काठमाडौं । स्थानीय र विपक्षी दलहरुको चर्को विरोधपछि बाग्मती किनारमा रहेका सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा सार्ने निर्णयबाट सरकार पछि हटेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा भएको छलफलमा निर्णय फिर्ता लिने सहमति भएको हो । ‘सुन्दरीघाटमा सुकुम्बासी राख्ने निर्णय उपयुक्त देखिएन र स्थानीयबासीले समेत विरोध गरे’ काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले भन्नुभयो–’सरकारले निर्णय फिर्ता लिएको छ ।’
सरकारले सुन्दरीघाटमा सुकुम्बासी राख्ने निर्णय गरेपछि एमाले नेता रघुजी पन्त र नेकपा–माओवादीकी नेतृ पम्फा भुसालसहितको अगुवाईमा मलपोखरी संरक्षण समिति गठन गरेर आन्दोलन थालिएको थियो । मलपोखरी निर्माणका लागि भन्दै २०३२ सालमा अधिग्रहण गरेको जग्गामा सुकुम्बासी राख्न नपाउने भन्दै संघर्ष समितिले गत गत आइतबार र सोमबार दुईदिन ललितपुर बन्द गरेको थियो । सुकुम्बासीहरुलाई राख्न भन्दै सरकारले २३ बटा अस्थायी टहरा बनाइसकेको छ । त्यसका लागि १२ लाख खर्च भइसकेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
अब उनीहरुलाई कहाँ राख्ने भन्नबारे निर्णय भने हुन सकेको छैन । वैकल्पिक स्थानको खोजी भइरहेको स्थापितले जानकारी दिनुभयो । ‘अहिले म बैकल्पिक स्थानको खोजीमा हिडिरहेको छ’ उहाँले भन्नुभयो–’तत्काल कतै आश्रय दिएर पछि दिर्घकालिन व्यवस्था गर्नुपर्छ ।’ यसअघि सरकारले सुकुम्बासीहरुलाई चोभार स्थित हिमाल सिमेन्ट कंम्पनीको जग्गामा राख्ने निर्णय गरेको थियो । तर, स्थानीयबासीले चर्को विरोध गरेपछि सरकारले सुन्दरीघाटमा राख्ने निर्णय गरेको थियो ।













