अजय अधिकारी “सुशिल”
प्रशासक
समता स्कुल, जोरपाटी
अजय अधिकारी ‘सुशिल’ समता स्कुल, जोरपाटीको प्रशासक हुनुहुन्छ । समाजसेवा, शिक्षा र संगितमा विशेष रुची राख्ने अजयले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । रहर, फेरि अर्को रहर, पानी नखाइ बस्नै पर्दैन र दशैँ तिहार गरि चार वटा एल्वम साथै भोगेँ, देखेँ अनि लेखेँ शीर्षकको पुस्तक पनि बजारमा आएको छ । हाल सम्म ९ वटा म्युजिक भिडियोमा अभिनय ग
र्नुको साथै तीन वटा म्युजिक भिडियोको निर्देशन समेत गर्नुभएको छ । त्यसैगरी सोच शिर्षकको छोटो चलचित्र निर्माण भैसकेको छ भने मान्छे नामको चलचित्र निर्माणाधिन रहेको छ । समता स्कूलमा विगत १० वर्ष देखि कार्यरत र साङ्गितिक यात्राका अनुभवी अजयसँग शिक्षा, संगीत तथा युवाहरुको अवसर र चुनौतीमा आधारित रहेर इन्दे्रणी साप्ताहिकका लागि सन्तोष खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंशः
नेपालमा संगीतको बजार कस्तो छ ?
नेपालमा संगीतको बजार आजको दिन सम्म पनि गाह्रो नै छ भन्नु पर्छ । जो सँग पूँजी छ उसैको हातमा संगीतको बजार छ । पूँजी नहुनेहरुको लागि यो बजारमा जम्न कठिन नै छ ।
पछिल्ला दिनमा प्रविधिले गर्दा संगीतको बजार साँघुरिएको हो ?
एल्बम त एउटा रहरको लागि मात्रै निकाल्ने चलन आएको छ । विदेश तिर कन्सर्ट गर्न गएन एल्बमको महत्व हुने हो । २५– ३० वटा एल्बम निकालेर एफ. एम. रेडियो तिर पु¥याए नै काफी हुने अवस्था छ ।
तपाईंको भविष्यको योजनाहरु ?
म त संगीतमा नै केही गर्छु भनेर लागेको हुँ । सानै देखि मेरो सोच गायक बन्ने नै थियो । जीवनमा गायक मात्रै रहिएन । २० भन्दा बढी गितमा संगित भरेको छु । गीत पनि लेखेको छु । मैले लेखेको गीत अरुले गाउने र संगित भर्ने क्रम भर्खर–भर्खर सुरु भएको छ । सांगितिक क्षेत्रमा नै लागेर जीवन विताउने सोच छ मेरो ।
वर्तमान सन्दर्भमा नेपालमा युवाहरुको मुख्य चुनौती के हुन् ?
सबै भन्दा ठूलो कुरो बेरोजगारी हो । बेरोजगारीको कारण नै मानिस राम्रो काममा भन्दा पनि नराम्रो काममा सरिक हुन्छ । नेपाली परिवेशमा भन्ने हो भने स्कुल पढुन्जेल सम्म त मानिसले केही काम गर्दैन । त्यस पछि ११÷१२ पढ्ने बेलामा पनि मानिस काम नगरि बसेको अवस्था छ । ब्याचलर र मास्टर गरेपछि पनि काम नपाउने अवस्थाले युवाहरुलाई समस्या परेको छ । उनिहरु काम नगरि बस्दा समय त बर्वाद भएको छ नै उनीहरुको उत्पादन क्षमता पनि घटि रहेको छ । युवाहरु कतिपय काम गर्न इच्छुक हुन्छन् । कतिपय समाज सेवामा लाग्न इच्छुक हुन्छन् । युवाहरुलाई पढेर के गर्ने भन्ने कुराले नै चुनौति दिएको अवस्था छ । नेपालमा के गर्ने भन्ने खालको वातावरण नै छैन ।
युवाहरु समाज सेवामा लाग्दा के फाइदा छ ? समाज सेवा किन गर्ने ?
