काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन लाइवेरियामा फम्र्ड पुलिस युनिट (एफपीयु) को रुपमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुका लागि सशस्त्र प्रहरी बल युएन शान्तिस्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१७ एफपीयु प्रि–डिप्लाइमेन्ट तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सोही तालिम केन्द्रमा आयोजित एक समारोहका बीच उक्त तालिमको अन्तिम प्रवचन गर्नुभयो । उहाँले तालिमका प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा सो तालिम केन्द्रमा नव निर्मित अधिकृत मेश भवनको समेत उद्घाटन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा नेपालकोतर्फबाट लाइवेरियामा फम्र्ड पुलिस युनिटको रुपमा खटिएका हरेक टोलीले उच्चस्तरको कार्यसम्पादन गर्दै आएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बलले शान्तिस्थानामा संयुक्त राष्ट्रसंघमा कमाएको ख्यातीलाई कायम राख्न तालिममा सिकेको ज्ञान सीपलाई कार्यक्षेत्रमा अधिकतम उपयोग गर्न निर्देशन दिनुभयो ।
उहाँले सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुले विश्वका विभिन्न मुलुकमा शान्ति मिसनमा रहेर शान्तिस्थापनार्थ उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्नुहुँदै देश र संगठनको प्रतिनिधित्व गरी शान्तिस्थापनार्थ खटिने कर्मचारीहरुले आफुलाई मुलुकको शान्तिदुत सम्झेर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
उहाँले फरक वातावरण र रहनसहनका बीच संयुक्त राष्ट्रसंघले सुम्पेको अभिभारालाई उच्च मनोवलका साथ संवेदनशील र इमान्दार भई पुरागर्न निर्देशन दिनुहुँदै उपलब्ध सिमित स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईले धन्यवाद ज्ञापनको क्रममा लाइवेरियामा फम्र्ड पुलिस युनिटको रुपमा खटिएको एपीएफ टोलीले शान्तिस्थापनामा त्यहाँका जनताको विश्वास जित्न सफल रहेको चर्चा गर्नुहुँदै युएनको म्याण्डेट अनुरुपको जिम्मेवारी पुरा गर्दा शान्तिस्थापनामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी बल प्रतिको विश्वास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा बढाउन समेत योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षण कार्यमा खटिएका इन्टर नेशनल पुलिस पिसकिपिङ्ग अप्रेसन्स सपोर्ट (आइपीपीओएस) का टिम लिडर माईक गएरले सशस्त्र प्रहरी बल र आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनुहुँदै प्रशिक्षण कार्यको दौरान कर्मचारीहरुले देखाएको जोस र जाँगरको कदर गर्दै फम्र्ड पुलिस युनिटमा खटिन गइरहेका सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई युएनको म्याण्डेटबमोजिमको प्रशिक्षण दिइएको बताउनुभयो ।
