काठमाडौं । वैदेशिक रोजगारीमा जाने गरिब नेपालीको वेवास्ता गर्दै पत्रिकामा पिडितका उजुरी फरफारकको विज्ञापन प्रकाशित गरी वैदेशिक रोजगार विभाग र श्रम तथा रोजगार मन्त्रालयले ठगीको अर्को स्वरुप परिवर्तन गरेका छन् । गरिबको रगत र पसिनामा होली खेल्दै हिँड्ने वैदेशिक रोजगार विभागका कर्मचारीले अहिले आएर पिडितलाई पाखालगाई म्यानपावर कम्पनीलाई गुण लगाउन अनेक जुक्ति निकालेका छन् । तत्कालिन विभागका महानिर्देशक भरत सुवेदीले पिडितका उजुरी फरफारक नगर्ने म्यानपावर व्यवसायीलाई कडा कार्वाही गर्ने र उजुरी फरफारक नगरी म्यानपावरको लाइसेन्स नविकरण नगर्ने कडा नीति लिएपछि म्यानपावर व्यवसायीहरु विरुद्ध परेका उजुरी फरफारकको नाममा वैदेशिक रोजगार विभागले विभिन्न पत्रिकामा उजुरी फरफारकको सूचना निकालेर औपचारिकता मात्रै निभाउने काम गरेको छ । यसरी म्यानपावरको पत्रिकामा उजुरी फरफारकको सूचना निकाले वापत, पिडितका उजुरी फरफारक नभएका म्यानपावरबाट विभागका कर्मचारीले मोटो रकम घुष लिएको खुल्न आएको स्रोतले बताएको छ ।
गत फागुन २२ गते देखि आँफै म्यानपावर व्यवसाय बन्द गरेर बसेका कारण अहिले म्यानपावरका विज्ञापन प्रकाशित हुन पाएका छैनन् । यही मौका छोपेर वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा विभिन्न म्यानपावर कम्पनीबाट २०६० साल देखि यता ठगिएका पिडितका उजुरी फरफारक गर्न सूचना जारी गर्दै आएको छ । यो औपचारिकता निभाउने मात्रै काम भएको छ ।













