काठमाडौँ,। नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय सहमति कायम गर्ने हो भने सबै राजनीतिक दलहरूले विगतमा अगाडि सारेका आ–आफ्ना अडानबाट एक कदम पछि हट्नुपर्नेमा जोड दिनुभएको छ ।
‘सहमति गरेरै निर्वाचनमा जाऊँ भन्ने हो भने सहमति जुटिसकेको छैन,’ उहाँले भन्नुभयो– ‘विगतमा भएका सहमतिअनुसार अगाडि बढौँ भन्ने हो भने पनि विगतका अडान यथावत् छँदैछन्, त्यसैले विगतका आ–आफ्ना अडानबाट एक कदम पछाडि हटेर सहमति गर्नुपर्छ, अनि मात्र निकास आउँछ ।’ गीतकार विना महतद्वारा प्रकाशित गीति एल्बम ‘अनुभूति’को विमोचन गर्दै वरिष्ठ नेता देउवाले भोलिका दिनमा पनि सबै दल आ–आफ्ना अडानबाट एक कदम पछाडि हटेर भएपनि सहमतिमा पुग्नुपर्छ भन्नुभयो ।
लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नबनाई स्थायी शान्ति र स्थीर राजनीतिक व्यवस्था पनि कायम नहुने भन्दै उहाँले संविधान बनेपछि मात्र मुलुकका सबै संयन्त्र एउटा प्रणालीमा चल्न सुरु हुन्छ र त्यसले विकासको ढोका खोल्न सक्ने धारणा व्यक्त गर्नुभयो । वरिष्ठ नेता देउवाले दलहरूबीचमा सहमति कायम भए केही समयका लागि संविधानसभाको पुन:स्थापना गरेर संविधान जारी गर्न सकेमा मुलुकको आर्थिक भार कम हुने दाबी गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले राजनीतिक सङ्क्रमण लम्बिँदै जाँदा मुलुुकका सबै क्षेत्र तहसनहस हुने भएकाले सबै राजनीतिक दलहरू सहमतिका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकमा दिगो शान्ति कायम नभई राजनीतिक स्थिरता नहुने भएकाले दलहरूको सहमतिमा लोकतन्त्रको संस्थागत विकाससँगै अन्य क्षेत्रको विकासमा क्रियाशील हुनुपर्छ भन्नुभयो । कार्यक्रममा वरिष्ठ गीतकार डा कृष्णहरि बराल, वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, गीतकार महतलगायतले प्रस्तुत गीति सङ्ग्रह ‘अनुभूति’का विविध पक्षमाथि प्रकाश पार्दै एल्बम जीवन दर्शन, प्रकृति, वियोग, प्रेमलगायतका विषयवस्तुलाई न्यायपूर्णरुपमा चित्रण गर्न सफल भएको चर्चा गर्नुभएको थियो । एल्बममा दीप श्रेष्ठ, दीपक खरेल, स्वरुपराज आचार्य, सङ्गीता राना प्रधान, निशा देसार र गीतकार महतका श्रीमान् डा प्रकाश शरण महतलगायतको स्वर रहेको छ । गीतकार महतले आठ वर्षअघि आफ्नो पहिलो एल्वम ‘यही नै जीवन हो’ सार्वजनिक गर्नुभएको थियो ।













