काठमाडौं । मुलुकको राजनीति अबचाहिँ निर्णायक मोडमा पुग्नै लागेको हो कि भन्ने संकेतहरु मिल्न थालेका छन् । भेट्घाट र छलफललाई तीव्र पारेका राष्ट्रपति डा.रामवरण यादवको पछिल्ला दिनमा आश्चर्यजनक मौनता र प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गलेको मानसिकताले पनि मुलुकको राजनीतिले अब पल्टा खाने संकेत मिलेको हो । अबका दुई–चार दिनभित्रै राष्ट्रपति यादवले आक्रामक निर्णय गरे भने आश्चर्य मान्नुपर्ने छैन । तर, भारतपरस्त भनेर चिनिएका प्रधानमन्त्री भट्टराईलाई असोजसम्म नचलाउन भारतले राष्ट्रपति यादवलाई दबाब दिइरहेको कूट्नीतिक सूत्रहरुले जनाएका छन् ।
सदीयौंदेखि एक–आपस र विभिन्न धर्मावलम्वीहरु बीच सौहार्दपूर्ण सम्बन्ध कायम गरेर बसेका नेपालीहरुमा जातीय र धार्मिक झगडाको बीऊ रोपेर पतन भएको संविधानसभाको अवशानसँगै तिक्त भएको राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईबीचको सम्बन्ध पछिल्ला दिनमा झन् चिसो छ । बजेटका विषयमा विपक्षी गठबन्धनको आग्रह स्वीकार्दै पूर्णबजेट स्वीकृत नगर्ने मानसिकता बनाएका राष्ट्रपति यादवसँग प्रधानमन्त्री भट्टराई झनै रिसाएका देखिएका छन् । प्रधानमन्त्री भट्टराई पूर्णबजेटमा केही लोकप्रिय कार्यक्रम ल्याएर आºनो गुमेको शाख केही उकास्न चाहन्थे । तर, विपक्षी गठबन्धन र राष्ट्रपतिका कारण उनको त्यो योजनामा बज्रपात भएपछि उनी भित्र–भित्रै क्रुद्धमात्रै देखिएका छैनन्, अपितु आफू गलेको संकेतसमेत दिन थालेका छन् ।
पछिल्लो समयमा आºना गलत नीति–निर्णय र छुद्र स्वभावका कारण प्रधानमन्त्री भट्टराई आºनै पार्टी एकीकृत नेकपा माओवादीभित्रै एक्लिंदै जान थालेका छन् । भारतसँग गरिएको विप्पा सम्झौता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतलाई सुम्पने निर्णयसँगै पार्टीभित्र उनलाई ‘राष्ट्रघाती’ का रुपमा चित्रित गर्नेहरुको पनि कमी छैन । विस्तारित बैठकमा यही विषयमा अधिकांश सहभागीहरुले प्रधानमन्त्री भट्टराईलाई आच्छु–आच्छु बनाएपछि उनी अध्यक्ष पुष्पकमल दाहाल र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको ‘ग्य्राण्ड डिजाइन’ मा यो सब काम भएको भन्दै आºना पक्षधरहरुसँग अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठमाथि खनिएका थिए । एकीकृत नेकपा माओवादीभित्रको यो त्रिपक्षीय लडाइँले पनि प्रधानमन्त्री भट्टराईलाई अब प्रधानमन्त्रीको कुर्सी सहज छैन भन्ने संकेतसँगै प्रधानमन्त्रीबाट बहिर्गमनपछि एउटै पार्टीमा मिलेर बस्न गाह्रो हुने स्पष्टै देखिएको छ ।
प्रधानमन्त्री भट्टराईलाई भारतपरस्त र राष्ट्रघाती भएको आरोप लगाउँदै बेइजिङ्ग उडेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले बेइजिङ्गमा के खिचडी पकाए होलान् भन्ने सवालले पनि नेपालको राजनीति तरङ्गित भएको छ । पछिल्लो समयमा एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराई भारतपरस्त हुँदै गएको बेइजिङ्गको निष्कर्ष हुनसक्छ । त्यसैकारण उसले वैद्यलाई काखी च्याप्ने रणनीति बनाएको हुनसक्ने तर्क गर्नेहरुको पनि कमी छैन । यद्यपी वैद्यले यस विषयमा अहिलेसम्म प्रष्ट पारेका छैनन् । केन्द्रीय सत्ता जनविद्रोहबाटै सम्भव देखेका अध्यक्ष वैद्यको त्यो रणनीतिलाई बेइजिङ्गले साथ देला–नदेला ? तर, नेकपा–माओवादीको अध्यक्ष भएको महिना दिन नबित्दै बेइजिङ्गले वैद्यलाई प्राथमिकता दिनुले भने विश्लेषकहरुलाई आश्चर्यमा पारेकै छ । सम्भवत: बेइजिङ्गले वैद्यलाई साथ दियो भने भारतले एनेकपा माओवादीलाई पुन:विभाजनतर्फ लगेर आफूपरस्तहरुको छुट्टै पार्टी बनाउने निश्चित नै छ ।
खासगरी २०६२/०६३ को आन्दोलनपछि हाम्रा राजनीतिक दलहरुले हदै नाघेर विदेशी प्रभुका पाउमा लम्पसार पर्ने संस्कृतिको विकास गर्दा हामीले हाम्रो आन्तरिक राजनीतिलाई सही निकास दिन नसकेको तथ्य छर्लङ्गै भएको छ । अब हामीले हाम्रो आन्तरिक राजनीतिलाई सही मार्गमा हिँडाउने हो भने विदेशी प्रभुका पाउमा लम्पसार पर्ने होइन, राष्ट्र र जनताको कसम खाएर राष्ट्रिय धर्म निर्वाह गर्नेतर्फ लाग्नै पर्दछ, होइन भने हाम्रो राजनीतिले सही निकास पाउने कल्पना गर्नु आकाशको तारा खसाल्नुजत्तिकै गाह्रो हुनेछ ।













