राजनीतिलाई ब्यापार र बेश्यालयको पर्याय बनेपछि राजनीतिक हस्ती सेता हात्ती बन्नपुग्छन् । नेपालका राजनीतिज्ञ भनेका जनताका लागि सेता हात्तीभन्दा भिन्न रहेनन् । लोकतन्त्रका पन्ध्र हस्तीहरुमा देङ्देखि सु की सम्मको नाम लिइन्छ । जनयुद्ध र जन आन्दोलनका शक्तिहरु बनेका र २५० वर्षको लामो राजतन्त्रको जरा उखेल्ने लोकतान्त्रिक नेताहरु एकजना पनि सम्मानित ‘राजनेता’ बन्न सकेनन् । नेपाली लोकवादको बिडा उठाउने नेताहरु जातिवाद, बिखण्डनवाद, मधेसवाद पो बोक्नथाले । लोकतन्त्र संस्थागत गर्न नसकेर संविधानसभालाई हत्या गर्न लाज नमान्ने नेताहरु अझै पनि जनताका आूखामा भ्रम छरिरहेका छन् । लोकतन्त्रले बैकुण्ठ दिन्छ भन्नेहरु कंशले कज्याएको र दुर्योधनले दुरुपयोग गरेको कालखण्ड फर्काउन लागिपरेका छन् । यो ऐठनको समाप्ति कहिले कसरी सम्भव होला ? र, जनताले खास लोकतन्त्रको स्वाद चाख्न पाउलान् ?
पञ्चायतकालमा : कांग्रेसले बाटो बिरायो भने कम्युनिष्ट हुन्छ, कम्युनिष्ट बिग्य्रो भने पञ्च बन्छ भन्थे । २०५२ साल फागुन १ गतेदेखि २०६२ मंसिर ५ गतेसम्मको १० वर्ष ९ महिना ५ दिन लामो जनयुद्ध त समाप्त भयो, ११८ जातिको बसोबास गर्ने नेपालमा एकलजातीय संघीयताको जिरह गरेर जब जनयुद्धकारी शक्ति ‘बार्बाक कर्मालको जस्तो जेनोसाइड’मा साइड लागेर मार्कोस मार्काको राजनीति गरिरहेछ, यो देशमा ‘१२ वर्षमा खोला फर्कन्छ’ भन्ने उखान नदोहोरिए के हुन्छ ? नयाँ नेपालको सुख देखाउने अनि आफूमात्र सुकिलो हुनेहरु यतिखेर पस्तुन महारथी गलबुद्धिन हेक्मतियारले दरवारिया संस्कार बोकेर राजतन्त्रको समर्थनमा बहस थाल्छन् भने जहिर शाहलाई अफगानिस्तानमा, रेजा पहल्वीलाई इरानमा र सद्दाम हुसेनलाई इराकमा रहन दिएको भए के
हुन्थ्यो ? भनेर माथापच्ची गर्नुको कुनै अर्थ छैन । किनभने हातको गुमाएर पछुताउनेहरु संविधानसभा हाम्रो एजेन्डा हो भन्दाभन्दै आफैले काखमा राखेर हत्यामात्र गर्न पुगेनन्, ‘दरवारीलालको जस्तो प्रचार’समेत गर्न थालेका छन् । प्रम तथा माओवादी नेता बाबुराम र उनकी पत्नी तथा नेतृ हिसिला यमिले २०६४ साल जेठ १५ गते संविधानसभाबाट निस्कासित गरिएका राजाको बहिर्गमनको त्रासले सातो गएको असिन पसिन अनुहार देखाएर पसिना पुछ्न थालिसकेका छन् । लोकतन्त्रका लायकहरु यसरी नालायक बनेको आत्मस्वीकार गरेर र बन्दुक र बाहुबल यसरी कर्कलो गलेजस्तो गलेको पनि देख्न पाइयो । एमाओवादी राजनीति भनेको सुकुलगुण्डा राजनीति हो भनेर मान्ने कि नमान्ने ?