मानिसले पैसा त अफिस टाइममा काम गरे पनि कमाउँछ । तर समाज सेवामा रुचि भएको मानिसले पैसा कमाएर मात्र उ सन्तुष्ट हुँदैन । बाँकी समय उसले समाज सेवा गर्न पनि सक्छ । कतिपय व्यक्तिलाई नामको लागि, आत्मा सन्तुष्टिको लागि, जीवनमा मैले केही गर्न सकेँ, केहि गर्न पाएँ भन्ने आत्मा सम्मानमा वृद्धि हुन्छ । यो नै समाज सेवाको सुन्दर उपलब्धि हो ।
संगीतमा के छ त्यस्तो जसले सबै मानिसलाई तान्छ ?
यो त पौराणिक काल देखि नै चलिआएको कुरा हो । संगित आफैमा अद्भूत छ । कृष्णले बाँसुरी बजाउने र गोपीनीहरु उनका अघि पछि झुम्मीने कुरा त हामीले सुनेकै छौँ ।
‘मह’ जोडि र समता स्कुलको यो जुन सामाजिक सहकार्य छ जसमा तपाईं पनि सँगै हुनुहुन्छ । त्यसमा तपाईको अनुभूति के छ ?
२०५८ सालमा समता स्कुल उत्तम सञ्जेलले स्थापना गर्नु भएको हो । विस्तारै भक्तपुरमा पनि यो स्कुल खोलियो । त्यसपछि ‘मह’ जोडि पनि यसमा जोडिन आउनु भयो । त्यसपछि हामी पनि यो स्कुललाई सहयोग गछौँ, यो स्कुल हाम्रो नै हो भनेर नैतिक सहयोग गर्नुभयो । जहाँ दुःख पर्छ त्यहाँ रक्षक बनेर उहाँहरु उपस्थित हुनुहुन्छ । मैले पनि यो संस्थामा आबद्ध भएर काम गरेको १० वर्ष भयो । यहाँ काम गर्दा मैले स्वतन्त्रसँग काम गर्न पाएको छु । यहाँ आफु खूशी रहेर काम गर्ने वातावरण छ । यहाँ आफ्नो कामले कसैलाई खूशी बनाउनु पर्ने अवस्था छैन । कहिले काहिँ कक्षा १० मा महत्वपूर्ण कक्षा मात्रै लिन्छु । प्रायः त म प्रशासनमा नै रहेर काम गर्छु ।
शिक्षा के हो ?
मैले देखेको भनेको कतिपय मानिस पढेका हुन्छन् तर व्यवहारिक हुँदैनन् । कतिपय मानिस नपढेरै पनि व्यवहारिक, शिक्षित र मिलनसार हुन्छन् । व्यक्तिको विकास, परिवर्तनको लागि शिक्षा अति नै आवश्यक चिज हो ।
विगत १० वर्ष देखि समता स्कुलमा हुनुहुन्छ । यो समयमा तपाईले के उपलब्धि हाँसिल गर्नुभयो ?
हाम्रो स्कुलमा पढ्ने एक जना भाइ आज मलाई भेट्न आएको थियो । उसले हायात रिजेन्सी होटल, टुसालमा जागिर पाएको कुरा मलाई बतायो । त्यस्तै अर्को भाइ सेकेण्ड लेफ्टिनेन्ट भयो । यहि स्कुल पढेको एक जना भाइले प्रिन्सटन कलेजमा साइन्समा ८९ प्रतिशत ल्याएर कलेज नै टप ग¥यो । मैले पाएको उपलब्धि भनेको यहि हो । आजसम्म पनि अजय ‘सुशील’ सर समता स्कुलमा हुनुहुन्छ भनेर उनिहरुले भन्दा मलाई गौरव लाग्छ ।
बच्चाहरुको के कुरा तपाईलाई मन पर्छ ?
