काठमाडौं, महाभूकम्पबाट क्षति पुगेका पर्यटन क्षेत्रलाई पुनः स्थापनाका लागि स्वदेशी श्रमशक्ति र प्रविधिको प्रयोग गरी आफ्नै पाखुराले आउँदो सिजन भित्रै पुनःनिर्माण सक्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले बताएको छ । मिडिया इन्टरनेशनलमा आयोजित एक अन्तक्र्रियामा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मन्त्री शेर्पाले हाल पनि ९० प्रतिशत होटेलहरु सुरक्षित रहेको र केहीं महिनामा पर्यटन क्षेत्रलाई पुनः स्थापना गर्न सकिने सम्भावना रहेकाले सरकारले प्रशासनिक झंझट मुक्त गरी लोकतन्त्रको अनुभूति हुने गरी कार्य गरिरहेको बताउनुभयो ।
मन्त्री शेर्पाले क्षतिको पूर्ण रुपमा ब्यवस्थापन गर्न २ देखि ५ वर्ष लाग्ने भएतापनि पर्यटक भित्रयाउने कार्य आउँदो सिजनमै गर्न सकिने धारणा पनि राख्नुभयो । त्यसका लागि लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि नेपाल सुरक्षित छ भन्ने सन्देश लिएर जान गइरहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको आर्थिक विकासका मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन र जलश्रोत मध्ये जलश्रोत र पर्यटन क्षेत्रमा भूकम्पले केहीं क्षति पु¥याएको भएपनि देशलाई अन्तर्राष्ट्रिय जगतको प्रयोगशाला बनाइनु हुन्न, मगन्तेबाट बाहिर निस्केर आफै आफ्नो देश बनाउनेतिर लाग्नुपर्छ भन्नुभयो । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सगरमाथामा १७ पर्यटक मृत अवस्थामा भेटेको र ७१ जनाको ४ घण्टाभित्रै उद्धार गरिएको बताउनुहुँदै धेरै क्षति हिमाली क्षेत्रमा भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल ट्रेकिङ एजेन्स एसोसियसन अफ नेपाल ‘टान’का अध्यक्ष रमेश धमलाले पर्यटन क्षेत्रमा पनि श्रमिकहरु झन् पीडित रहेकाले त्यसतर्फ सरकारले अति शुक्ष्म ढंगले ध्यान दिएर कार्ययोजना बताउनुपर्ने बताउनु भयो । होटेल संघ नेपाल ‘हान’का कोषाध्यक्ष तथा पर्यटन बोर्डका सदस्य घनेन्द्रबहादुर श्रेष्ठले ९५ प्रतिशत होटेलहरु अझ सुरक्षित रहेको प्रतिवेदन मन्त्री समक्ष दिनुहुँदै नेपाल सुरक्षित छ भन्ने सन्देश सबैतिर फैलाउनु आवश्यक रहेको बताउनु भयो ।













