हेटौँडा । मकवानपुर जिल्लाका १३ गाविस र हेटौँडा नगरपालिका क्षेत्रमा अहिले निषेधित नसालु सुईको दैनिक प्रयोग गर्नेको सङ्ख्या अत्यधिक बढ्दै गएको छ ।
मकवानपुरमा अहिले एचआइभी एड्स सङ्क्रमित करिब २२० जना फेला परेको जिल्ला एड्स समन्वय समिति मकवानपुरले जनाएको छ । एड्स सङ्क्रमित रोगीमध्ये जिल्लामा महिला ६८, बालबालिका २० एवम् पुरुष १३२ रहेका छन् । जिल्लामा हालसम्म १३० जना एड्स रोगीको मृत्यु भइसकेको समितिले जनाएको छ ।
केही गाविस र नगरपालिका क्षेत्रका गरी जम्मा ६० जना एचआइभी सङ्क्रमित रोगीले हेटाँैडा अस्पतालबाट नियमित एआरभी औषधिको उपचार सेवा लिइरहेको बताइएको छ जिल्लाअन्तर्गत पर्ने त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, हेटौँडा–कुलेखानी फर्पिङ–काठमाडौँ, हेटौँडा–नारायणगढ सडकखण्ड, हेटौँडा–अमलेखगन्ज–पथलैया सडक र सिमरामा गरी करिब ५७६ जना महिला यौनकर्मी रहेको समितिले जनाएको छ ।
ती यौनकर्मी महिलासँग राजमार्ग क्षेत्रमा रहेका होटल, रेस्टुरेन्ट, खुद्रा पसल, साना मदिरापसलमा सुरक्षाकर्मी, ट्रक, बस, तेल टयाङ्करका चालक, सहचालक एवम् बसका यात्रु, काष्ठ व्यवसायी र अन्य युवाले नियमित सम्पर्क राख्दै आएको समितिका संयोजक गोविन्दकुमार विश्वकर्माले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानमा जिविसका साथै गैरसरकारी सङ्घसंस्थाको प्रत्यक्ष आर्थिक अनुदानमा करिब ५० जना एड्स सङ्क्रमित रोगीलाई आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गराउने व्यवसायमा संलग्न गराइएको मकवानपुर जिविसले जनाएको छ ।
उनीहरू हेटौँडा नगरपालिकालगायत विभिन्न गाविसमा स्याउखेती, कुखुरापालन, तरकारीखेती, खुद्रा पसल र पान पसलको व्यवसाय सञ्चालन गरी आर्थिक आत्मनिर्भरतर्फ उन्मुख भएको जिविसले जनाएको छ ।
जिल्लाका हेटौँडा, मनहरि, भीमफेदी र पदमपोखरीमा विभिन्न गैरसरकारी सङ्घसंस्थाले छवटा आवासीय क्षेत्रमा करिब १६० जना एड्स रोगीलाई राखी नियमित स्वास्थ्योपचार गराइरहेको बताइएको छ । जिल्लामा चालु आवमा लागुऔषध गाँजा, चरेसलगायत नसालु सुइको कारोबार गर्ने करिब १३० जना दुव्र्यसनीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












