दाङ । घोराही नगरपालिका–३ बर्गदी निवासी श्रर्वजित वलीले आºनो छोरा रोशन वलीको स्मृतिमा पत्रकार महासङ्घ दाङ शाखामा ५० हजार रुपैयाँको अक्षयकोषको स्थापना गर्नुभएको छ । गत वर्ष साउन २१ गते घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएका छोरा रोशनको स्मृतिमा स्थापना गरिएको अक्षयकोषको वार्षिक ब्याजबाट दुर्घटना न्यूनीकरण गर्न कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गरिने जनाइएको छ ।
वलीले अक्षयकोषको रकम आजै पत्रकार महासङ्घका अध्यक्ष केएल पीडितलाई हस्तान्तरण गर्नुभएको हो । घोराहीस्थित गोर्खा उच्चमाध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय रोशनको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको थियो । आमजनतालाई विभिन्न विषयमा सुसूचित गराउन पत्रकारिता क्षेत्रले अहम् भूमिका निर्वाह गरेको हुँदा आफूले अक्षयकोषको स्थापना गरेको वलीले बताउनुभयो ।












