काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफूलाई राजनीतिक धर्म पुत्र ठान्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले मन्त्री मण्डल पुर्नगठन वा सरकारको नेतृत्व परिवर्तन हुनु भन्दा अगावै स्वास्थ्य मन्त्रालयका सहसचिव, महाशाखा प्रमुख, क्षेत्रीय निर्देशक, केन्द्रीय निकाय प्रमुख, जिल्ला जनस्वास्थ्य प्रमुखको सरुवा गरि करोडौं रकम उठाउने तानावाना बुन्न थालेका छन् । मन्त्री अधिकारीले यस्ता सरुवामा लाखौं लाखको दररेट तोकि आफू निकट वियौलिया दलाल मन्त्रालय, स्वास्थ्य सेवा विभाग, महाशाखा भरि नै छाडेका छन् ।
जेनेभा भ्रमण गरि भर्खरै फर्किएका मन्त्री अधिकारीले स्वास्थ्य सेवा ऐन र नियमावली विपरित समूह नै नमिल्ने गरि सरुवा गरि करोडौं असूल्ने तानावाना बुनेका छन् । मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य, परिवार स्वास्थ्य, तालिम केन्द्र, राष्ट्रिय एडस तथा यौनरोग नियन्त्रण केन्द्र पब्लिक हेल्थ समूहका प्रमुखमा नियुक्ती गर्नु पर्ने कानुनी व्यवस्था छ । तर मन्त्री अधिकारी र सचिव शान्तबहादुर श्रेष्ठले यस अघि सरुवा गरेका महाशाखा प्रमुख, तालिम केन्द्र र केन्द्र प्रमुख अरु नै समूहका छन् । बाल स्वास्थ्य महाशाखा प्रमुख पेडियाट्रिक समूहका डा. कृष्ण पौडेल, परिवार स्वास्थ्य महाशाखामा गाइनो समुहकी डा. पुष्पा चौधरी, राष्ट्रिय एडस तथा यौनरोग केन्द्रको निर्देशकमा अस्पताल समूहका डा. दीपेन्द्ररमण सिंह, स्वास्थ्य तालिम केन्द्रमा जनस्वास्थ्यका १०औं तहका अच्युत लामिछाने प्रमुख छन् ।
यता मन्त्री अधिकारी र सचिव श्रेष्ठले १२औं तहका सिनियर सहसचिव डा. पदमबहादुर चन्दलाई कुनै जिम्मेवारी नदिई उनीभन्दा कनिष्ठ डा. महेन्द्र श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखा प्रमुख बनाएका छन् । विभिन्न निजी अस्पताल र स्वास्थ्य सम्बन्धी गैरसरकारी संघ–संस्थाहरुलाई अनुदान दिन छुट्याइएको ६८ करोड बजेट जथाभावी वितरण गरेर ३० प्रतिशत कमिशन उठाउन योजना महाशाखामा डा. श्रेष्ठलाई ल्याइएको छ । श्रेष्ठ ११औं तहका हुन ।
११औं तहमा उनी भन्दा सिनियर धेरै छन् । १२औं तहमा उनीभन्दा सिनियर धेरै छन् । १२औं तहका डा. चन्दलाई भने अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन । चन्दसँगै बढुवा भएका डा. सेनेन्द्र उप्रेतीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइएको छ । काभ्रेका यिनी एमाले सम्बद्ध हुन् ।
मन्त्रालयमा अनुगमन, चिकित्सा महाशाखामा पद रिक्त भएपनि कसैलाई जिम्मेवारी दिइएको छैन । मन्त्रालयको अनुगमन महाशाखामा यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक भैसकेका डा. जि.डी ठाकुरले काम गर्दै आएपनि उनलाई मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक हेटौडामा, इपिडिमियोलोजीका निर्देक डा. बाबुराम मरासिनीलाई पश्चिमाञ्चल क्षेत्रीय निर्देशकमा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्रप्रसाद पन्तलाई राष्ट्रिय एडस तथा यौन रोग केन्द्रको निर्देशकमा, मध्यमाञ्चल क्षेत्रीय निर्देशक रमेशविक्रम सिंहलाई मध्यपश्चिममाञ्चलको क्षेत्रीय निर्देशकमा, मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख डा. गुणराज लोहनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको निर्देशकमा सरुवा गर्न लागिएको छ ।
मन्त्री अधिकारीले यो सरुवाको निर्णय सचिव स्तरमा टिप्पणी सदर गराई सकेका छन् । एक–दुई दिन भित्रै मन्त्री स्तरीय निर्णय गरि क्याविनेटमा पठाउने तयारी गरिरहेका छन् । मन्त्रालयका महाशाखा, क्षेत्रीय निर्देशक, तालिम केन्द्र, केन्द्र, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला जनस्वास्थ्य प्रमुख गरि करिव एक सय जना कर्मचारीको सरुवा गर्ने तयारीलाई अन्तिम रुप दिएको बुझिएको छ । यो सरुवाबाट मन्त्री र सचिवले २–२ करोड भागवण्डा गर्ने गरि ग्राण्ड डिजायन बनाएका छन् ।
६८ करोडको रकमबाट छुटै ५–५ करोड असुल्ने मन्त्री अधिकारी र सचिव श्रेष्ठको तयारी रहेको मन्त्रालय स्रोतको दावी छ । अहिले लेखाका कर्मचारी समेत जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्यका क्षेत्रीय कार्यालय, महाशाखा, केन्द्र, तालिम केन्द्र र केन्द्रीय आयोजनाहरुमा सरुवा हुन ४–५ लाख घुस रकम अग्रिम दिएर सरुवा हुन खोज्छन् । त्यसलाई विश्लेषण गर्दा भन्सार कर कार्यालय अहिले स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरु हुन थालेको देखिन्छ ।













