सुमन नगरकोटी, प्रिन्सिपल, साइपाल एकेडेमी
नेपालमा स्तरिय शिक्षा दिने उद्देश्यले धेरै निजी कलेज खुलेका छन । त्यसमध्ये बेलायतको क्याम्ब्रिज युनिभर्सिटिको ए लेभल कोर्ष पढाई हुने कलेज पनि धेरै खुलेका छन। त्यस मध्ये साइपाल एकेडेमी प्रमुख कलेज हो । नेपालमा ए लेभल कोर्षको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ । प्रविधि, पूर्वाधार र गुणस्तरको
हिसाबले साइपाल एकेडेमी प्रतिस्पर्धी पनि बन्दै गएको छ । यसै सन्दर्भमा साइपाल एकेडेमीका प्रिन्सिपल सुमन नगरकोटीसंग ए लेभर कोर्ष,शैक्षिक गुणस्तरका बारेमा इन्द्रेणी साप्ताहिकका लागि सन्तोष खड्काले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
ए लेभल शैक्षिक कार्यक्रमको बारेमा जानकारी दिनुस् न ?
ए लेभल एउटा एडभान्स कोर्ष हो । ए लेभलमा धेरै विषयहरु समाहित हुन्छ । यो क्याम्ब्रिज युनिभर्सिटको कोर्ष हो । १६० भन्दा धेरै देशमा ए लेभल पढाई हुन्छ ।
प्लस टु कलेजहरु बीच प्रतिस्पर्धाको अवस्था कस्तो छ ?
प्लस टु कलेज बीच घाँटी रेट्ने प्रवृत्तिको प्रतिस्पर्धा छ । होडिङ बोर्ड टाँसेर विज्ञापन गरेर विद्यार्थी तान्ने प्रवृत्ति छ । अहिले भनेको कसले कम भन्दा कम शल्क लिएर विद्यार्थीलाई पढाउने भन्ने प्रवृत्ति बढेर गएको छ । प्लस टु को देखाउने शुल्कको ढाँचा हेर्ने होे भने कुनै पनि अविभावकले आफ्ना छोराछोरीलाई पढाउन सक्ने अवस्था छैन । अस्वस्थ प्रतिस्पर्धा बढेको छ ।
एस एल सी को ग्रेडिङ सिस्टमबारे तपाईंको धारणा के छ ?
ग्रेडिङ सिष्टम राम्रो छ । एस.एल.सी मा आउने ग्रेडले विद्यार्थीको ग्रेड मात्र छुट्याउने हो । यसले गर्दा विद्यार्थीको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्न जान्छ । शिक्षाको गुणस्तरलाई पनि केही हद सम्म अगाडि बढाउँछ ।
साइपाल एकेडेमिको विशेषताहरु के–के छन् ?
साइपाल एकेडेमी आफैमा एक उत्कृष्ठ शैक्षिक संस्था हो । विद्यार्थी मैत्री वातावरण छ ।
साइपाल एकेडेमीको भविष्यका योजनाहरु के छन् ?
साइपाल लगायत हरेक शैक्षिक संस्थाको आफ्नै योजनाहरु हुन्छन् । हाम्रो पनि एउटा योजना छ कि शैक्षिक क्षेत्रमा आफ्नो एउटा छुटै खालको पहिचान बनाउने । ब्राण्ड स्थापना गर्ने । थोरै विद्यार्थी पढाउने तर रिजल्ट उत्कृष्ट निकाल्ने । एउटै स्कुलमा पढेका विद्यार्थी कोही पास कोही फेल हुने अवस्था नहोस् । स्कुल वा कलेजमा पढ्ने सबै विद्यार्थी पास हुने वातावरण सहितको शैक्षिक संस्था बनाउने हाम्रो योजना छ ।
नेपालमा शिक्षा क्षेत्रको चुनौतीहरु के–के छ ?
नेपालको शिक्षा क्षेत्रमा धेरै चुनौतीहरु छ । हामी जो शैक्षिक क्षेत्रमा लागेका छौँ, जसले शिक्षा क्षेत्रमा धेरै लगानी गर्नु भएको छ, त्यो भन्दा पछिल्लो समय खुलेका शैक्षिक क्षेत्रलाई शिक्षा नीतिले पेलेको छ । युनियनको हड्ताल छ । पहिला खुलेका पुराना भन्दा नयाँ खुल्नेलाई धेरै चुनौतीहरु छ । कलेज खोलिएको छ । सरकारी निरीक्षण अनुगमन छैन । यसले गर्दा कलेज खोल्न सजिलो भएको छ तर त्यसलाई संचालन गर्न गाह्रो भइरहेको छ ।
एउटा स्तरिय शैक्षिक संस्था सञ्चालन गर्न के के कुरा आवश्यक हुन्छ ?
