२०४३ सालमा मेहेलतोली ७ दैलेखमा जन्मनु भएका शान्तिदिप रेग्मी हाल शान्ति समाज नेपाल सामाजिक संस्थाकोे अध्यक्ष हुनुहुन्छ । युवा समाजसेवी एवं अधिकारकर्मी रेग्मीले औपचारिक शिक्षामा एजुकेशन संकायमा प्रमाणपत्र तहसम्म अध्ययन गुर्नभएको छ । सामाजिक क्षेत्रमा लाग्ने मानिस बोलेर मात्र हुँदैन खट्न र गर्न सक्नुपर्छ भन्ने मान्यता राख्नुहुने रेग्मीले थुप्रै सामाजिक कार्यहरु कुशलतापूर्वक कार्यसम्पादन गर्नुभएको छ । समाजिक क्षेत्रका विभिन्न गतिविधि र भूकम्प पछिका सामाजिक कार्य एवं पुनःनिर्माणका विषयमा सम्बन्धित रहेर इन्द्रेणी साप्ताहिका लागि सन्तोष खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंशः
शान्तिदिप रेग्मी अध्यक्ष शान्ति समाज नेपाल
समाज सेवामा कसरी लाग्नु भयो ?
म विशेषगरी मध्यपश्चिमाञ्चलमा पर्ने दैलेख जिल्लाको विकट गाउँमा जन्मिएको मानिस हुँ । त्यस माथि पनि सानै उमेरमा आमाको मृत्यु भएपछि टुहुरो जीवन बिताउँदै संघर्षको दिन अगाडि बढाउँदै जाँदा मदर टेरेसाको जीवनीबाट म प्रभावित भएर समाजसेवामा लागेको हूँ । आफु जस्तै गरिब दुःखीको सेवामा लाग्ने रुची सानै उमेरदेखि म मा रहेको थियो र समय र रुची अनुसार मानिस त्यही कार्यमा निरन्तर दिनुपर्छ भन्ने मान्यताले गर्दा विभिन्न संघसंस्थामा स्वयंसेवकको रुपमा काम गर्दै विभिन्न संघ संस्थामा आवद्ध हुँदै विगत १२ वर्ष देखि समाजसेवामा लागिरहेको छु ।
यो क्षेत्रमा लाग्नुभएको लामो समय भएछ । हाल सम्म के–के काम गर्नु भयो त ?
काम त थुप्रै गरियो अपाङ्गता भएको व्यक्तिलाई विभिन्न सेवामुखी कामबाट यो क्षेत्रमा लागियो । क्याम्पसमा भर्ना गरिदिने, अपाङ्गता भएका महिलालाई अपाङ्गताको परिचयपत्र बनाउन सहयोग गर्ने, अपाङ्गता भएका मानिसलाई सिपमूलक तालिमको लागि विभिन्न संघ–संस्थासम्म पु¥याउने, यौन हिंसामा परेका चेलीहरुलाई उद्दार र पिडकलाई विभिन्न संघ–संस्था र सरकारको सहयोगमा कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग पु¥याउने, पुनःस्थापनाको लागि पिडितलाई विभिन्न संघ–संस्था मार्फत स्थापित हुन सहयोग गर्ने, अपाङ्गता भएका बालबालिकाको लागि छात्रवृत्तिको पहल गर्ने, पढ्नको लागि वातावरण मिलाइ दिने लगायत धेरै कामहरु गरिँदै आएको छु ।
यी त नियमित काम भए, २०७२ साल बैशाखमा गएको महा–भूकम्पमा के–कस्ता राहत तथा उद्धारका कामहरु गर्नुभयो ?
