काठमाडौं । गत जेठ १९ गते सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सत्तारुढ नेकपा एमाले निकटको नेपाल निजामती कर्मचारी संगठनले २१ हजार १ सय २७ मत ल्याएर प्रथम भएकाले आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सहित ८ जना कार्यकारी सदस्य पाउने भएको छ ।
त्यस्तै नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) ले १६ हजार २ सय ५९, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती) ले ५ हजार २९ मत, मधेसी कर्मचारी मञ्चले २ हजार ५ सय र कर्मचारी मिलन केन्द्रले १ हजार २९ मत प्राप्त गरेका छन । अब युनियनले महासचिव र ७ सदस्य, राकसले सचिव सहित ३ सदस्य निर्वाचन भएको १५ दिन अर्थात असार ७ गते भित्र यी कर्मचारी संगठनहरुले सामान्य प्रशासन मन्त्रालयको निर्वाचन समितिमा केन्द्रीय समितिको बैठकको निर्णय सहित नामावली पठाउनु पर्ने भएको छ ।
मञ्च र मिलन केन्द्रले खसेको मतको १० प्रतिशत मत ल्याउन नसकेकाले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्न नपाउने भएका छन । निजामती कर्मचारीको चुनावमा एमाले निकट संगठनले ३० विभागीय र ५० जिल्ला संगठन, युनियनले ९ विभागीय र १९ जिल्ला, राकसले २ विभागीय, मधेसी मञ्चले ७ वटा जिल्ला संगठन र मिलन केन्द्रले एउटा विभागीय संगठनमा चुनाव जितेका छन ।
संगठनले ४४.३९, युनियनले ३४.१६, राकसले १०. ५७, मधेसी मञ्चले ७.४८ र मिलन केन्द्रले ३.२१ प्रतिशत मत ल्याएका छन । १० प्रतिशत मत नल्याउने कर्मचारी संगठनलाई आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व नगराउने गरि १० प्रतिशतको थे्रस होल्ड राखिएको थियो । पहिला २० प्रतिशतको थे्रस होल्ड राख्दा विवाद भएर चुनाव रोकिए पछि घटाएर १० प्रतिशतमा झारिएको थियो । संगठनबाट पुण्य ढकाल, भोला पोखरेल, गणेश वस्याल र मोहन घिमिरे अध्यक्षमा जान चाहि रहेका छन । संगठनको वर्तमान अध्यक्ष ढकाल आफुले संगठनलाई चुनाव जिताएकाले आफ्नो नाम सिफारिस गर्न लागेका छन । उपाध्यक्ष र कोषाध्यक्षमा सिफारिसमा पर्न पनि हरि रावल, प्रभाश साहको तछाडमछाड शुरु भएको छ । ढकाल उपाध्यक्षमा मधेसी र कोषाध्यक्षमा महिलालाई सिफारिस गर्ने पक्षमा छन । उता पूर्व अध्यक्ष भोला पोखरेल आफै अध्यक्षमा जान खोजिरहेका छन । यता आधिकारिक ट्रेड युनियनमा संगठनका अध्यक्ष ढकाल गए कार्यवहाक अध्यक्ष आफुलाई दिनुपर्ने नत्र आफ्नै नाम सिफारिस हुनुपर्ने महासचिव घिमिरेले दावी गर्दै आएका छन । युनियनबाट महासचिवमा अध्यक्ष सुवोध देवकोटाले आफ्नै नाम सिफारिस गर्ने भएका छन । यसका लागि जितबहादुर मदौ र शरद अधिकारीहरु पनि प्रतिस्पर्धा गदैछन । राकसबाट सचिवमा अध्यक्षले आफ्नै नाम सिफारिस गर्ने चाँजोपाँजो मिलाएका छन । राकसलाई उपाध्यक्ष नदिएर सचिव दिने र मधेसी मञ्चलाई पदाधिकारीमा नल्याउने षडयन्त्र भएपछि निर्वाचन समिति विरुद्ध यी दुई संगठनले मुद्दा हाल्ने तयारी गरिरहेका छन । सदस्यमा भने सबै क्षेत्र, प्रदेश, आदिवासी जनजाति, महिला, दलित, मुसलमान मिलाईने कर्मचारी संगठनका नेताहरु बताउँछन । मधुसुदन अर्यालबाट