यसअघि सशस्त्र प्रहरी बल युएन शान्तिस्थापना तालिम केन्द्र ककनीका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरजकुमार श्रेष्ठले त्यस ण्अवसरमा स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत जेष्ठ १ गतेबाट सुरु भएको सो तालिममा कूल दुई सय ४० जना प्रशिक्षार्थीहरु तालिममा सफलता प्राप्त गरेका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु ठाकुरमोहन श्रेष्ठ, दुर्जकुमार राई, ऋषभदेव भट्टराई, जीवनकुमार थापा र कृष्णकुमार तामाङ लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
अर्थसचिव कृष्णहरि बास्कोटाले कडा परिश्रम, उच्च मनोवल, कार्ययोजना सहितको प्रयासबाट गत आर्थिक वर्ष २०६८/६९ मा तोकिएको राजस्वको लक्ष्यभन्दा बढी असुली गर्न सफलता हासिल भएको कुरा बताउनु भएको छ । उहाँका अनुसार गत आर्थिक वर्षमा रु. २४१ अर्ब ७७ करोड ४२ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा रु. २४४ अर्ब १४ करोड ८७ लाख राजस्व असुली भएको तथ्यांक उपलव्ध गराएको छ, जुन लक्ष्यको तुलनामा रु. २ अर्ब ३७ करोड बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०६८/६९ मा २२.२% ले राजस्व संकलन वृद्धि भएको छ ।
मुलुकको राजस्व असुलीमा सर्वाधिक ठूलो हिस्सा राख्ने मूल्य अभिवृद्धि करतर्फ रु. ७२ अर्ब ७४ करोड असुली गर्ने लक्ष्य राखिएकोमा रु. ७१ अर्ब ९७ करोड असुली भएको प्रारम्भिक अनुमान छ । यो कूल राजस्व असुलीको २९.५% हिस्सा हो । विगत ७ वर्षको मूल्य अभिवृद्धि कर असुलीको तथ्यांकलाई नियाल्दा आर्थिक वर्ष २०६१/६२ मा रु. १८ अर्ब ८९ करोड, २०६२/६३ मा रु. २१ अर्ब ६१ करोड, २०६३/६४ मा रु. २६ अर्ब १० करोड, २०६४/६५ मा रु. २९ अर्ब ८२ करोड, २०६५/६६ मा रु. ३९ अर्ब ७० करोड, २०६६/६७ मा रु. ५४ अर्ब ९२ करोड र २०६७/६८ मा रु. ६१ अर्ब ६६ करोड असुली भएको देखिन्छ । आर्थिक वर्ष २०६८/६९ मा मूल्य अभिवृद्धि कर असुलीको वृद्धिदर १६.७.% कायम भएको छ । यसरी मूल्य अभिवृद्धि कर असुलीमा राम्रो वृद्धिदर देखिइनुमा विना मोलाइजा ५१८ वटा नक्कली मूल्य अभिवृद्धि करको विलविजक उपर भएको कारवाही, मूल्य अभिवृद्धि कर दर्तावालाको संख्यामा भएको वृद्धि, करदाता सेवा कार्यालयहरुको स्थापना र बक्यौता असुलीमा गरिएको प्रयासहरु नै प्रमुख कारक तत्व रहेको कुरा अर्थसचिव वास्कोटाले बताउनु भएको छ ।
राजस्व असुलीको आकारका दृष्ट्रिकोणले आयकर दोस्रो पंक्तीमा पर्दछ । गत आर्थिक वर्षमा रु. ५१ अर्ब ६ करोड असुली गर्ने लक्ष्य राखिएकोमा रु. ५२ अर्ब ५५ करोड असुली भएको प्रारम्भिक अनुमान छ । यो कुल राजस्व असुलीको २२.७% हिस्सा हो र गत आर्थिक वर्षमा आयकर असुलीको वृद्धिदर २५% कायम भएको छ । विगतको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०६१/६२ मा रु. १० अर्ब ४७ करोड, २०६२/६३ मा रु. १० अर्ब ९४ करोड, २०६३/६४ मा रु. १५ अर्ब ७३ करोड, २०६४/६५ मा १९ अर्ब ८ करोड, २०६५/६६ मा रु. २७ अर्ब २५ करोड, २०६६/६७ मा रु. ३३ अर्ब ८२ करोड र २०६७/६८ मा रु. ४२ अर्ब ६ करोड असुली भएको थियो । आयकर असुली वृद्धि हुँदै जानुमा करको दायरा फराकिलो हुँदै जानु, जसअनुसार आयकरमा दर्तावालाको संख्या वृद्धि हुँदै जानु, व्यवसायिक कारोवार वृद्धि हुनु र कर प्रशासन प्रभावकारी हुँदै जानु नै आधारभूत पक्ष रहेको कुरा पनि अर्थसचिव वास्कोटाले बताउनु भएको छ ।
