काठमाडौं । संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र, आर्थिक समृद्धि र सुशासन कायम गर्ने उद्देश्य साथ २०६८ सालमा स्थापना भएको देशभक्त समाजको यही जेठ ३० गते गोगबुको विष्णुमति पार्टी प्यालेसमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ ।
‘नवसत्ता र सर्वोदय समाज हाम्रो राष्ट्रिय अभियान’ भन्ने मुल नाराका साथ हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संघर्षका कार्यक्रम पनि तय गर्ने सो पार्टीका एक वरिष्ठ नेताले बताएका छन् । करिव ४५ जिल्लामा संगठन बनाइसकेको देशभक्त समाजले विकृति उन्मुख वर्तमान राजनीतिक धारालाई शुद्ध बनाउन, विदेशी हस्तक्षेपको अन्त्य गर्न, भ्रष्टाचार, महंगी वृद्धि, कुशासन विरुद्ध संघर्ष गर्ने कार्यक्रम ल्याउने भएको छ ।
आयात मुखी अर्थ नीतिको अन्त्य गरि स्वदेशमै दिगो, आत्मनिर्भर र समृद्धि अर्थतन्त्रको आधार तयार गर्न आयातलाई रोक्ने र कृषि, पर्यटन, उर्जा विकास र दक्ष जनशक्ति उत्पादनलाई जोड दिने,युवा जनशक्ति विदेश पाउन रोक्नु पर्ने नीति लिन सरकारलाई बाध्य पार्ने बताइएको छ । त्यसका लागि आन्दोलन र संघर्ष अनिवार्य रहेको उक्त पार्टीका अध्यक्ष द्रोण अधिकारीले बताएका छन् ।
अधिवेशनले अधिकारी कै नेतृत्वमा उपाध्यक्ष बलराम शाह, ईश्वर देवकोटा, डा. उपेन्द्र देवकोटा, कोषाध्यक्ष निलजंग गुरुङ आदि रहेको ६५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने भएको छ । महासचिव, सचिव र सदस्यहरुमा कसलाई ल्याउने भन्ने बारेमा छलफल भैरहेको उक्त पार्टी स्रोतले बतायो ।













