नयाँ दिल्ली । भारतका भ्रष्टाचारविरोधी कार्यकर्ता अन्ना हजारेले सरकारमाथि दबाब दिन आफूले भोकहडताल पुन: आरम्भ गर्ने बताउनुभएको छ । उहाँले गत वर्ष गर्नुभएको भोक हडतालका कारण मुलुकभर उहाँप्रति समर्थन देखिएको थियो । भारतका धेरै जनता आफ्नो दैनिक जीवनलाई भ्रष्टाचारले प्रभावित बनाएको बताउँछन् र हजारेले भ्रष्टाचारविरुद्ध कडा कानुन माग गर्नुभएको छ । पचहत्तर वर्षीय पूर्व सैनिक ट्रक चालक हजारे बुधबार नयाँ दिल्लीमा उहाँका तीन समर्थकले आरम्भ गरेको भोकहडतालस्थल पुग्नुभएको थियो ।
उहाँका अभियानका प्रवक्ता अस्वाति मुरलीधरणले सरकार भ्रष्टाचार रोक्न गम्भीर भएको सङ्केत नदेखिएमा अन्नाले आइतबार भोकहडताल आरम्भ गर्ने बताउनुभयो । उहाँले आफूहरुले सरकारका मन्त्री, प्रधानमन्त्री तथा पार्टीका नेताहरुमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्ने समूह हुनुपर्ने र यसका लागि छिटो सुनुवाइ अदालत आवश्यक पर्ने उल्लेख गर्नुभयो । गत वर्षको विरोधका कारण सरकारले एउटा विधेयक तयार गरेको थियो तर उक्त विधेयक कमजोर भएको भनी हजारेले अस्वीकार गर्नुभएको थियो । उक्त विधेयकमा संसदको माथिल्लो सभामा सहमति जुट्न नसकेका कारण हाल यो विधेयक एक संसदीय समितिमा रहेको छ ।