किनभने समस्या राजतन्त्र हुूदै होइन । समस्या संविधानमा छ, समस्या राजनीतिक सहमतिमा छ । संविधान र राजनीतिक समस्या केलाएर तिनको समाधान कसरी गर्ने र अन्योलग्रस्त मुलुकलाई निकास दिने भन्ने गम्भीर चिन्तन गर्ने समयमा राजनीतिक नेताहरु परिवर्तनका विष्णु अवतार त बने तर अवतारधारी राजनीतिक धर्म निर्वाह गर्न सकेनन् र ४ वर्षमै घाूडो जनादेशवालाहरु जनताको घिच्रोको घाँडो बन्नपुगे । जनता अन्तिम शक्ति हो, लोकतन्त्रका भगवान हुन् भन्ने बुझेर पनि नेताहरुले जनताको अपमान गरिरहे, त्यसको परिणाम आफैले फालेका राजतन्त्रको पुनस्र्थापना हुनसक्छ भनेर यिनै नेताहरु तर्सिन थालेका छन् । तर्सिएपछि त बुद्धि बंगारो पलाउनु पर्ने हो, राजनीतिक सहमति पहिल्याउन आतुरता देखाउनु पर्ने हो, अहँ नेताहरु अझै आरोप प्रत्यारोपमा लागिरहेकै छन् ।
नेताहरु संवैधानिक र राजनीतिक संकटको निकास खोज्न बहसमा जुटेका छैनन्, पूर्ण बजेट ल्याउन पाइन्न भनेर राष्ट्रपति निवास धाइरहेका छन् । आलंकारिक राष्ट्रपतिलाई ‘जेठ १९ ल्याउ’ भनेर कार्यकारी बनाउन उक्साइरहेका छन् । मानौं नेपाल एकीकरण गर्ने ठकुरी राजतन्त्र फालेका कांग्रेस, एमालेहरु मधेसी राजा बनाउन कस्सिएका छन् । साहित्यमा भूतका भिनाजु बासुदेव लुइटेल थिए, राजनीतिमा प्रेतका आत्मा कांग्रेस, एमाले बनेका छन् । माओवादी के कम, दाह्रा सिंहको दाह्रा देखाएर राजतन्त्र आउन लाग्यो भनेर थर थर काम्न थालेको छ । चमत्कारपूर्ण जादूगरी देखाउँछु भनेर जंगलबाट राजनीतिमा अवतरण गरेको माओवादी राजनीतिक शक्ति त बन्यो, राजनीतिक संकट निवारणका लागि संकटमोचक सहजकर्ता र नयाँ युगको नयाँ विहानी बन्न सकेन ।
शान्ति, सुरक्षा, बिधि र बिधानहीन अराजक स्थिति देखेर पूर्वराजाले खुलेरै भनेका हुन् : म अभिभावक बन्न चाहन्छु । वर्तमान राजा भएर नेतृत्व दिन तैयार छु । २०६४ साल जेठ ३१ गते नागार्जुन जंगल पसेका पूर्वराजाले यसो भन्ने वातावरण कसले सिर्जना गर्यो ? अझै पनि ‘तँ राँड कि म राँड’ भनेर धारे हात लगाएर सराप्दै राँडी रुवाई गरेर बसेका राजनीतिक दलहरु ‘हामी हौं’ देश र जनताका अभिभावक भनेर लोकतान्त्रिक आस्था र विश्वास जगाएर विश्वासी बन्न र भन्न सकेनन् । कांग्रेसले भनेजस्तो जनता निर्णायक हुन् भनेर मान्ने हो भने जनताले दलहरुप्रतिको नैराश्यता र अविश्वासलाई राजतन्त्रप्रतिको आकर्षणमा आकर्षित भइदिए भने कसको के लाग्छ ? त्यसैले अझै समय छ, लोकतान्त्रिक शक्तिहरु राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका महिमा र गरिमाको धरातलमा उभिएर लोक र लोकतन्त्रवादी बनेर ‘निरो होइन हिरो’ बन्न सक्नुपर्छ । घर जलाएर आगो ताप्न छाडेर सहमति र सहकार्यका लागि व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ । जनतालाई रानुबिनाको माउरी बनाउने होइन । किल्लाबन्दी, जातिवादी, नातावादी, अवशरवादी, सत्तावादी, शक्तिवादी बनेर अहंकारको टेंक र तोप चलाउँदा देशमा टेयुनिसिया अथवा तियानमेनको परिणतिमात्र निस्कन सक्छ, सहमति गर्ने हो भने संवैधानिक र राजनीतिक दुबै संकटको निकास केही घण्टा, केही दिनमै निस्कनसक्छ । नैतिकहीन नेताहरुलाई चेतना भया ।
बाबुरामले संविधानसभा बिघटन र निर्वाचनको घोषणा गरेको घटनाले देशलाई निकासबिहीन राजनीतिक आपत र बिपतमा पारिरहेको अवस्थामा प्रचण्डपुत्र प्रकाशले घरकी श्रीमती र बच्चा छाडेर अर्काकी श्रीमती च्यापेर भागेको घटनाले जातिवाद बोक्ने प्रचण्डको गालामा नैतिकताको झापडमात्र लागेको छैन, माओवादीभित्र यौनदूराचारको पराकाष्ठालाई नाङ्गेझार पारेको छ । एमालेका अध्यक्ष झलनाथ खनाल र नेताद्वय माधव नेपाल र केपी ओली अवसरवादको च्याूखे बल्झाउन लागिपरेको दृष्टिगोचर भइरहेको छ । कांग्रेसका