बच्चाहरु भनेको मान्दैनन् । आज भन्यो भोलि बिर्सिहाल्छन् । उनिहरुसँग एउटा चञ्चलता हुन्छ । उनिहरु जिज्ञासु स्वभावका हुन्छन् । उनिहरुको त्यहि चिज मलाई मन पर्छ ।
पुरुष र महिलाहरुको मनोविज्ञानमा के फरक छ ?
यो विषयमा त मैले पुरुषको मात्र थाहा पाउन सक्छु । यसो भन्दैमा म महिलाको केहि नै थाहा पाउँदिन भन्ने चाहिँ होइन । मैले आमा देखेको छु । श्रीमती देखेको छु । यस कुराले हेर्ने हो भने नारीहरु अलि कमजोर मानसिकताका वा कोमल हृदय हुन्छन् । जस्तै घरमा कुनै घटना भएको कुरा सुनायो भने बुबाको आँखामा आँसु हुँदैन तर आमा रोइसक्नु भएको हुन्छ । त्यो चाहिँ मैले महशुस गर्न सकेको कुरा हो तर नारीको प्रकृति कस्तो हुन्छ त्यो मलाई थाहा हुने कुरा भएन ।
युवाहरुको लागि वा भनाँै विद्यार्थीहरुको लागि अध्यात्म, ध्यान, योग जस्ता कुराहरु आवश्यक पर्छ कि, पर्दैन ?
यो बच्चाहरुको लागि अति नै आवश्यक कुरा हो । आजकल मोवाइल हात–हातमा छ । मानिसहरु फेसबुक चलाएर बसेका हुन्छन् । त्यो समयमा मानिसहरु दिमागी आराममा बस्ने हो भने केही नयाँ–नयाँ कुराहरु सोच्न सक्छ, नयाँ काम गर्न सक्छ । यस कारण अध्यात्म मानिसको लागि जरुरी नै छ ।
निजी क्षेत्रले प्रदान गर्ने शिक्षा व्यापारमुखी भयो भन्ने गुनासो छ । यसमा तपार्इंलाई के लाग्छ ?
यो स्कुलमा हुने खाने र कमजोर आर्थिक हैसियत भएका सबैका बालबच्चाले पढ्छन् । महिनामा मात्र १०० रुपैयाँ फिस तिरेर यहाँ पढ्छन् । हामीलाई शैक्षिक संस्था खोलेर व्यापार गर्नु छैन । स्कुलको भौतिक पूर्वाधार स्तरीय हुँदैमा, स्कुल बसहरु ३÷४ वटा हुँदैमा, विद्यार्थीहरु एउटै युनिफर्ममा आउँदा विद्यालयले व्यापार ग¥यो नाफा कमायो भन्ने बुझ्नु भएन । तथापी शैक्षिक क्षेत्रमा पछिल्लो समय विद्यार्थीको नाममा व्यापारीकरण बढेको भने अवश्य नै हो ।
हाम्रा बालबालिकालाई वातावरण प्रदुषणका विषयमा सचेत गराउन र उनिहरुको व्यवहारमा परिर्वतन ल्याउन के गर्न सक्छौँ ?
सरसफाई भन्ने कुरा महत्वपूर्ण कुरा हो । हामी फोहोरी मानसिकता बोकेर हिड्यौँ भने सफा हुन सक्दैनौँ । हाम्रा भाइबहिनीले बिहान यहाँ कान समातेर चोरी गर्दिन, झुटो बोल्दिन भन्ने वाचा जस्तै प्रकृतिलाई छुने र बोटबिरुवा उखेल्नु हुँदैन भन्ने बाचा गर्छन् । पानी हाम्रो जीवन हो । यसको सदैव रक्षा गर्नु पर्छ भन्ने कुरा हामीले भाइबहिनीहरुलाई दिनको एक पटक सिकाइरहेका हुन्छौँ ।
समाज आधुनिक बन्दै छ तर पनि छोरा र छोरीको विचमा आज पनि भेदभाव छ किन होला ?
