काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनले सरकारी कर्मचारीको तलव ५० प्रतिशत बढाउन अर्थ मन्त्री बिष्णु पौडेलसंग माग गरेको छ । यसै साता युनियनका अध्यक्ष सुवोध देवकोटाले अर्थ मन्त्री पौडेलसंग २५ सुत्रीय माग प्रस्तुत गर्दै महंगी वृद्धि, मुद्रास्फितीको तुलनामा कर्मचारीको तलव ५० प्रतिशत वृद्धि गर्नु पर्ने माग गरेका छन ।
युनियनले पेश गरेको २५ बुँदे ज्ञापन पत्रमा कर्मचारीको एक दिनको तलव रकम बराबर ग्रेडको दर निर्धारण गर्न, कर्मचारीको प्रोत्साहन भत्ता सवै कार्यालयमा लागु गर्न, १८० भन्दा बढी सञ्चित घर बिदाको भुक्तानी वर्षैै पिच्छे गर्न, नागरिक लगानी कोषको रकम दोब्बर गर्न, बिमा रकम बृद्धि गर्न, फिल्ड भत्ता दोब्बर गर्न, योगदानमा आधारित आवास सुविधा व्यवस्था गर्न, आवास भत्ताको व्यवस्था गर्न, पोशाक भत्ता दोब्बर गर्न माग गरिएको छ ।
कर्मचारीको वार्षिक १० प्रतिशत महंगी भत्ता वृद्धि गर्दै प्रत्येक दुई–दुई वर्षमा २० प्रतिशत तलव वृद्धि गर्न अन्य कर्मचारी संघ–संगठनहरुले पनि माग गरेका छन । सरकारले यस पटक २० प्रतिशत तलव बढाउने सम्भावना रहेको छ । गत वर्ष भूकम्पको कारण सरकारले तलव बढाएको थिएन । एक हजार महंगी भत्ता दिएको थियो तर यसपाली १५ देखि २० प्रतिशतसम्म तलव बढाएर कर्मचारी प्रशासनलाई खुशी पर्ने नीति सरकारले लिने भएको छ । निजामति, जंगी, प्रहरी, शिक्षक र संस्थानमा गरि करिव ५ लाख सरकारी कर्मचारी कार्यरत रहेका छन ।












