काठमाडौ । एनसेलको शेयर विक्री प्रकरणमा एक्सियटाले १५ प्रतिशत कर दाखिला गरे पश्चात तत्कालका लागि यो विवाद मत्थर भएपनि वाँकी १० प्रतिशत करको अष्प्रष्टता भने कायमै रहेको छ । कानुनीरुपमा असारमसान्तसम्म तिरि सक्नुपर्ने सो कर विक्रेता टेलियासोनेराले तिर्नुपर्ने भएपनि उसले यस बिषयमा कुनै चासो नराखेकोले वाँकी करको बिषयमा अन्यौलता कायमै रहेको हो । कानुनतः अब बाँकी १० प्रतिशत कर असुल गर्नका लागि असारमसान्त सम्मको समय रहेको छ र त्यो कर भने सरकारले लाभकर्ता टेलियासोनेरा संग लिनुपर्ने हुन्छ । तर टेलियासोनेराले आफुले नेपालमा कुनै कर तिर्न नपर्ने इंकित गरि सकेको छ । उसले नर्वे सरकारको नेपालसँग दोहोरो कर उन्मुक्ति सम्झौता रहेको र तिर्न पर्ने अवस्थामा नर्वेमा नै तिर्ने जनाएकोले यो विवाद अझै लम्विने देखिएको आन्तरिक राजस्व विभाग स्रोतले वताएको छ ।
‘बाँकी १० प्रतिशत कर तिर्ने दायित्व टेलियासोनेरा कै हो, विभाग स्रोतले भन्यो ‘यद्यपी टेलियासोनेराले यस बिषयमा आनाकानी गरिरहेकोले के हुन्छ अहिले नै भन्न सकिँदैन ।’ यसले गर्दा टेलियाबाट एनसेलमा आउनु पर्ने १५ प्रतिशत र टेलियाबाट राज्यकोषमा प्रत्यक्ष रुपमा आउनु पर्ने बाँकी १० प्रतिशत राजश्व नेपाल बाहिर नै जाने खतरा बढेको बिभाग स्रोतको ठम्याई छ । विदेशी लगानी कम्पनीले गरेको कारोवार भएको हुनाले यसले नेपालमा कानुन अस्पष्ट भएको भन्ने नकारात्मक सन्देश विश्वबजारमा जाने स्पष्ट देखिन्छ । यो कम्पनी देशकै सबभन्दा ठूलो करदाता पनि हो । हाल सम्म एनसेलले १२९ अर्ब राज्यलाई विभिन्न शीर्षक अन्तर्गत राजश्वमा बुझाएको छ र गत आर्थिक वर्षमा मात्र २८ अर्ब रुपैयाँ भन्दा बढि राजश्व बुझाएको थियो ।
देशभित्र आउनु पर्ने पैसा विदेशिएर देशभित्रकै कम्पनीबाट कर असुल्दा विधिको शासन भएको र राज्यले जितेको ठहरिदैन । चुरो कुरो, कानूनी अस्पष्टताले ल्याएको यो विवाद कानूनी स्पष्टताबाटै समाधान गर्नुपर्छ । देशमै रहने र निरन्तर अर्थतन्त्रलाई योगदान दिनसक्ने देशकै ठूलो ब्राण्ड एनसेललाई विरोध गरेर, बदनाम गरेर वा धरासायी गरेर कसैको तुष्टि त पुरा होला तर देशलाई लाभ भने नहुने कर कानून र लगानीकर्ताहरु वताउँदछन् ।
कानुनतः अब बाँकी १० प्रतिशत कर असुल गर्नका लागि असार मसान्त सम्मको समय रहेको छ र त्यो कर भने सरकारले लाभकर्ता टेलियासोनेरासंग लिनुपर्ने हुन्छ । तर टेलियासोनेराले आफुले नेपालमा कुनै कर तिर्न नपर्ने इंकित गरिसकेको छ । उसले नर्वे सरकारको नेपालसँग दोहोरो कर उन्मुक्ति सम्झौता रहेको र तिर्न पर्ने अवस्थामा नर्वेमा नै तिर्ने जनाएको