राजस्व असुलीमा तेस्रो महत्वपूर्ण स्थान भन्सार महशुलको रहने गरेको छ । अर्थसचिव वास्कोटाका अनुसार गत आर्थिक वर्षमा रु. ४१ अर्ब ५६ करोड असुली गर्ने लक्ष्य राखिएको भन्सार महसुलमा रु. ४३ अर्ब ४१ करोड असुली भएको प्रारम्भिक अनुमान छ । यो कुल राजस्व असुलीको १८% हिस्सा हो भने गत आर्थिक वर्षमा भन्सार महसुलको वृद्धिदर २१.६% कायम भएको छ । यसरी भन्सार महसुल वृद्धि हुनुमा बैदेशिक व्यापारमा भएको वृद्धि, अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धि, भन्सार मूल्यांकनमा गरिएको सुधार, वस्तु वर्गिकरणमा अपनाइएको सतर्कता, भारतीय अन्त:शुल्क फिर्ता प्रणालीमा गरिएको सुधार र सिमावर्ती क्षेत्रमा गरिएको तस्करी नियन्त्रण नै महत्वपूर्ण तत्वहरु रहेको कुरा पनि अर्थसचिव वास्कोटाले बताउनु भयो । भन्सार महसुल आर्थिक वर्ष २०६१/६२ मा रु. १५ अर्ब ७० करोड, २०६२/६३ मा रु. १५ अर्ब ३४ करोड, २०६३/६४ मा रु. १६ अर्ब ७१ करोड, २०६४/६५ मा रु. २१ अर्ब ६ करोड, २०६५/६६ मा रु. २६ अर्ब ७९ करोड, २०६६/६७ मा रु. ३५ अर्ब १५ करोड र २०६७/६८ मा रु. ३५ अर्ब ७१ करोड असुली भएको थियो ।
राजस्वका शीर्षकका दृष्टिकोणले चौथो ठूलो राजस्व असुली हुने क्षेत्र अन्त:शुल्क हो । गत आर्थिक वर्ष २०६८/६९ मा रु. ३० अर्ब २५ करोड अन्त:शुल्क असुली गर्ने लक्ष्यमा रु. ३० अर्ब ३७ करोड असुली भएको प्रारम्भिक अनुमान छ । अर्थसचिव वास्कोटाका अनुसार अन्त:शुल्कको दायरा विस्तार गरिएको, केही वस्तुमा अन्त:शुल्कको दरलाई परिमार्जन गरिएको, चुहावट नियन्त्रणमा विशेष प्रयास गरिएको र अन्त:शुल्कजन्य अबैध कारोवारमा नियन्त्रण गरिएको कारण गत आर्थिक वर्षमा अन्त:शुल्क राजस्वको असुली वृद्धिदर १३.५% कायम हुन सकेको हो । कूल राजस्व असुलीमा अन्त:शुल्कको योगदान १२.४% रहेको छ । विश्व व्यापार संगठनको पद्धतिअनुसार आन्तरिक उत्पादनको अतिरिक्त पैठारीमा पनि यो कर असुली गर्न सकिन्छ । नेपालमा एण्टी डम्पिङ्ग र काउन्टरभेलिङ्ग ड्यूटी नभएकाले विश्व व्यापार संगठन, साºटा, विमिष्टेकमा नेपालले गरेको प्रतिवद्धता अनुरुप भन्सार दर घटाउँदै लैजाने सन्दर्भमा अन्त:शुल्कका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने हुन्छ । विशेषगरी अन्त:शुल्क कर स्वास्थ्यलाई प्रत्यक्ष हानी पुर्याउने मदिरा, वियर र चुरोटमा लाग्दै आएको छ । आर्थिक वर्ष २०६१/६२ मा अन्त:शुल्क वापत रु. ६ अर्ब ४५ करोड, २०६२/६३ मा रु. ६ अर्ब ५१ करोड, २०६३/६४ मा रु. ९ अर्ब ३४ करोड, २०६४/६५ मा रु. ११ अर्ब १९ करोड, २०६५/६६ मा रु. १६ अर्ब २४ करोड, २०६६/६७ मा रु. २४ अर्ब ४७ करोड र २०६७/६८ मा २६ अर्ब ७५ करोड असुली भएको थियो ।