सुशील कोइराला वीपीवादमा छन् कि गिरिजावादमा अस्पष्ट छन् । सुशील सरकारको नेतृत्व दावी गर्न पनि सक्दैनन्, देउवा कि रामचन्द्र भन्न पनि सक्दैनन् । सत्तामा जाँदा लाभ कि प्रजातान्त्रिक अभ्यासमा लाग्दा लाभ हुन्छ, सुशीलको हिसावकिताव अझै मिलेको छैन । मात्र सुशील भनिरहेका छन्– बाबुराम राजीनामा देउ । डिरेल भएको पद्धतिलाई कसरी लिकमा राख्ने र लोकतन्त्रलाई कसरी अगाडि बढाउने स्पष्ट खाका कांग्रेससूग पनि छैन । यही कांग्रेसी दोमनको मैदानमा प्रचण्ड र बाबुराम सत्ताकब्जाको रत्यौली खेलिरहेका छन् । सत्तामदले मधेसी मोर्चासहितका शीर्ष दलहरु मदहोस छन् । देश बर्बाद पारिरहेका छन् । लोकतन्त्रको भविष्य के हुने हो ? आशंका बढ्दै गएको छ । यही बेलामा पूर्वराजाले पनि धर्मको धरातलबाट राजनीतिमा पाइला टेकेकाले द्वन्द्व चर्कैरुपमा बढेको छ । शक्तिहरुको लहडै लहडमा राष्ट्रिय अस्तित्व जोखिममा परेको छ । राजनीतिमा सुनामी आउने खालको तरङ्ग उत्पन्न भएको छ ।
०६२ साल मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सहमतिको कोरामिनले ०६८ साल जेठ १४ सम्म अर्थात संविधानसभाको ४ वर्षको अभ्याससम्मको अवधिलाई जसोतसो धान्यो । संविधानसभाको जेठ १४ को मृत्युपछिका राजनीतिक र संवैधानिक संकटले निम्त्याएका अराजकता, अस्थिरता र अन्यौलतालाई कसरी व्यवस्थापन गर्ने ? काठमाडौं काबुल हुन लागिसक्यो, राजनीति धतुरोको फूल बनिरहेका छन् । पूर्वराजा सिंहानुक भएर निस्कने हुन् कि राजनीतिक दलहरु अर्को राजनीतिक सहमति गरेर सिंह बन्ने हुन् ? जे गरे पनि राष्ट्रिय सुरक्षासहितका मुद्धाहरु भूसभित्र आगो सल्केझैं सल्किसकेकाले नेपालको भाग्य र भविष्य देख्ने द्रष्टाहरु आगामी दिन बिबाद र बहसले गञ्जागोल हुने भविष्यवाणी गर्न थालिसकेका छन् । रोग देशमा होइन, राजनीतिक दलहरुमा लागेको छ । नेताहरुले आफूभित्रको रोगको पहिचान गर्दै कुन खालको आत्मसर्जरी गरेर पक्षाघातको रोग निदान गर्ने
हुन् ? त्यो सबैका लागि प्रतिक्षाको विषय बनेको छ ।
संविधानसभामा ३३ पार्टी छन् । अब यिनले आफै सरकार निर्माण गर्न र चलाउन सक्छौं भनेर देखाउने बेला आयो । विदेशी चलखेलले के देखाएको छ भने नेपाली नेताहरु असक्षम छन्, यिनलाई सहारा चाहिन्छ । नेपाली नेताहरुले उदाहरण देखाउने बेला भयो– हामी सहमति गर्नसक्छौं, सरकार बनाउन र चलाउन सक्छौं । हामी शान्ति र संविधान पनि लेख्न सक्छौं । हामी देश र जनताप्रति उत्तरदायी पनि छौं । के त्यस्तो हिम्मत ठूला ३ दलका प्रचण्ड, सुशील र झलनाथबाट गर्न सकिन्छ ? होइन भने १४ गते आधारातमा मरेको संविधानसभालाई कोरामिन हालेर राष्ट्रिय तिजोरी लुट्ने ताल्चा फोरेकोमात्र साबित हुनेछ । राजनीतिक नेताहरु आफ्नै दृष्टिको गिरेको अवस्थाले जनतालाई, देशलाई र विदेशीलाई पनि आश्वस्त पार्न सक्दैन । जबसम्म विश्वासयोग्य बन्ने आधार राजनीतिक नेतृत्वले आर्जन गर्दैन, तवसम्म नेपालमा राजनीतिक स्थिरता स्थापित हुने कुरा कोरा कल्पनामात्र हो र जेठ १४ गते राती कोरामिन हालेर थपिएको म्यादी सहमतिले पनि कुनै काम गर्न सक्नेछैन ।
फेरि कोरामिन हालेर संविधानसभाको म्याद थप्ने प्रयत्न सुरु भएको छ तर नेपालको हितमा बोल्ने नेता देखिन छाड्यो । हिजो पनि दक्षिण, उत्तरपन्थीहरु थिए तर हिजो देशको, जनताको पक्षमा बोल्ने साहस तिनले गुमाएनन् । आज पनि अनेक पन्थीहरु छन् । जो बलिया पन्थी छन्, तिनीहरुले देशमा उभिएर जनताको पक्षमा बोल्ने साहस गुमाएको देखिन्छ । यो स्थितिमा पुनस्र्थापना गरेर यो दुरावस्थाबाट जोगिन र देशलाई जोगाउन सहमतिको कोरामिन हालेको संविधानसभाले राष्ट्रका लागि केही गरिहाल्छ भनेर विश्वास गर्ने एक रत्ति पनि ठाउँ छैन । कसैलाई विश्वास छैन ।