समाचारहरु पनि आएका छन् । यसले कानूनी अन्यौलता अझै कायमै रहेको देखाएको छ सरकारले यस विषयमा विवाद गर्नु भन्दा अब विदेशी लगानीका सम्वन्धमा देखिएको यो कानूनी अन्यौलतालाई स्पष्ट हुने गरि कर ऐन संशोधन गरेर भविष्यमा आउने यस्ता समस्याको समाधान खोज्नु पर्छ । अहिले देखिएको विवादमा टेलियासोनेरालाई उन्मुक्ती दिँदा नै नेपालमा विदेशी लगानीका लागि नराम्रो कानून छैन भन्ने सन्देश दिनु पर्दछ ।
विभागकै अर्का एक अधिकारीका अनुसार चैत मसान्तमै टेलियासोनेराले पूर्ण भुक्तानी लिएर नेपाल छोड्योे । कारोबार सम्पन्न भएपछि मात्र कर प्रशासनले टेलियासोनेरालाई लाभकर लाग्ने मनसायको सहित पत्राचार गरेपछि करको मुद्दा जटिल बन्यो । कर लाग्ने अवस्थामा खरिदकर्ताले बिक्रेतालाई भुक्तानी गर्दा १५ प्रतिशत करकट्टि गरेर त्यसलाई अग्रिम करको रुपमा एनसेल मार्पmत बुझाउनु पथ्र्यो तर समय घर्किसकेको थियो ।
कर कानुन अनुसार लाभकर भनेको शेयर र सम्पति बिक्रि गर्दा भएको खुद लाभमा लाग्ने कर हो । यहाँ एनसेल भनेको दुई पक्षहरु बीच खरिदबिक्री गरिएको छुट्टै कम्पनी रेनल्ड्स् होल्डिङ्गस्को अधिनमा रहेको सम्पत्ति, व्यवसाय हो । यो कारोबारमा टेलियाले एनसेल नभई नेपाल बाहिर रहेको रेनल्ड्स् बेचेको हो । एनसेलको प्रत्यक्ष स्वामित्व रेनल्ड्स्मा हिजो जसरी रहेको थियो आज पनि त्यस्तै छ । रेनल्ड्स्को साहुजी भने परिवर्तन भएका हुन् । नेपाल बाहिर स्थित कम्पनी भएकोले रेनल्ड्स्को कारोबार स्वभाविक रुपमा नेपाल बाहिर नै भयो र त्यसैले यसमा नेपालमा लाभकर असुल गर्न कानूनीरुपले समेत मिल्दैन भन्ने कानूनविदहरुले तर्क गरिरहेका छन ।
कर कार्यालयले टेलियासँग लाभको विवरण माग्नु स्वभाविक थियो । कर लाग्ने अवस्थामा यस्तो विवरण बुझाउने दायित्व विक्रेताकै हुन्छ किनभने रेनल्ड्स्मा कति लगानी भएको छ र बिक्री गर्दा विशुद्ध लाभ कति भयो भनेर देखाउने खातापाता टेलयासँगै रहन्छ । यो डिटेल रेनल्ड्स् अन्तर्गतको निकाय एनसेलसँग रहँदैन ।
टेलियाले नेपालमा कर नलाग्ने भएकोले लाभको विवरण बुझाउन आवश्यक नरहेको जवाफ दिएपछि कर कार्यालयले एनसेललाई नै लाभको गणना गर भनेको थियो । एनसेलले यहि तथ्य जिकिर गर्दै टेलियासँग समन्वय गरेर कागजात लिई लाभ गणना गर्नुपर्ने भएकोले थप समय पाउँ भन्दै असार मसान्तसम्मको समय मागेको थियो ।
कर कार्यालयले समय थप्न अस्विकार गरेपछि एनसेलले नर्वेको कम्पनी रजिष्ट्रार कार्यालयलाई टेलिया नर्वेले बुझाएको आधिकारिक वित्तिय विवरणका आधारमा लाभ गणना गरेर दिईएको समयभित्रै १५ प्रतिशत अग्रिम कर भुक्तानी गरेको थियो ।













