ञासा राख्दा प्रचण्डले साना दलबाट पनि प्रधानमन्त्री बनाउन सकिने बताएपनि आफ्नो नाम सार्वजनिक भने नगरेको बताए । तर उनले अबको नेतृत्व साना दललाई दिए सहमति बन्न सक्ने चाहिं बताए । स्मरण रहोस: यसअघि पनि दलहरू बीच सहमति नबन्दा सानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेको इतिहास छ ।













