काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले साउन १ गते ४८ औं वार्षिकोत्सवको अवसर पारेर बजारमा दुई किसिमका नयाँ उत्पादन ’डिडिसी स्पेसल टि मिल्क’ र गाइभैसीका लागि नयाँ पशु आहारा दाना ल्याएको छ । डिडिसीले चिया पकाउनका लागि छुट्टै प्रकारको टि मिल्क ल्याउन लागेको छ । बजारमा दुध सम्बन्धि अनुसन्धान गरी पसलहरुको चाहना अनुसार यो दुध बजारमा ल्याइएको दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक डा.इश्वरी प्रसाद अधिकारीले बताएका छन । यो दुधमा चिल्लो पदार्थ कम हुने र अरु दुधभन्दा बाक्लो हुने अधिकारीले जानकारी दिएका छन । अरु सामान्य दुधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत रहेको हुन्छ भने ‘स्पेसल टि मिल्क’ नयाँ दुधमा १.५ प्रतिशत मात्र चिल्लो पदार्थ रहेको छ । साथै यो दुध बाक्लो पनि छ जसका कारण धेरै कप चिया बनाउन सकिने डा.अधिकारीले जानकारी दिएका छन । यसमा प्रोटिन, कार्वोहाइड्रेड, मिनिरलका साथै अरु विभिन्न किसिमका पैष्टिक तत्वहरु रहेका छन् ।
यस्तो दूध चिया र कफी लागि उपयुक्त हुने र स्वाद पनि मिठो हुन्छ । दूधमा सोलिड नट फ्याट(एसएनएफ) र फ्याट हुन्छ । चियाका लागि एसएनएफको मात्रा बढाउने र फ्याटको मात्रा घटाएर बिक्री गर्ने प्रचलन छ । संस्थानले पनि एसएनएफको मात्रा बढाएर फ्याटको मात्रा डेढ प्रतिशतमा झारेर यो दूध बजारमा ल्याएको हो । फ्याटको मात्रा घटाएर एसएनएफको मात्रा बढाउने वित्तिकै दूधको मूल्य घट्छ भने दूध बाक्लो हुन्छ । अहिले बजारमा आइरहेको दूधमा एसएनएफको मात्रा ८ र फ्याटको मात्रा ३ प्रतिशत हुनुपर्ने प्रावधान छ । संस्थानले चियाका लागि ल्याएको दूधमा एसएनएफको मात्रा ९ प्रतिशत र फ्याटको मात्रा डेढ प्रतिशत मात्रै छ । बजारमा विक्रि भएको अरु दुधको मूल्य ६४ रुपैंया प्रति लिटर रहेको छ भने यो दुध ६० रुपैंया प्रति लिटरमा पाइने अधिकारीले बताएका छन ।
गाई भैंसीका लागि दाना उत्पादन सुरु
दुग्ध विकास संस्थानले हेटौंडाको सिसौधारीमा गाई भैंसीलाई खुवाइने पशु आहारा दाना उत्पादन पनि सुरु गरेको छ । किसानहरुलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन वृद्धि गर्ने लक्षका साथ दाना उत्पादन सुरु गरेको हो । संस्थानले कृषि मन्त्रालय अन्तर्गत रहेको रुग्ण उद्योगलाई २५ बर्षका लागि लिजमा लिएर दाना उद्योग बनाएको हो । दुग्ध विकास संस्थानले कारखानको सम्पूर्ण भौतिक संरचनाको मर्मतका साथै नयाँ मेसिन खरिद गरी उत्पादन थालेको छ । दुग्ध विकास संस्थानले कारखानामा चाहिने जेनेरेटर लगायतका अरु सामाग्रीहरु पनि किनिसकेको जनाएको छ । कुल तीन करोडको लगानीमा संस्थानले यो दाना उद्योग सञ्चालनमा ल्याएको हो ।
एक घण्टामा पाँच क्विन्टल दाना उत्पादन गर्ने लक्ष राखेको सो उद्योगमा चाहे अनुसारको परिमाणमा दाना उत्पादन गर्न सकिनेछ । संस्थानले विशेषगरी देशभरीका दुध बेच्ने १२ सय कृषि सहकारीलाई लक्षित गर्दै यसको स्थापना गरेको जनाएको छ । संस्थानले दानाको मुल्य प्रतिकेजी ३१ र ३३ रुपैयाँ निर्धारण गरेको छ । थोरै परिमाणमा किन्न आउनेका लागि ३४ रुपैंया र एक क्विन्टलभन्दा धेरै किन्नेका लागि ३१ रुपैंया प्रति के.जीमा दाना उपलब्ध गराउने पनि जानकारी दिएका छन ।
दुग्ध विकास संस्थानले चालू आर्थिक वर्षमा ६ करोड रुपैयाँभन्दा बढि मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थानमा भएको व्यवस्थापकिय सुधार र चुवाहटलाई न्युनिकरण गरेर नै संस्थान विगत वर्षदेखि मुनाफामा गएको हो । नियमित रुपमा घाटामा गएको दुग्ध विकास संस्थानले चुहावटलाई नै नियन्त्रण गर्दा यो मुनाफा आर्जन गर्न सफल भएको हो । दुग्ध विकास संस्थानले आर्थिक वर्ष २०७१÷०७२ मा पाँच करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष उक्त नाफाको रकम वृद्वि हुने डिडिसीले दाबी गरेको छ ।













