रायपुर (भारत) । भारतको छत्तीसगढ राज्यको बिजापुर जिल्लाको बन क्षेत्रमा माओवादी विद्रोहीहरूले सुरक्षा गस्तीमा रहेका प्रहरीमाथि अकस्मात आक्रमण गरी चार प्रहरी मारेको जानकारी प्रहरीले दिएको छ । माओवादी भारतमा भूमि, नोकरी तथा शक्तिका लागि सङ्घर्षमा रहेका छन् । विद्रोहीहरूले गस्तीमाथि एक सानो बम प्रहार गरी पछि गोली प्रहार गरेको बताइएको छ । छत्तीसगढ माओवादीको बलियो पकड रहेको क्षेत्रको रुपमा रहेको छ ।
यस आक्रमणमा मारिएका केन्द्रीय रिजर्ब प्रहरी बलका सुरक्षाकर्मीको हतियार माओवादीले लगेको बताइएको छ । प्रहरी अधिकारी सुखनन्दन राठोरले कम्तीमा चार प्रहरीको मृत्यु भएको तथा अन्य तीन घाइते भएको बताए । उनले माओवादीको पनि मृत्यु भएको विषयमा जानकारी दिनसकेनन् । एनडीटीभीले चार आक्रमणकारीको पनि मृत्यु भएको विश्वास व्यक्त गरेको छ ।













