वासिङ्टन । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई संयुक्त राज्य अमेरिकाले उच्च सम्मान प्रदान गर्ने भएको छ । आगामी सेप्टेम्बर महिनामा उहाँलाई अमेरिकी सरकारले सो सम्मान प्रदान गर्ने निर्णय गरेको जानकारी अमेरिकी विदेश मन्त्रालयले दिएको छ । नेत्री सुकी सो पुरस्कार लिनका लागि करिब दुई दशकपछि पहिलो पटक आगामी सेप्टेम्बर महिनामा अमेरिका जानुहुने पनि बताइएको छ । उहाँले आºनो जिवनको निकै लामो समयसम्म प्रजातन्त्र र मानवअधिकारको रक्षाका लागि पुर्याउनुभएको योगदानको कदरस्वरुप अमेरिकी काँग्रेसले सो सम्मान प्रदान गर्न लागेको हो । यसैवर्षको अप्रिल महिनामा म्यानमारको सरकारले गरेको राजनीतिक सुधार र त्यसपछिको आम निर्वाचनका क्रममा नेत्री सुकी पनि म्यानमारको संसद सदस्यमा विजयी हुनुभएको छ । उहाँ हाल म्यानमारको संसदमा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा रहनुभएको छ । उहाँ म्यानमारको संसदमा हालै प्रवेश गर्नुभएको हो । शान्ति र प्रजातन्त्रका पक्षमा लाग्नुभएका उहाँलाई अमेरिकी काँग्रेसले दिन लागेको सो सम्मानको नाम कङ्ग्रेसनल गोल्ड मेडल रहेको छ ।
सन् १९९० मा म्यानमारको संसदीय निर्वाचनमा उहाँको दल नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेपछि उहाँलाई म्यानमारको सैनिक सरकारले जेल हालेको थियो । त्यसपछि उहाँलाई करिब दुई दशकसम्म म्यानमारको सैनिक सरकारले जेल र नजरबन्दमा राखेको थियो । गत वर्षमात्र उहाँलाई जेलमुक्त गरिएको हो । जेलबाट मुक्त भएलगत्तै ६७ वर्षीया नेत्री सुकीलाई त्यहाँको सरकारले विदेश भ्रमणको अनुमति दिएको थियो । उहाँ गत मे महिनामा पहिलो भ्रमणका रुपमा छिमेकी मुलुक थाईल्याण्डको भ्रमण गर्नुभएको थियो । त्यसपछि उहाँ गत महिना युरोपको भ्रमणमा निस्किनुभयो । उहाँलाई युरोप भ्रमणका क्रममा पनि बेलायत र फ्रान्सले पनि उच्च सम्मान प्रदान गरेका थिए ।
गएको डिसेम्बर महिनामा म्यानमारको भ्रमणमा जानुभएको अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले प्रजातन्त्रवादी नेत्री सुकीलाई सो पुरस्कार लिन तथा अमेरिकाको भ्रमणका लागि निमन्त्रणा दिनुभएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता प्याट्रिक भेन्ट्रेकले आगामी सेप्टेम्बर महिनामा सुकीलाई अमेरिका भ्रमणको निमन्त्रणा दिइएको छ तर तिथि भने तोकिएको छैन भन्नुभयो ।













