वसन्त रानाभाट
स्पेनमा दिनानु दिन नेपालीहरुको संख्या बढ्दै गए पछि,यहाँ स्थित नेपालीहरु माँझ देखा परेका समस्याहरुका कारण दिन प्रतिदिन हैरानी ब्यहोर्नु पर्ने बाध्यताहरु रहेका छन् । फ्रान्स स्थित नेपाली राजदुताबास पेरिसले, स्पेनलाई पनि हेर्दै आएको भए पनि नेपालीहरुको बढ्दो चापका कारण उचित सम्बोधन हुन सकेको छैन । लामो समय देखि बिभिन्न कालखण्डमा स्पेन स्थित नेपाली समुदाय,लगायत राजनीतिक,जातीय क्षेत्रीय संघ संगठनहरु लगायत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाउँदै आएका छन् । आफ्ना नागरिक भएका मुलुकहरुमा नेपाली दुतावास स्थापना गर्ने सरकारको दायित्वलाई मात्र नहेरी, स्पेनमा दुतावास स्थापना गरे, आर्थिक संकटमा परेको नेपाल सरकारले कसरी आर्थिक रुपमा पनि फाईदा लिन सक्छ भन्ने बिषयमा केहि तथ्य गत आधारहरु छन् । यस्तै दुतावास स्थापना गरेर यहाँको नेपाली समुदायलाई हुने फाईदा,समस्या समाधान लगायत नेपाल सरकारले स्पेनमा कुटनीतिक सम्बन्ध स्थापित गरेर नेपाल सरकार र नेपाली समुदायलाई हुने फाईदाका बिषयमा पनि तल बुदाँगत रुपमा प्रस्तुत छ ।
स्पेनको संक्षिप्त परिचय
स्पेन दक्षिण पश्चिमी युरोपमा अवस्थित एक देश हो । यो देश आइबेरियाली प्रायद्वीपमा पोर्चुगलको पूर्व तथा उत्तरमा पर्दछ भने यसको उत्तर पूर्वमा फ्रान्स पर्दछ । रोमन कालमा यसलाई स्पानिया भनिन्थ्यो । औपनिवेशिक राष्ट्रहरू मध्ये यो पनि एक प्रमुख राष्ट्र थियो । यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउँलाई आफ्नो उपनिवेश बनाएको थियो । स्पेनका प्रमुख भाषाहरू, स्पेनी (एस्पान्योल),कातालान,बास्क आदी रहेका छन् । स्पेन फुटबलका लागि निकै लोकप्रिय रहेको छ । बिश्वका चर्चित तथा धनी फुटबल क्लबहरु स्पेनमा नै रहेका छन् । स्पेनको क्षेत्रफल ५ लाख ५ हजार ९ सय ९० बर्ग किलोमिटर रहेको छ । भने सन् २०१५ सम्ममा ४६ मिलियन भन्दा बढी जनसंख्या पुगिसकेको अनुमान छ ।
स्पेन युरोपियन युनियन तथा सेन्जेन राष्ट्र मध्येको एक शक्तिशाली मुलुक मानिन्छ । स्पेनमा आप्रबासीहरु सम्बन्धि खुकुलो नीति भएका कारण,दक्षिण अमेरिकी मुलुकहरु अर्जेटिना,बार्जिल, चिली,पाराग्वे लगायत दक्षिण एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल यस्तै अफ्रिकी मुलुकहरुबाट पनि थुप्रै आप्रबासीहरु बसोबास गर्दै आएका छन् । सन् २०१४ को तथ्याङ्क अनुसार स्पेनमा करिब ४६ लाख ७६ हजार २२ जना अर्थात जम्मा जनसंख्याको १० प्रतिशत मानिसहरु आप्रबासीहरु रहेका छन् ।
स्पेनमा नेपालीहरुको बसोबास