सहरी भनौँ या गाउँ क्षेत्रमा जहाँ पनि छोरा छोरीमा भेदभाव छ । छोरीलाई सरकारी भनौं या सस्तो कलेज÷स्कुलमा पढाउने, छोरालाई भने महंगो स्कुल कलेजमा पढाउने चलन छ । छोरीहरुले घरको काम गर्नुपर्ने हुन्छ भने छोराहरुलाई त्यो बाध्यता छैन । विस्तारै शिक्षाको विकास हुँदै जाने हो भने यो प्रवृत्ति हट्छ ।
अहिले विश्वव्यापीकरणकोे समय हो । युवाहरु पढ्नको लागि विदेशीने क्रम बढ्दो छ । यस प्रति तपाईको धारणा के छ ?
वास्तवमा हाम्रा भाइबहिनीहरु विदेश जाने भन्दा मलाई खूशी लाग्छ । मैले मासिक कमाउने भनेको ३५ हजार हो । ७ हजार भाडामा जान्छ । ५ हजार खाजा खाना खर्च हुन्छ । मेरो बच्ने भनेको मासिक १० देखि १५ हजार हो । यस्तो अवस्थामा यहाँ बसेर गर्ने के त ? व्यापार गर्ने, पसल खोल्ने हो भने यहाँ घर–घरमा, गल्ली–गल्लीमा, चोक–चोकमा पसल छ । व्यापार गर्नको लागि के चाहिँ नयाँ चिज गर्ने ? रोजगारको स्थिति नभएको बेलामा बैदेशिक रोजगारीमा गएर केही नयाँ खालको काम गरेको मलाई राम्रो लाग्छ । मानिसले यहाँ कुलतमा लाग्नु, अरुको कुरा गरेर हिनता बोध गरेर यहाँ बस्नु भन्दा केहि पैसा कमाएर विदेशबाट फर्केको देख्दा मलाई खुशी लाग्छ ।
समता स्कुलसँग कुनै पनि युवा वा युवा संगठन सामाजिक भावनाले काम गर्ने प्रस्ताव ल्याएमा तपाईको कस्तो सहयोग रहन सक्छ ?
पहिला त युवा संगठनको उद्देश्य के हो ? त्यसलाई हेरेर हामीले सहयोग गर्न सक्ने, नसक्ने कुरा हुन्छ । जस्तै नाकाबन्दीको समयमा हामी यहाँका सरहरु मिलेर जागरुक नेपाली भनेर केहि समाज सेवाको काम गरिरहेका छौँ । त्यसरी निस्वार्थ भावले समाजसेवामा लाग्ने संस्थाको लागि हाम्रो सहयोग हुन्छ ।
मानिसलाई खुशी चाहिँ के कुराले दिन्छ ?
मानिसलाई उसले गरेको कामबाट सन्तुष्टि मिल्यो भने त्यो नै खुशी हो । म मेरो जिन्दगीमा ९० प्रतिशत खुशी छु । किनकि म मैले गरेको काममा सन्तुष्ट छु । यसले मलाई खुशी बनाएको छ । खुशी भनेको हामी तुलनात्मक रुपमा पनि लिन सक्छौँ । जस्तो म एकजना बाटोमा हिँडिरहेको मानिसलाई मोटरसाइकल चढेर हेर्छु भने खुशी हुन्छु तर कार चढ्ने सँग आफुलाई दाँज्छु भने म दुःखी हुन्छु ।
केहि दशक अघि र अहिलेको युवामा के फरक छ ?
धेरै नै फरक छ । अहिलेको युवालाई केही कुरा सिकाई राख्नु पर्दैन । हाम्रो पुस्ता भन्दा हामी भन्दा पछिका पुस्ता टेक्नोलोजीको कारण केही अगाडि नै छन् । पहिलेको युवाहरुको तुलनामा अहिलेका युवाहरु दुव्र्यसनमा अलि बढी नै फसेका छन् । नयाँ आविष्कार गर्ने कुरामा भने अहिलेका युवाहरु पहिलेका भन्दा अगाडि नै छन् ।
समाजसेवा गर्न र यसमा नै करियर बनाउन चाहने युवाका चुनौती के हुन सक्छन् ?
