इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री रजा पर्वेज अस्रफलाई राष्ट्रपति असिफ अली जर्दारीमाथि भ्रष्टाचारको मुद्दा पुन: सुनुवाइ गर्न अदालतसँगको विवादमा थप दुई साताको समय दिएको छ । अदालतले प्रधानमन्त्री अस्रफलाई स्विजरल्यान्डको सरकारलाई राष्ट्रपति जर्दारीमाथि कारवाही पुन: आरम्भ गर्न पत्र लेख्न समय दिएको थियो । अस्रफपूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीले यस्तो पत्र लेख्न अस्वीकार गरेकोमा अदालतले आफ्नो मानहानि भएको ठानी उहाँलाई पदमुक्त गरेको थियो । महान्यायाधीवक्ताले अदालतलाई यस विषयमा न्यायपालिकासँग मतभेद हटाउन गम्भीर प्रयास गर्न केही समय माग्नुभएको थियो र न्यायाधीश असिफ सइद खोसाले यस मुद्धाको सुनुवाइ अगस्त ८ सम्म रोक्नुभएको छ ।
महान्यायाधीवक्ताले अदालतलाई संविधानविपरीत रहेको तथा कार्यान्वयन गर्न नसकिने यस आदेश फिर्ता गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपतिले उन्मुक्ति प्राप्त गर्नुभएकाले सरकारले अदालतको निर्णय गत दुई वर्षदेखि कार्यान्वयन गर्न सकेको छैन । सरकार तथा अदालतबीचको विवादका कारण सन् २०१३ मा हुने भनिएको संसदीय निर्वाचन अगाडि सर्नसक्छ । सन् २०१३ को फेब्रुअरीमा निर्वाचन हुने भए पाकिस्तानको इतिहासमा एउटा संसदले पहिलो पटक पाँच वर्षको कार्यकाल पूरा गर्नसक्नेछ ।