स्पेनमा धेरै लामो समय देखि नेपालीहरु बसोबास गर्दै आएको तथ्याङ्क नभेटिए पनि सन् २००० पछि भने ठुलो संख्यामा नेपालीहरु बसोबास गर्दै आएको पाईन्छ । बिशेष नेपालको द्वन्दकालको समयमा युरोप छिरेका नेपालीहरु,युरोपका अन्य मुलुकहरुमा बसोबासका सहज नभए पछि स्पेन छिर्न थाले । स्पेनमा अबैधानिक रुपमा बसोबास गर्नेहरुलाई डिपोर्ट नगर्ने, उल्टै बसोबास गरेको ३ बर्ष पछि सबै प्रकिया पुरा गरे पछि रेसिडेन्सी कार्ड दिने हुँदा पछिल्ला बर्षहरुमा नेपालीहरु संख्या बढेको हो ।
सन् २००० पछि हाल सम्म करिब १६ वर्षको अवधिमा करिब १० हजार नेपालीहरु स्पेनमा बसोबास गर्दै आएको अनुमान छ । सन् २००० अघि पनि सानो संख्यामा नेपालीहरु स्पेनमा बस्दै आएका थिए। स्पेनमा नेपालीहरु बैधानिक तथा अबैधानिक रुपमा (रेसिडेन्सी पाउँने प्रकिया) मा रहने हुँदा पनि, यकिन तथ्याङ्क संकलन गर्न मुस्किल देखिएको हो । बार्सिलोना, पाईस भास्को, कमुनिदाद भालेन्सियाना, ग्रान क्यानारिया (क्यानारियन टापु), मड्रिड, मायोर्का, मालागा लगायतका स्पेनमा अन्य सहरहरुमा गरी करिब १६ हजार नेपालीहरुको बसाई रहेको अनुमान गरिएको हो ।
परिबार पनि ल्याउँन पाईने हुँदा,संख्या बढ्दै
स्पेनमा रेसिडेन्सी कार्ड बने पछि परिबार पनि ल्याउँन पाईने हुँदा नेपालीहरुको संख्या दिनानु दिन बढ्दै गएको हो । कार्ड बनिसके पछि पति भए आफ्नो पत्नी सहित १८ बर्ष मुनिका सबै छोराछोरीहरुलाई यतै बोलाउँन पाईने प्राबधान छ । वा कार्ड पाएको पत्नी भए पनि आफ्नो श्रीमान सहित छोराछोरी ल्याउँन पाईने अधिकार स्पेन सरकारले दिएको छ । यही प्रक्रियालाई नै यहाँको समुदायले परिबार पुनर्मिलनको प्रकिया भन्दै आएको छ । एउटा ब्यक्ति बैधानिक बने पछि लगभग ४(५ को संख्यामा रहने आफ्नो परिबार नै स्पेन बोलाउँने क्रम बढेकोले नै यहाँको अनुमानित संख्या १० हजार पुगेको हो। आउँदा दिनमा यो क्रम अझै बढ्ने निश्चित छ ।
स्पेनमा रहेका नेपालीहरु
बैदेशिक रोजागारको सिधै स्पेनमा छिरेकाहरु नेपालीहरु (कामको कन्ट्राक गरेर), अध्ययनका लागि युरोप आएका तर सहज नभए पछि स्पेन छिरेका बिद्यार्थीहरु, छोटो समयमा पर्यटन भिसामा अन्य देशको सेन्जेन भिसा लिएर फेरि यतै भित्रिएका नेपालीहरु,सोझै स्पेनका कलेज तथा युनिभर्सिटीमा आएका नेपाली बिद्यार्थीहरु नै यहाँ बसोबास गर्ने नेपालीहरुको संख्या हो । यिनै नेपालीहरु आफु बैधानिक बने पछि ठुलो संख्यामा दोस्रो पुस्ताका नेपालीहरु भित्रिएका छन् । यस्तै कतिपय नेपाली बालबालिकाहरु स्पेनिस नागरिकहरुका धर्मपुत्र वा धर्मपुत्री बनेर, बर्षौ पहिले देखि स्पेन आएको पनि