काठमाडौं । गत वर्षको असार २१ गते देखि सरकारले लागु गरेको सुन्य लागत अर्थात फ्रि भिषा र फ्रि टिकटको विरोध गर्दै आएका म्यानपावर व्यवसायीले सेटिङ मार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउन थालेका छन् । श्रम तथा रोजगार मन्त्री दिपक बोहोरा, श्रम सचिव विष्णु लम्साल,विभागका महानिर्देशक केदारबहादुर बोगटी र अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने र म्यानपावर व्यवसायीको मिलेमतोमा सेटिङ तिब्र भएको श्रोतले जानकारी दिएको छ ।
नेपाली कामदारलाई रोजगारीमा लैजाने विदेशस्थित कम्पनीले नै कामदारको सम्पूर्ण खर्च बेहोरेको हुन्छ, त्यो कुरा रोजगारीमा जाने कामदारलाई जानकारी हुँदैन । म्यानपावर कम्पनीहरुले विदेशी कम्पनीबाट कमिसन र नेपाली कामदार दुबैसँग रकम लिने गरेका छन् । म्यानपावर व्यवसायी,विमा कम्पनी, एभरेष्ट वैंक, अभिमुखीकरण तालिम दिने संस्थाहरु र मेडिकल चेक अप गर्ने पोलि क्लिनिकहरुले मन्त्री, सचिव, अध्यागमन विभागका महानिर्देशक र वैदेशिक रोजगार विभागका महानिर्देशकलाई तोकेरै घुस बुझाउने गरेका छन् । यसरी घुस बुझाएको खण्डमा कुनै पनि कागजात चेकजाँच नगरी बिभागले श्रम स्वीकृति दिने,अध्यागमन सेटिङ गरेर अध्यागमन पार गराएर नेपाली युवायुवतीहरुको बेचविखन हुने गरेको छ । अभिमुखीकरण तालिम दिने प्रत्येक संस्थाहरुले महानिर्देशक केदारबहादुर बोगटीलाई नगद बुझाएको खण्डमा जति सेटिङ गरे पनि पाइन्छ । महानिर्देशक बोगटीलाई यसरी नगद बुझाए पनि ओरियन्टेसन शाखाकी निर्देशक रमा भट्टराई र अधिकृत अर्जुन खतिवडालाई प्रति सर्टिफिकेट पाँच सय रुपैयाँ छुट्टै बुझाउनु पर्नेहुन्छ । वैदेशिक रोजगारीमा दैनिक १५ सयदेखि दुई हजार नेपाली कामदार विदेशिने गरेका छन् । वैदेशिक रोजगारीमा जाने सबैले अभिमुखीकरण तालिम लिनुपर्ने अनिवार्य हुन्छ । त्यसको अलावा वैदेशिक रोजगारीमा जाने सबैले स्वास्थ्य परिक्षण समेत गराउनु पर्नेहुन्छ । १२० को संख्यामा अभिमुखीकरण तालिम दिने संस्था रहेका छन भने एक हजारको हाराहारीमा पोलिक्लिनिक संस्थाहरु रहेका छन् । ओरियन्टेसनबाट मात्रै विभागका महानिर्देशक केदारबहादुर बोगटीको कमाई राम्रै रहेको छ । स्वास्थ्य र म्यानपावर व्यवसायीबाट पनि बोगटीले मासिक उठाउने गरेका छन् । श्रम तथा रोजगार मन्त्री, श्रम सचिव, अध्यागमन विभागका महानिर्देशकलाई समेत छुट्टै घुस रकम छुट्टाइएको हुन्छ । श्रम तथा रोजगार मन्त्री, श्रम सचिव र अध्यागमन विभागका महानिर्देशकको मिलेमतोमा विभाग र अध्यागमन सेटिङ हुने गर्दछ । विभाग सेटिङमा विभागको काठमाडौं कार्यालयका निर्देशक कृष्णप्रसाद दवाडीको प्रमुख भुमिका रहेको छ । नक्कली कागजातका आधारमा सेटिङ काठमाडौं कार्यालयका निर्देशकले गर्दछन भने,अध्यागमन विभागका महानिर्देशकको निर्देशनमा अध्यागमन सेटिङ हुने गर्दछ । दैनिक १५ सयदेखि दुई हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जाने सर्वसाधारणबाट यो रकम असुल्ने गरिन्छ ।













