काठमाडौं, राष्ट्रपति डा.रामवरण यादवले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुका नेताहरुसंग राष्ट्रपति भवन, शीतलनिवासमा मुलुकमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल सहमति जुटाउन आग्रह गर्दै भने ‘देश अफगानिस्तानजस्तै वनोस् भन्ने सोच त पक्कै पनि तपाईहरुमा छैन होला र चाहनु पनि भएको हौ होला । देश चलाउने र जोगाउने तपाईहरु नै भएकोले चाँडै निकास दिएर नेतृत्वको भूमिका निर्वाह गर्नुहोस । अर्कोपटक छलफलमा आफुहरुवीच मुलुकको समग्र मुद्दामा सहमति भएको सन्देश लिएर उपस्थित हुनुहोला । मुलुक संवैधानिक,प्रशासनिक, आर्थिक संकटमा पुगिसक्यो । अव यसरी हुँदैन ।
तपाईहरुले निकास दिनुपर्छ । अर्को भेटमा निकास सहित तपाईहरुको सहभागिता हुने विश्वस मैले लिएको छु संक्रमण लम्बिंदा मुलुक असफल राष्ट्र हुने तर्क अघि वढ्दैछ, यस्तो अवस्थामा म चसप लागेर बस्न सक्दिन । तपाईहरुले थालेका सहमतिको प्रयास कमजोर भयो, वाधा/अडकाउ कसरी फुकाउने? निर्वाचन प्रक्रियामा कसरी जाने? भन्ने विषयमा तपाईहरुले चाँडै सहमति गर्नु पर्यो ।’राजनीतिक दलका नेताहरुसंग राष्ट्रपति यादवले विहान ९ बजे देखि २ बजे सम्म पाँचघण्टा सम्म छलफल गरेका थिए ।
राष्ट्रपतिसंगको छलफलको क्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने संविधान निर्माण हुने आधार तय भएमा आफुले तत्काल राजीनामा दिने बताउँदै भने –†संविधान निर्माण हुन्छ भन्ने आधार र प्रक्रिया तय गरेमा अहिल्यै राजीनामा घोणणा गर्नेछु । आफै दलवाट अवरोध हँदाहुँदै पनि शान्ति प्रक्रिया –टुङ्गयाउन म सफल भएँ । संविधान निर्माणमा पनि मेरो निष्ठमा शंका नगर्नुहोस । निर्वाचन गराउन संविधान र आवश्यक ऐन कानुन अध्यादेशबाट संशोधन गर्न पनि सहयोग भएन । बजेटमा सहयोग भएन । यो असहयोगबीच मलाई पदमा बस्न पटक्कै मन छैन । चाँदो भन्दा चाँदो सहमति भएपछि एक मिनेट पनि म सत्तामा बस्दिनं । बाटो छोडिदिन्छु ।
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विकल्पबारे लामो छलफल भएको बताउँदै भने ‘राष्ट्रपतिजीले मैले पटक पटक तपाईहरुलाई बोलाएँ । तर सहमति हुन सकेन । अब अर्को पटक बोलाउँदा यो सहमति गरेका छौं भनेर आउनुहोस । बाधा अडकाउ फुकाएर राष्ट्रलाई निकासदिने गरी आउनु होस । हामीले सहमतिकै बाटो अनुसार निकास खोज्ने प्रयास गरेका छौं ।’
नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले राष्ट्रपतिले संविधानको संरक्षण र पालनकर्ताको हिसाबले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणाराख्दै भने –‘बाबुरामजीले सरकार छाड्ने कुरा गर्नु भएको छ । अब सहमति गरेर चाँडै निकास दिनु पर्छ । सहमतिको विकल्प हामीसंग छदै छैन । ’उपसभापति रामचन्द्र पौडेलले भने –‘ दलहरुबीच गत कात्तिक १५ गतेको सातबुँदे सहमति बैशाख २१ को पाँचबुँदे सहमति,जेठ २ को पाँचबुँदे सहमति कार्यान्वयन हुनुपर्छ । प्रधानमन्त्रीको राजीनामा हाम्रो पहिलो माग हो । ’
एमालेका अध्यक्ष झलनाथ खनालले काम चलाउ हैसियतको सरकारलाई चाँडै विदाइ गरेर सहमतिको सरकार निर्माणका लागि बाटो खोल्नुपर्ने बताउँदै भने–‘ बाबुरामजीले निर्वाचन घोषणा गर्नुभयो तर गर्न सक्नु भएन । निर्वाचन गर्न नसकेपछि सरकारको औचित्य नै समाप्त भइसकेको छ । सबैलाई एकताको साथ अघि बढाउन सरकारले सबै दल अटाउने गरी सहमति जुटाउनु पर्छ । ’एमालेका वरिष्ट नेता माधवकुमार नेपालले भने –‘धेरै कोणबाट छलफल भएको छ । निर्वाचनमा जाने छौं ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले अहिलेको संकटको निकास निर्वाचन नै भएको बताउँदै भने – ‘संसद या संविधानसभाको निर्वाचन गर्ने, त्यसका लागि संविधान र कानुनी अडचन कसरी फुकाउने र राष्ट्रिय सहमतिको सरकार निर्माण कसरी गर्ने भन्नेमा सहमति जुटाएर अघि बढनुको विकल्प छैन । ’
संविधानसभाको विघटन पछिका मुलुकका राजनीतिक दलका अधिकाँश नेताहरुले ताजा जनादेशमा जानु पर्ने बताए भने सर्वप्रथम प्रधानमन्त्रीले कुर्सी छोडनु पर्ने बताए तर सर्वदलीय राष्ट्रिय सरकार गठनको विकल्प नभएको बताए पनि सहमति हुन सकेन ।