महा–भूकम्पमा त धेरै कामहरु गरियो । काठमाडौंको सिफलमा भूकम्प आएकै दिन आफ्नै पहलमा चाउचाउ, पानी, माक्स वितरण गरियो । त्यस पछि विश्व हिन्दू युवा संघ नेपाल, गौह्रीघाट काठमाडौंसँग मिलेर मालिगाउँमा आश्रय लिइरहेका करिब १०० परिवारलाई खाद्यान्न वितरण गरियो । त्यसैगरी इस्लामिक रिलिफ र जामे मस्जिदसँगको सहकार्यमा सिन्धुपाल्चोक सुनखानी गा.वि.स.मा करिब १०० परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्ने काम भयो । शान्ति समाज नेपाल अन्तर्गत भूकम्पमा परेकाको उद्दार र अस्थायी वसोवासको व्यवस्था मिलाउनको लागि स्वयंसेवक परिचालन गर्ने काम भयो । त्यसै गरी रातोपुल काठमाडौंमा भारत नयाँदिल्लीबाट प्रवासी नेपालीले ल्याउनु भएको अपाङ्गता भएकालाई सहायक सामाग्रि, छडि, बैशाखी, नक्कली हात, खुट्टा करिब ५०० जनालाई वितरण गर्न विभिन्न ठाउँबाट अपाङ्गता भएका व्यक्तिलाई जम्मा पारी प्रवासी नेपाली समाजलाई सहयोग गरियो । बालकृष्ण आश्रम काठमाडौं शाखासँग मिलेर करिब २० परिवारलाई राहत वितरण गर्ने काम भयो । विभिन्न सहयोगी समर्थक, दाताहरुबाट सङ्कलित करिब १ लाखको औषधी अन्नपूर्ण पोष्ट दैनिकको राहत अभियानमा लगेर सो पत्रिकाको केन्द्रीय कार्यालयमा जिम्मा लगाइयो । रोटरी क्लब थापाथलीको सहकार्यमा सिन्धुपाल्चोक सुनखानी गा.वि.स वडा नं. २ देखि ९ सम्मका दलित जनजाती र वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई जाडो समयमा न्यानो ब्लाङ्केट १०० परिवारलाई वितरण गरियो । राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डपसँग मिलेर करिब ५०० जना अपाङ्गता भएकालाई न्यानो कपडा, जुत्ता, मोजा, औषधी, विस्कुट, गुलकोज, वितरण गरियो । हाल काठमाडौंको कालोपुलमा ५ जना अपाङ्गता भएका महिलालाई तीन महिने सिलाई कटाई तालिम सञ्चालन भइरहेको छ ।
सामाजिक कार्य गर्दा नेपाली समाज र राज्यबाट के कस्ता सहयोग प्राप्त गर्नुभयो त ?
नेपाली समाजबाट र त्यसमा पनि जनस्तरबाट उच्चमूल्यांकन तथा सम्मान प्राप्त भएको छ । राज्यबाट भने यतिका वर्षसम्म पनि कुनै सोधीखोजी भएको छैन । सामाजिक काममा लागेका संस्थाहरुलाई राज्यले पनि प्रोत्साहन र सहकार्यमा सहयोग गर्नुपर्छ ।
समाज परिवर्तनकोलगि युवाको भूमिका कस्तो हुनुपर्छ ?
समाज परिवर्तनकोलागि युवाको भूमिका अतुलनिय हुनु पर्छ । देशलाई आफु भन्दा माथि राखेर देशको लागि काम गर्नु पर्छ, समाजका लागि काम गर्नु पर्छ, समाजले के दियो होइन के दिन सकिन्छ भनेर लागिरहनु पर्छ । समाजको बारेमा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्छ । समाजलाई सकारात्मक दिशातर्फ लगेमा समाज परिवर्तनका साथै देशमा पनि परिवर्तन आउँछ । त्यसैले समाज परिवर्तनको लागि युवाको भूमिका एकदमै महत्वपूर्ण र अपरिहार्य छ ।
युवाको व्यक्तित्व र नेतृत्व विकास कसरी हुन सक्छ ?
