काठमाडौं । वैदेशिक रोजगार विभागमा दर्ता कायम रहेको दर्ता नं.३३८÷०५९÷०६० का सञ्चालक अमन लिम्बुले सरकारले तोकेको मापदण्ड विपरित प्रति कामदार २ लाख सम्म उठाएर ठगी गरेका छन् । कम्पनीको कार्यालय काठमाडौंको चप्पल कारखानामा रहेकोे छ । गत असार २१ गतेदेखि सुन्य लागतमा नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने सरकारी निर्णयलाई कुनै पनि म्यानपावर व्यवसायीहरुले लागु गरेका छैनन् । सि लिङ्कका सञ्चालक अमन लिम्बुले दुबईको अल्शामर कम्पनीमा वैदेशिक रोजगारीमा पठाउनको लागि ड्राइभरको लागि १लाख ५० हजार देखि दुई लाख सम्म, वेएटरको एक लाख बीस हजार,डेरीको एक लाख पाँच हजार,क्लिनरमा ९५ हजारदेखि एक लाख २५ हजारसम्म रुपैयाँ लिने गरेका छन् । यो रेट सिधै म्यानपावर कम्पनीमा आउने एजेन्ट र कामदारको लागि हो भने एजेन्ट मार्फत आउनेले एजेन्टलाई उल्लेखित रकम भन्दा २५ हजार बढी तिर्नुपर्ने हुन्छ । त्यसै गरी सृष्टि ओभरसिजका लोकबहादुर सुवेदी वैदेशिक रोजगार दर्ता नं. १३७ हिट ओभरसिजका हिक्मत शेरचन, लाइसेन्स नं.९७१÷०६७÷०६८ रहेको रिलायन्स रिक्रुटमेन्ट सर्भिसकी सरिता घलेले वैदेशिक रोजगारीमा जाने सर्वसाधारणसँग धम्काएर एकलाख देखि एक लाख पचास हजारसम्म रकम लिने गरेका छन् । त्यसै गरी लाइसेन्स नं.६५२÷०६३÷०६४ दिप ज्योती ओभरसिजका सञ्चालक डिल्ली खतिवडाले जापानको लागि आठ देखि दस लाख र खाडी मुलुकको लागि एक लाख पचास हजार सम्म रकम असुली गरिरहेका छन् । अनुगमनमा जाने वैदेशिक रोजगार विभागका कर्मचारीलाई चेक थपाएर वैदेशिक रोजगारीमा जाने सर्वसाधारण नागरिकलाई ठगि रहँदा अनुगमन चेकमा रकम असुलीमा परिणत भएको छ । सञ्चालक खतिवडा र मार्केटिङ डाइरेक्टर दिपक अधिकारीले जापान पठाउने भन्दै रकम असुली गरेको श्रोतले जानकारी दिएको छ । सरकारले शुन्य लागतमा नेपाली कामदारलाई बैदेशिक रोजगारीमा पठाउनु पर्ने निर्णय गरे लगत्तै म्यानपावर व्यवसायीहरुले ‘डिडक्सन’मा कामदार पठाउँदै आएका छन् । म्यानपावर कम्पनीले पचास हजार सम्म लिने र बाँकी रकम रोजगारीमा जाने कामदारको तलवबाट कट्टाहुने गरी रोजगारीमा पठाउँदा नेपाली कामदार म्यानपावर व्यवसायी र काम गर्न जाने देशको सम्बन्धित कम्पनीबाट नेपाली कामदार ठगिन थालेका हुन् । डिडक्सन भनेको वैदेशिक रोजगारीमा जाने कामदारले काम गर्न जाने सम्बन्धित देशको कम्पनीमा काम गरेर पाउने सुविधाबाट कट्टा गरी थोरै रकम दिने र निश्चित अवधि पछि मात्रै वा नेपाली म्यानपावर कम्पनी र सम्बन्धित देशको कम्पनी बिच गरेको डिडक्सन सम्झौता बमोजिम प्रत्येक महिना नेपाली कामदारको तलबबाट रकम कट्टा गरी कामदार ठग्नु हो । अधिकांस म्यानपावर ब्यवसायीहरुले स्वदेशमा पनि रकम असुल्ने र डिडक्सन प्रणलीबाट नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् ।