अर्थसचिव वास्कोटाकाअनुसार रजिष्ट्रेशन दस्तुर र सवारी साधन कर वापत आर्थिक वर्ष २०६१/६२ मा रु. २ अर्ब ६१ करोड, २०६२/६३ मा रु. ३ अर्ब ३ करोड, २०६३/६४ मा रु. ३ अर्ब २५ करोड, २०६४/६५ मा रु. ४ अर्ब १ करोड, २०६५/६६ मा रु. ७ अर्ब ७ करोड, २०६६/६७ मा रु. ७ अर्ब ९३ करोड र २०६७/६८ मा रु. ६ अर्ब ६० करोड असुली भएकोमा गत आर्थिक वर्ष २०६८/६९ मा रु. ७ अर्ब ९६ करोड असुली भएको छ । घरजग्गाको कारोवारमा केही सुधार भएको तथा सवारी साधन कर बर्षेनी तिर्नुपर्नेमा कडाई गरिएका कारण राजस्व असुलीमा सुधार आएको हो ।
अन्य कर झै गैरकर राजस्व असुली पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०६१/६२ मा रु. १६ अर्ब २ करोड, २०६२/६३ मा रु. १४ अर्ब ८५ करोड, २०६३/६४ मा रु. १६ अर्ब ५९ करोड, २०६४/६५ मा रु. २२ अर्ब ४७ करोड, २०६५/६६ मा रु. २६ अर्ब ४२ करोड, २०६६/६७ मा रु. २३ अर्ब ६५ करोड र २०६७/६८ मा रु. २७ अर्ब ४ करोड असुली भएको गैरकर गत आर्थिक वर्ष २०६८/६९ मा रु. ३७ अर्ब ८८ करोड असुली भएको कुरा अर्थसचिव वास्कोटाले बताउनु भएको छ । गैरकरमा गरिएको समसामयिक सुधार, बक्यौता असुली गरिएको कडाई र अर्थ मन्त्रालयले गरेको विशेष समन्वयका कारण यो कर बढी असुली हुन सकेको हो ।
जनआन्दोलन २ पछि आर्थिक वर्ष २०६७/६८ मा वाहेक सबै आर्थिक वर्षमा राजस्वको तोकिएको लक्ष्यभन्दा बढी नै असुली भएको छ । यस सन्दर्भमा राजस्व असुलीका लागि प्रत्येक विभाग र कार्यालयको कार्ययोजना नै बनाई काम गरिएको छ भने करको दायरा विस्तार गर्ने क्रममा घरबहाल करमा अभियात्मक ढंगले काम गरिएको छ । यसैगरी राजस्व चुहावटतर्फ चौविसै घण्टा खुल्ला रहने नियन्त्रण कक्षको व्यवस्था, राजमार्ग गस्ती र सिमा सुरक्षा बलको व्यवस्थाले तस्करी नियन्त्रण भएको छ । यसैगरी, भन्सार प्रशासनमा लागू गरिएको कम्प्यूटरीकृत प्रणालीले पनि राजस्व वृद्धि गराउन मद्दत पुगेको कुरा अर्थसचिव वास्कोटाले बताउनु भएको छ ।
अर्थसचिव वास्कोटाका अनुसार नेपालमा जनआन्दोलन २ पछि राजस्व असुली रकममा मात्रै वृद्धि भएको होइन, कूल गार्हस्थ्य उत्पादनको अनुदानमा पनि राजस्व वृद्धिदर सन्तोषजनक रहेको छ । आर्थिक वर्ष २०६३/६४ मा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्व असुली १२.०५ प्रतिशत थियो भने आर्थिक वर्ष २०६४/६५ मा १३.१९ प्रतिशत, २०६५/६६ मा १४.५२ प्रतिशत र २०६६/६७ मा १५.०७ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०६७/६८ मा भने राजस्व असुलीको लक्ष्य नपुगेकोले कूल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्व असुली साविककोमा घटेर १४.५९ प्रतिशत काम भएकोमा गत आर्थिक वर्ष २०६८/६९ मा राजस्व असुली उत्कृष्ट रहेकाले जिडिपीको अनुपातमा राजस्व असुली १५.५% प्रतिशतमा पुगेको छ ।













