मनिला,। दक्षिणी चाइना जलक्षेत्रमा विभिन्न मुलुकको दाबीका कारण उत्पन्न तनाव तथा यी मुलुकहरुले गरेको शस्त्रको संयोजनका कारण यस क्षेत्रमा द्वन्द्व फैलनसक्ने चेतावनी अन्तर्राष्ट्रिय सङ्कट समूह (आईसीजी)ले दिएको छ । यस समूहले १० मुलुक सदस्य भएको दक्षिणपूर्वी एसियाली मुलुकहरुको सङ्गठनले समुद्रमा यी मुलुकका सदस्यहरुबीच आचार संहिताका विषयमा सहमति कायम गर्न नसकेको कारण विवाद समाधान गर्ने सम्भावना कम भएको उल्लेख गरेको छ । आईसीजीका लागि एसियाका कार्यक्रम निर्देशक पाउल किन जजले विवाद समाधान संयन्त्र नबनेसम्म दक्षिणी चाइना जलक्षेत्रमा तनाव सजिलै सशस्त्र सङ्घर्षमा परिणत हुने धारणा व्यक्त गर्नुभयो । चीनले यो सबै जलक्षेत्रमाथि आफ्नो सार्वभौमसत्ता कायम रहेको दाबी गरेको छ । यस क्षेत्रमा व्यापक रूपमा तेल तथा ग्यास रहेको अनुमान गरिन्छ । यो यस क्षेत्रका लागि सबैभन्दा महत्वपूर्ण माछामार्ने क्षेत्र पनि हो र यहाँ नै विश्वव्यापी व्यापारको समुद्री मार्ग रहेको बताइन्छ । फिलिपिन्सका साथै आसियानका सदस्यहरु ब्रुनाइ, मलेसिया, भियतनाम तथा ताइवानले पनि यस क्षेत्रमा आफ्नो दाबी कायम राखेका छन् ।
परस्पर दाबी कारण यो क्षेत्र सम्भावित सैनिक द्वन्द्वको केन्द्र पनि बन्न पुगेको छ । सन् १९७४ तथा १९८८ मा यहाँ भियतनाम तथा चीनबीच जलसङ्घर्ष भइसकेको छ र दर्जनौ सैनिकको मृत्यु भएको छ । गत वर्ष भियतनाम तथा फिलिपिन्सले चीनमाथि यस जलक्षेत्रमा आफ्नो दाबी उग्र रूपमा उठाएको आरोप लगाएपछि तनाव अझै बढेको छ । अप्रिल महिनामा स्कारबोरो सोलमा फिलिपिन्स तथा चीनका जहाजहरुबीच तनाव देखिएको थियो । चीनले यस वर्ष पार्सल द्वीपमा सैनिक केन्द्र स्थापना गर्ने योजना घोषणा गरेपछि यहाँ तनाव अझै बढेको छ । आसियानको विदेशमन्त्रीहरुको बैठक यस महिनामा संयुक्त विज्ञप्ति तयार गर्न असफल भएको छ । यस समूहले चीनको विरुद्ध कडा अडान लिनुपर्ने फिलिपिन्सको मान्यता छ भने क्याम्बोडियाले चीनको समर्थन गरेको देखिएको छ । ब्रसेल्समा केन्द्रीय कार्यालय रहेको आईसीजीले चीनले आसियानका सदस्यहरुलाई सौविध्यप्राप्त सम्बन्धबाट विभाजन गर्न खोजेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यी सबैबीच यस जलक्षेत्रमा तनाव अझै बढ्ने यस संस्थाको धारणा छ । आईसीजीले यो विवादको सबैभन्दा सरल समाधानको रूपमा दाबी कायम गर्ने मुलुकहरुबीच दक्षिणी चाइना जलक्षेत्रमा रहेका प्राकृतिक स्रोतलाई कसरी बाँडफाँड गर्ने भन्ने विषयमा सहमति हुनु आवश्यक रहेको उल्लेख गरेको छ ।