युवाको व्यक्तित्व सामाजिक कार्यबाट परिवर्तन हुँदै व्यक्तित्व निर्माण हुन्छ । व्यक्तित्व विकास गर्नको लागि सर्वप्रथम त युवा आफैँ नै सक्रियता पूर्वक लाग्नु पर्छ । जुन काममा युवा लागेको हो, जुन उद्देश्यमा लागेको हो त्यहि काममा युवा ‘चिनीमा पानी घोलिएजस्तै’ लाग्नुपर्छ । तब मात्रै युवाको व्यक्तित्व विकास सम्भव छ । व्यक्तित्व विकास भएसँगै नेतृत्वको विकास हुन्छ । नेतृत्वको विकास भएमा कुनै पनि संघ संस्थाको वा समाजको, राष्ट्रको उद्देश्य पुर्तीको लागि नेतृत्व लिन सकिन्छ । हेर्नुस आजको युवा पिँढिमा यस्ता किसिमका गुण कमै पाइन्छ । आज एक काम ग¥यो यो काम हुँदैन गर्न सकिँदैन भनेर छाडिदिने, त्यो काम प्रति वितृष्णा जगाउने, आफुलाई परिवर्तन गर्न नसक्ने, विदेशी भूमिमा गएर पसिना बगाउने, आफ्नो देशलाई माया नगर्ने खालका युवाहरुमा लहर चलेको छ । यसको अन्त्य हुनु पर्छ । तर कठोर परिश्रम गरेमा एकदिन अवश्य पनि सफताको शिखरमा पाइला चुमिन्छ भन्ने युवाहरुमा सोचाइ छैन । देशमा नै केही गर्ने प्रण युवाले गरेमा मात्र युवाको व्यक्तित्व र नेतृत्व विकास हुनसक्छ ।
भावी उद्देश्यहरु के के छन् ?
हेर्नुस् भावी उद्देश्य भनेको समाज सेवा नै हो । हाम्रो देश नेपाल प्राकृतिक जोखिम युक्त देश भएको कारणले गर्दा देशमा आउने आपत् विपत्मा सामाजिक तथा आर्थिक रुपमा कमजोर हाम्रो समाजलाई विचलित हुन नदिई पिछडिएका नागरिकलाई राज्यको पहुँचसम्म पु¥याउने, गरिब, दुःखीको सेवा गर्ने, वृद्धाश्रम खोल्ने योजना छ ।
समाज सेवामा लाग्नु भएको छ । तपाईँले के सन्तुष्टि पाउनु भएको छ त ?
मैले खास गरी समाज सेवा समाजलाई खुशी पार्न, दिन दुःखीलाई सन्तुष्टि दिन यो क्षेत्रमा लागेको हूँ । समाजसेवा गर्ने मानिस सबैभन्दा पहिला आफैँ खुशी र सन्तुष्ट हुनुपर्छ । मैले यस क्षेत्रमा लागेर पाएको कुरा आत्मा सन्तुष्टि न हो ।
समाज सेवामा लाग्नु भएको छ । संस्था चलाउन, दैनिकी चलाउन आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
साह्रै राम्रो प्रश्न गर्नुभयो । सामाज सेवामा लागेका संस्थाहरुले गर्ने आर्थिक कारोबार पारदर्शी हुनुपर्छ । शुरुका दिनहरुमा आफ्नै व्यक्तिगत खर्चबाट संस्थाको दैनिक कारेबारहरु चलाएँ । समाज सेवाका कार्यका लागि ऋण पनि लिएको छु । पैसाकै कारण संस्थाले गर्ने कार्यहरु र उद्देश्य प्राप्तिका कामहरुमलाई रोकेको छैन । हालका दिनहरुमा यस संस्थालाई मनकारी साथीहरुले आर्थिक सहयोग गरिरहनु भएको छ ।
अन्त्यमा, तपाई शान्ति समाज नेपाल बाहेक अन्य कुन–कुन संस्थासँग आबद्ध हुनु हुन्छ ?
म धेरै संघ संस्थामा आबद्ध छु । मानव अधिकार विकास नेपालको संस्थापक अध्यक्ष (२०६८–७१), अपाङ्ग फुटबल संघको सहसचिव, अपाङ्ग सहयोगी हातहरु संस्थामा सदस्य (२०६८ देखि निरन्तर), कर्णाली दलित विकास समाजमा सदस्य (२०६४ देखि २०६६), अनाथ अपाङ्ग बाल सचेतना नेपालको सचिव (२०७०–७१), लालिगुराँस युवा क्लबको महासचिव (२०६१–२०६७), रिड नेपालको आजिवन सदस्य, कोलाबरेसन नेपालको सदस्य, रेयुकाई नपालको साधारण सदस्य छु ।













