हिमालयन बैंकको नाफा
एक अर्ब ९ करोड
काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७१÷०७२ मा १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ९६ करोड रुपैयाँ कमाएको थियो । १८ करोड रुपैयाँले खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा बढेको हो । गत वर्ष बैंकले २ अर्ब ६७ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको हालै उक्त बैंकले प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
कर्जामा लिने र निक्षेपमा दिने व्याजदर बीचको अन्तर (स्प्रेड दर) सीमाभित्रै रहेर पनि केही घटेको छ । अघिल्लो वर्ष ४.५४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ४.३५ प्रतिशतमा रहेको छ । त्यसैगरी, सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको मध्ये ८९ करोड रुपैयाँ फिर्ता गरेको (राइटव्याक) गरेको छ । राइटव्याकलाई पनि नाफामा गणना गर्न मिल्छ । अघिल्लो वर्ष ७७ करोड रुपैयाँ मात्रै राइटव्याक गरेको थियो । तर, अघिल्लो वर्षको तुलनामा बैंकको कर्मचारी खर्च २० करोडले बढेर ९१ करोड रुपैयाँ पुगेको छ ।
२०७२ असार मसान्तमा बैंकले ७३ अर्ब ५२ कारेड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७१ असार मसान्तमा ६४ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा हिमालयन बैंकको खराब कर्जाको मात्रा झन्डै दोब्बरले बढेको छ । अघिल्लो वर्ष कूल कर्जाको १.९६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.२२ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३३ करोड र रिजर्भ ३ अर्ब ८४ करोड रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा न्यूनतम चुक्ता पुँजी ८ अर्ब पु¥याउन निर्देशन नै जारी गरिसकेको छ । पुँजी बढाउन बैंकले नाफाबाट अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ । गत वर्षको नाफाबाट बैंकले २५ प्रतिशतको हाराहारीमा बोनस सेयर दिनसक्ने देखिन्छ ।
ग्लोबल आईएमई बैंकको ८६ औ शाखा बनेपामा
काठमाडौ । काभ्रेको बनेपामा ग्लोबल आइएमई बैंकले आफ्नो शाखा विस्तार गरेको छ । काभ्रेको बनेपामा गत शुक्रबारदेखि बैंकको ८६ औं शाखा स्थापना गरिएको ग्लोबल आईएमई बैंकले जनाएको छ । उक्त शाखाको ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उदघाटन गरेका हुन । उक्त शाखा उद्घाटनमा ग्लोबल आइएमइ बैंकका सञ्चालक अश्विनीकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नीरज श्रेष्ठको उपस्थिति रहेको थियो । ग्लोबल आईएमई बैकले हाल ६० अर्ब निक्षेप ५० अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैंकको बनेपाको शाखा सहित वैंकको देशभर ८६ वटा शाखा रहेका छन् भने १० वटा राजश्व संकलन काउण्टर, ९० वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।
मोवाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग जस्ता सेवा प्रदान गरेको ग्लोबल आईएमई बैंकले अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दे आएको छ ।
४५० करोड नाफामा राष्ट्रिय बाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चार अर्ब ५० करोड रुपैयाँ नाफा गरेको छ । आफ्नो स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बिक्री गरेका कारण बैंकको नाफा बढेको हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । सेयर बिक्रीबाट बैंकले साढे दुई अर्ब रुपैयाँभन्दा वढी आम्दानी गरेको थियो ।
नाफा बृद्धिसँगै बैंकको पुँजी कोषमा पनि सुधार आएको छ । गत बर्ष ४.६२ प्रतिशत रहेको बैंकको पुँजी कोष १०.३४ प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा पनि ६.३८ प्रतिशतबाट घटेर ३.३८ प्रतिशतमा आएको छ ।
कुल एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकले ७५ अर्ब ८३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले एक बर्षको अवधिमा खुद ब्याज आम्दानी चार अर्ब ५९ करोड रुपैयाँ गरेको छ । बैंकको आधार दर ६.७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ६१ प्रतिशत मात्र छ । बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिइसकेको छ । बैंकले चालु बर्षभित्रै प्रकृया सुरु गर्नेछ । बैंकले अहिलेको आठ अर्ब ५८ करोड रुपैयाँ पुँजीलाई ७० प्रतिशत मानेर अतिरिक्त ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने छ ।
सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिना
काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिना नियुक्त भएका छन् । हालै बसेको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई गत भाद्र १ गतेदेखि लागू हुने गरी सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बिगत डेढ बर्षदेखि सेञ्चुरी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका तिमिल्सिना तत्कालिन सिइओले राजीनामा दिएपछि करिव एक बर्षदेखि निमित्त सिइओका रुपमा कार्यरत थिए ।
