काठमाडौँ । पञ्चहरुको पार्टी राप्रपा नेपाल र राप्रपाको पार्टी एकता प्रचण्ड सरकारमा जाने कि नजाने विवादले तत्काल पार्टी एकता नहुने स्थितिमा पुगेको छ । पूर्व निर्धारित योजना अनुसार गत साउन १६ गते दुवै पार्टीका एकताका लागि दुवै पार्टीको केन्द्रीय समितिबाट अनुमोदन गर्ने कार्य सूची थियो तर त्यो हुन सकेन । राप्रपाका अ ध्यक्ष लोकेन्द्रबहादुर चन्दले पूर्व सहमति अनुसार पशुपति शमशेर राणालाई पार्टी अध्यक्ष पद हस्तान्तरण नगरेकाले पनि र भावी सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद देखिएकाले राप्रपा एकता भाँडिन पुगेको छ ।
राप्रपाका अध्यक्ष राणा गणतन्त्र र संघीयताका पक्षमा अडिग छन तर चन्द भने संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्रका पक्षमा खुलेरै लागेका छन । राप्रपाले संस्थागत रुपमै गणतन्त्र र संघीयता स्वीकार गरेको छ । तर केही नेता भने संवैधानिक राजतन्त्र पक्षधर पनि छन । राप्रपा नेपालले भने संघीयताका, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता मूख्य एजेण्डा स्वीकार गर्न सकेको छैन । यो विवाद आगामी चैतसम्म हुने एकता महाधिवेशनबाट टु¥याउने भन्दै अहिले यी एजेण्डाहरुमा सैद्धान्तिक फरक मत राख्दै पार्टी एकता गर्ने तयारी गरेको थियो । राप्रपा नेपालले संवैधानिक राजतन्त्र, प्रादेशिक स्वायत्तता र विकेन्द्रीकरण तथा हिन्दु राष्ट्र जस्ता पुरातन र यथास्थितिवादी एजेण्डा बोक्दै आएको छ । राप्रपालाई एक गराएर हिन्दु राष्ट्र फर्काउँदै कुनै रुपको भएपनि राजतन्त्र फर्काउन पूर्व राजा ज्ञानेन्द्र शाह पनि गोप्य रुपमा पूर्व पञ्च र राजावादी शक्तिहरुलाई एउटै पार्टी बनाउन लागि परेको चर्चा छ । राप्रपाका अध्यक्ष राणाले राप्रपा नेपाल हिन्दु गणतन्त्रका पक्षमा नआएसम्म एकता सम्भव नभएको बताउँदै राप्रपा नेपालले संघीयता, गणतन्त्र स्वीकार्नु पर्ने नयाँ शर्त अघि सारेका छन । यसमा राप्रपा नेपालले भने एकताका नाममा सिद्धान्तलाई तिलाञ्जली दिन नसकिने बताउँदै एकता भाँडन उद्दत भएका छन । राप्रपा सरकारमा जाने पक्षमा छ भने राप्रपा नेपाल प्रतिपक्षमा ।
यसले पनि एकतालाई अप्ठेरो पारेको छ । राप्रपाबाट मन्त्री बन्न सुनिलबहादुर थापा, दिपक बोहरा, विक्रमबहादुर पाण्डेहरु समेत लागि परेका छन । तर राप्रपा नेपाल भने यस पटक प्रचण्ड सरकारमा नजाने पक्षमा छ । विधान पारित गरेपछि पार्टी एकता भएपनि राप्रपा नेपालबाट आएका सांसदहरु सरकारमा नजाने स्थिति बन्न सक्छ तर राप्रपा नेपालका दिलनाथ गिरी मन्त्री हुन खोजिरहेका छन स्रोतले भन्यो ।