राम्रो शैक्षिक संस्था हनुको लागि सर्वप्रथम त सरकारको ठूलो सहयोग हुनु आवश्यक छ । सरकारले नै एउटा मापदण्ड निर्धारण गरेर शैक्षिक संस्था सञ्चालनको अनुमति दिनु आवश्यक छ । त्यसरी मापदण्ड पु¥याएर कलेज खोलि सकेपछि सरकारले नियमित अनुगमन र निरिक्षण गर्ने हो भने शैक्षिक संस्थाहरु स्तरिय हुन्छन् । कलेज दर्ता चाहिँ सहजै हुने तर सरकारी अनुगमन नहुने हुनाले कलेजहरु च्याउ सरी खुले तर गुणस्तर कामय गर्न सकेनन् । शैक्षिक संस्थामा विकृति मौलाएर गएको छ ।
प्लस टु पढ्ने विद्यार्थीको मनोविज्ञान कस्तो छ ?
जब भोक लाग्छ तब खाउँला भन्ने खालको छ । भविष्य सोच्ने गर्दैनन् । विहान सुत्ने समयमा कलेज आयो समय पास ग¥यो अनि घर गयो । यस्तो दैनिकीले विद्यार्थीहरु सक्रिय र फुर्तिलो हुँदैनन् । पढाइ प्रति विद्यार्थी, शिक्षक, अविभावकको आस्था घटेको अवस्था छ ।
शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिका कस्तो छ ?
शिक्षा क्षेत्रमा निजी क्षेत्रको भूमिका राम्रो छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी भन्दा निजी क्षेत्रले गरेको लगानी उपयोगी हुँदै गएको छ ।
एस.एल.सी दिएर बसेका विद्यार्थीलाई के भन्नु हुन्छ ?
उद्देश्य हेरेर विद्यार्थीले कलेज छान्न सक्नु पर्छ ।
एस.एल.सी पछि विद्यार्थीले विषय र संकाय छान्दा के कुरामा ध्यान दिनु पर्छ ?
विद्यार्थीहरुले आफुले के पढ्ने भन्दा पनि छिमेकी वा साथीले के पढ्ने भन्ने कुरालाई आधार बनाएर कलेज तहको शिक्षा पढ्न थाल्छन् । यो गलत प्रक्रिया हो । जुनै संकाय वा शिक्षा लिए पनि आफुले त्यसमा विशेष क्षमता देखाउन सक्नु पर्छ । त्यसो गर्दा मात्रै विद्यार्थीहरुको शिक्षा गुणस्तरीय र उत्पादनशील हुन्छ ।
नेपालमा प्लस टु र ब्याचलर कलेजहरुको ब्राण्डीङ र मार्केटिङको अवस्था र शैली कस्तो छ ?
पहिला भन्दा फरक छ । पहिला होडिङबोर्ड पत्रपत्रिकामा विज्ञापन छपाउने चलन थियो । अहिले साइपालले शिक्षाको इतिहासमा फरक खालको मार्केटिङ गरिरहेको छ । मानव संसाधन विकास र भौतिक पूर्वाधार विकासमा साइपालले थालेको यो मार्केटिङ शैली राम्रो छ ।
अहिले नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाने प्रबृत्ति बढ्दो छ । किन होला ?
जब सम्म सरकार स्थिर हुँदैन तब सम्म यो प्रवृत्ति दोहोरिन्छ । राजनीतिक स्थायित्व नहुनाले विद्यार्थीहरुलाई यहाँ वस्ने आधार, काम गर्दै पढ्ने वातावरण नहुनाले विदेशीनुको विकल्प नभएको हो ।
राम्रो कलेज कसरी छान्ने ?
राम्रो कलेज हुनको लागि नीति नियम राम्रो भएको, विद्यार्थीको भावना बुझ्न सकोस्, विद्यार्थीलाई आदर गर्न सकोस्, सानै भए पनि बगैँचा होस् । हेर्दा खेरी पढौँ पढौँ झैँ वातावरण भएको कलेज छानेर पढ्न सक्नु पर्छ ।
मन पर्ने पुस्तक ?
मन छुने पुस्तकहरु पढ्न मन पर्छ ।
मन पर्ने घुम्ने ठाउँ ?
लुक्ला, सिन्धुपाल्चोक ।