डेढ दशकदेखि वैंकिङ क्षेत्रमा संलग्न तिमिल्सिना नेपाल इन्भेष्टमेन्ट बैंक छाडेर डेपुटी सिइओको रुपमा सेञ्चुरी आएका थिए । यसै गरी बैंकको महाप्रबन्धक पदमा कार्यरत जीवन भट्टराईलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । भट्टराईले विगत १७ वर्षदेखि विभिन्न वाणिज्य बैंकहरुमा विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निभाउदै आएका छन् । उनले व्यवस्थापन, जन प्रशासन, अर्थशास्त्र विषयमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका छन् ।
यसै विच बैंकले आर्थिक वर्ष २०७१÷०७२ मा २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा तीन गुणाले बढी हो । अघिल्लो वर्ष बैंकले ८ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । ४३ करोड रुपैयाँ खुद व्याज आम्दानी बढेपछि बैंकको नाफा पनि उल्लेख्य बढेको हो । गत वर्ष बैंकले ८५ करोड ७५ लाख व्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनमा निक्षेपमा दिने र कर्जामा लिने व्याज बीचको अन्तर (स्प्रेड दर) केही घटेपनि खुद व्याज आम्दानी बढेको हो । ०७१ मा ४.०५ प्रतिशत रहेको स्प्रेड ०७२ मा ३.४७ प्रतिशतमा झरेको छ ।
त्यसैगरी नाफा वृद्धिको अर्काे आधार सम्भावित जोखिम व्यवस्था बापतको फिर्ता (राइटब्याक) पनि हो । राइटव्याकलाई पनि नाफामा गणना गर्न मिल्ने प्रावधान छ । अघिल्लो वर्षकोभन्दा ५ करोड बढी अर्थात ७ करोड ८४ लाख रुपैयाँ राइटव्याक भएको हालै सेञ्चुरी बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । ०७२ असार मसान्तमा सेञ्चुरी बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष १८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको खराब कर्जामा पनि केही सुधार आएको छ । अघिल्लो वर्ष कूल कर्जाको ०.५१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ०.२७ प्रतिशतमा झरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब १२ करोड रुपैयाँ छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ सालसम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पुँजी र्पुयाउनु पर्ने हुन्छ ।
त्यसका लागि बैंकले अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ । तर, बैंकले सेयरधनीलाई अधिकतम ९ प्रतिशत मात्रै बोनस सेयर दिन सक्ने देखिन्छ । पुँजी वृद्धिका लागि मर्जरमा जानु पर्ने र नपुग पुँजी हकप्रद सेयर जारी गरी जुटाउनु पर्ने देखिन्छ ।
आईएमई को–अपरेटिभ मुनाफामा
काठमाडौं । आईएमई को–अपरेटिभ सर्भिसले गत आर्थिक वर्षमा ६ करोड सञ्चालन मुनाफा गरेको छ । संस्थाका अध्यक्ष योगेश्वर ढकालले शेयर सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गर्ने जानकारी दिएका छन । ढकालका अनुसार संस्थाले यो अवधिमा १ अर्ब ३९ करोड निक्षेप र १ अर्ब ५ करोड ८० लाख कर्जा लगानी गरेको छ ।
संस्थाले चालु आर्थिक बर्ष ०७२÷०७३ मा २ अर्ब रुपैयाँ निक्षेप र कर्जा लगानी १ अर्व ८० करोड गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख अधिकृत अर्जुन शर्मा पौडेलले बताएका छन । आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक सञ्जाल, गुणस्तर लगानी, आम्दानी र सक्षमताको हिसावले एक उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने दावी गरे । आईएमई. लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संस्थाको प्रगति आगामी वर्षमा अझै बढ्ने शुभेच्छा दिएका थिए ।
रिलायबल डेभलपमेन्ट बैंक ९४ प्रतिशत नाफामा
काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१÷०७२ मा १४ करोड ३० लाख सञ्चालन नाफा गरेको छ । उक्त नाफा गत वर्ष भन्दा ९४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षामा बैंकले निक्षेप ४१ प्रतिशतले बढाएको छ । गत असार मसान्तसम्म बैंकमा ६ अर्व ४९ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ । कर्जा तर्फ पनि ४० प्रतिशतले बृद्धि भएको जानकारी उक्त बैंकले प्रकाशित गरेको वित्तिय विवरणमा उल्लेख गरिएको छ ।
असार मसान्तसम्म बैंकले चार अर्व ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस बैंकले हाल १५ वटा शाखाहरुबाट सेवा प्रदान गरिरहेको जनाइएको छ । उक्त बैकले थप शाखाहरु मार्फत सेवा विस्तार गर्ने योजना बनाएको जानकारी पनि दिइएको छ ।
नाफामा एनएलजी इस्योरेन्स
काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७१÷०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुदा नाफा गरेको छ । यो अघिल्लो वर्षको भन्दा एक करोड रूपैयाँले कम हो । गत बैशाखमा आएको भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोभिजन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए ।
भूकम्पपछि मात्रै एनएलजीमा ६८ करोड रुपैयाँ बराबरको १२ सय ३३ वटा दावी परेका र ती मध्ये पाँचसय २६ दावी बराबरको १४ करोड रुपैयाँ भुक्तानी गरेको शाहले बताए । गत बैशाख २७ गते देखिनै कम्पनीले वीमा दाबी भुक्तानी दिन थालेको उनले बताए । बैशाख १२ गते ७.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।गत आर्थिक वर्षमा ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैयाँ छ । विभिन्न बैंकमा निक्षेप तथा सरकारी ऋणपत्रमा गरी एक अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ । भूकम्पका दाबीमध्ये ४२ प्रतिशत भुक्तानी गरिसकेको शाहले बताए । सानो रकमको दाबी भुक्तानी भइसकेको र ठुलो रकमको दावी भुक्तानी हुन बाँकी रहेको बताए ।
तर, ठूला दाबीमा अग्रिम भुक्तानी दिइरहेको जानकारी दिए । बीमा कम्पनीहरु आफ्नो दायित्वप्रति जिम्मेवार रहेको भन्दै आफ्नै कोष र पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर सकेसम्म छिटो भुक्तानी गर्ने पनि उहाँको भनाइ थियो । भूकम्पपछि परेको दावीको ५० प्रतिशत मात्रै सर्भेयर रिपोर्ट आएकाले भुक्तानीमा ढिलाई भएको उनले बताए ।
एनएलजी इन्स्योरेन्सले २९ शाखाबाट बीमा सेवा पु¥याउँदै आएको छ । ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गरिरहेको कम्पनीले कृषि तथा पशुबीमालाई प्राथमिकतामा राखेको शाहले बताए । एनएलजीले विश्वका विभिन्न ६ पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउँदै आएको छ ।
अमन मर्हजन ः प्रशिक्षार्थी पत्रकार
यतीको भिषा डेबिड कार्ड सेवा सुरु
काठमाडौं । यती डेभलपमेन्ट बैंकले यती भिषा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले गत मंगलबार देखि नै भिष डेबिट कार्ड प्रयोगमा ल्याएको हो । यस अघि एनपीएनस नेटवर्क मार्फत डेबिट कार्ड सञ्चालनमा ल्याइरहेको बैंकले नेपाल र भारतबाट सञ्चालन गर्न सकिने गरी भिषा डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।
यति भिष डेबिट कार्ड नेपाल र भारतमा सजीलै प्रयोग गर्न सकिने हुदा ग्राहकहरुले थप सुबिधा पाउने बैंकको विश्वास छ ।
एनटिसी १३ अर्ब ८७ करोड नाफामा
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम (एनटिसी)ले गत आर्थिक बर्षमा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आव २०७१÷७२ को तुलनामा कम्पनीको नाफा दुई अर्ब ३२ करोड रुपैयाँले बढेको हो । गत बैशाख १२ को भूकम्प तथा पटक पटकको परकम्पका कारण पिडित उपभोक्तालाई दुई अर्ब रुपैयाँ भन्दा बढीको टेलिफोन, एसएमएस तथा डाटा सेवा निशुल्क गरे पनि कम्पनीले उच्च मुनाफा कमाउन सफल भएको छ । कम्पनीको नाफा बढेसँगै प्रति सेयर आम्दानी १५ रुपैयाँ भन्दा धेरैले बढेर ९२ रुपैयाँ ४८ पैसा पुगेको छ ।
एनटिसी नेपालको सर्वाधिक नाफा कमाउने र कर तिर्ने कम्पनी हो । गत आ.व.को सञ्चालन मुनाफाबाट कम्पनीले सरकारलाई कर तिर्न पाँच अर्ब रुपैयाँ भन्दा बढि छुट्याएको छ । यो गत आ.व.को भन्दा एक अर्ब ३२ करोड रुपैयाँले बढि हो ।
कम्पनीको चुक्ता पुँजी धेरै भएका कारण यसको उच्च मुनाफाबाट सोचेजति लाभ लगानीकर्ताले भने लिन पाएका छैनन् । एनटिसीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो आ.व.को नाफाबाट कम्पनीले प्रति सेयर ४७ रुपैयाँ नगद लाभांश दिएको थियो । यो बर्ष सन्तोषजनक रुपले नाफा बढेको हुँदा कम्पनीले ५० रुपैयाँ भन्दा बढि लाभांश खुवाउन सक्ने आधार देखिएको छ । एनटिसीले गत आ.व.मा सेवा प्रदानबाट ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सीजीकोे मसला क्र्याकर बजारमा
काठमाडौं । सीजी फूड्सले नयाँ स्वादमा क्वीक्स मसला क्र्याकर बजारमा ल्याएको छ । उपभोक्ताको स्वादलाई ख्याल गरेर यसलाई मसलादार र खाजाका रुपमा प्रयोग गर्न सकिने बनाइएको छ । बजारमा २५ ग्रामको प्याकेटमा उपलब्ध क्वीक्स मसला क्र्याकरको उपभोक्ता मूल्य २० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।
प्याजको विशेष स्वाद र मसलाहरुको सम्मिश्रणबाट यसलाई तयार पारिएको जानकारी पनि उक्त कम्पनीले दिएको छ । फरक स्वादहरुको एकैसाथ मज्जा लिन सकिने क्वीक्स मसला क्र्याकरले पारखीहरुलाई नयाँ अनुभव दिलाउने अपेक्षा गरिएको सीजी फूड्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्तराष्ट्रि«य स्तरको मेटालिर्क यापरमा ताजापनका साथ बजारमा उपलब्ध गराइएको पनि कम्पनीले जनाएको छ ।