समाजसेवा जो कसैले गर्न सक्दैन । समाज सेवा गर्न आफु जल्न सक्नु पर्छ । कि त यो हुने खानेले गर्ने हो कि त केहि पनि नभएको मानिसले समाजसेवा गर्ने हो । मध्यम स्तरको मानिस यसमा तल्लिन हुन सक्दैन । सबै चिज भएको सम्पन्न मानिसलाई यति कमाउँ भन्ने लोभ हुँदैन । त्यस्तै केहि पनि नभएको मानिसलाई यति बचाउँ भन्ने लोभ पनि हुँदैन ।
नेपालीहरुको राम्रो बानी भनेको के हो ?
नेपालीहरुको राम्रो बानी भनेको सामुहिक भोजन हो । विदेशमा भोक लाग्यो भने एक्लै बसेर खाने बानी छ । त्यहाँ कसैलाई कसैको मतलब छैन । त्यस्तै एकले अर्कोलाई मद्दत गर्ने नेपालीहरुको बानी छ, यो राम्रो छ ।
शिक्षा र प्रविधिको सम्बन्ध कस्तो छ ?
शिक्षा र प्रविधि विच घनिष्ट सम्बन्ध छ । पहिला–पहिलाको कम्युटरमा हामी पेन्ट भन्ने चलाउँथ्यौँ । प्रविधिको विकासले अहिले धेरै सफ्वेयर आएका छन् । जस्तो अहिले हामी महंगा र धेरै एप्लीकेशन चल्ने मोबाइल, ट््याबलेट चलाउँछौ । शिक्षा भएन भने हाम्रो मोवाइलमा के एप्लिकेशन छ र कसरी चलाउने भन्ने थाहा हुँदैन ।
नेपालको शिक्षा प्रणालीको बारेमा केही भनिदिनु हुन्छ कि ?
अहिले सरकारले लागु गर्न लागेको ग्रेडिङ सिस्टम मलाई राम्रो लागेको छ । जस्तो एउटा मानिस राम्रो गाउँछ तर उसलाई गणित आउँदैन भने उ शिक्षाको सर्टिफिकेटको कारणले गीत गाउन, गायक बन्न रोकिनु नपरोस् । सर्टिफिकेटको कारण उसले कुनै पनि सिप सिक्ने कुरा बाट बञ्चित हुन नपरोस् ।
मन पर्ने गित ?
प्रायः त मलाई सबै खाले, सबैले गाएका गीतहरु मन पर्छ । सबै गीतहरु सुन्छु तर पनि नेपाली गीतमा नारायण गोपालले गाएका गीतहरु मन पर्छ । त्यस्तै अहिले बजारमा आएका गीतहरु पनि मलाई मन पर्छ ।
अन्त्यमा,
बिहान ५ः३० बजेबाट मेरो कलेजमा काम सुरु हुन्छ । मलाई यहाँ कसैले लगाएको काम होइन । यो म आफुले लिएको काम हो । बेलुका ११ बजे मेरो काम सक्छु । बिहान प्लस टु, व्याचलर र मास्टर देखि लिएर कक्षा १० को लगभग ३५० विद्यार्थी दिउँसो ३००० विद्यार्थी र बेलुका ८ बजे सम्म होस्टेलमा बस्ने भाइबहिनीहरु सँग बस्छु । उनिहरुलाई रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी लिएको छु । म यसमा खूशी छु । यस बिचमा ९ वटा जति म्युजिक भिडियो, ४ वटा जति म्यूजिकल एल्बम एउटा सर्ट फिल्म, एउटा किताब लेखिसकेँ भने अर्को लेख्ने तयारीमा छु । यो मैले जीवनमा कमाएको कमाइ हो । जिन्दगी देखि युवाले हरेस खानु हुँदैन भन्ने कुरा म यहाँलाई अवगत गराउन चाहन्छु ।