भेटिन्छ । यसरी आएका नेपालीहरु कतिपयले नेपाली भाषा बोल्न नसक्ने वा कतिपय अलि अलि मात्र बोल्न सक्ने भेटिन्छन् । स्पेनमा हाल नेपालीहरुले आफ्नै रेष्टुरेन्ट (नेपाली तथा बाह्य खाना) नेपाली हस्तकला ग्रामेन्ट, किनारा दोकान (आलमान्तासियो) आदिमा लगानी गरेको पाईन्छ । यो साह्रै थोरैको संख्यामा छ । तर बाँकी नेपालीहरु भने मजदुरी गरेर नै जिबिको पार्जन गरेको पाईन्छ । रेष्टुरेन्ट, होटल, सोभिनियर, केयरगिभर, आलमान्तासियोहरुमा नै यहाँका नेपालीहरुले काम गरेको पाईन्छ । नेपालबाट आफ्ना बाबुआमा सँग आएका केहि बिद्यार्थीहरुले यतैको भाषा सिकेर अध्ययनलाई पनि निरन्तरता दिएका छन् । पछिल्लो क्रममा केहि बिद्यार्थीहरु एरोनोटिक ईन्जिनियरीङ्ग पुरा गरेर त्यही क्षेत्रमा पनि काम गरेका छन् ।
पेरिस दुताबाससँगको सम्बन्ध
नेपाल सरकारले सन् १९६७ मा फ्रान्स स्थित पेरिसमा कुटनीतिक सम्बन्ध जोडेको सबैलाई अबगत नै छ । दुतावासको स्थापना पनि हजारौ फ्रान्सेली नागरिकहरु बर्षेनि नेपालको भ्रमण गरिरहेका छन् । हिमाल प्रति मोह राख्ने उनीहरु बिषय गरी नेपालको प्राकृतिक मोहबाट ज्यादै लोभिएको पाईन्छ । पेरिसमा स्थापना भएको दुतावासले फ्रान्सलाई मात्र हैन स्पेन, पोर्चुगल, ग्रिसलाई पनि हेरेको छ । फ्रान्समा भन्दा स्पेनमा नै बढी नेपालीहरु भएको कारण ज्यादा समय यतै नेपालीहरुका समस्यासँग जुधेको पाईन्छ । यहाँ स्थित नेपालीहरुले दुतावास नै अर्को मुलुकमा भएका कारण सहज र सरल रुपमा लिन पाएका छैनन् जसको बुदाँगत चर्चा तल उल्लेख गरिएको छ । पेरिस दुतावासले आफ्नो क्षमताले दिदै आएको सुबिधा प्रति यहाँको समुदाय नेपाल सरकार प्रति आभारी रहेको छ ।
दुतावास स्थापना गर्नु पर्ने कारणहरु
स्पेनमा दुताबास स्थापना गर्नु पर्ने थुप्रै कारणहरु छन् । करिब १० हजारको संख्यामा आफ्ना नागरिकहरु बसोबास गर्ने मुलुकमा उनीहरुका समस्यालाई सम्बोधन गर्न,भई परी आउँने घटनाहरुमा अभिभाबकको जिम्मेबारी निर्बाह गर्न पनि दुताबासको आबश्यकता रहेको छ । अर्को तर्फ स्पेनबाट बर्ष्नि हजारौको संख्यामा पर्यटकहरुको संख्या नेपाल भित्रिने गरेको नेपाल सरकारले नै प्रस्तुत गरेको आँकडामा स्प्रष्ट छ । स्पेनको लगानी नेपाल भित्राउँन, नेपालमा उत्पादित सामानहरुको स्पेनमा ब्यापार बिस्तार गर्न, फुटबलले ईतिहास रचेको देख्दा खुशी हुने हामी नेपालीहरु बीच नेपाली खेलाडीहरुलाई स्पेनमा ब्यबसायिक फुटबल खेलाउन र अनुभव आदान–प्रदानको बाटो खुलाउन पनि नेपाल सरकारले स्पेनमा कुटनीतिक सम्बन्ध स्थापित गर्न जरुरी छ ।
दुतावास स्थापनास् नेपालीहरुलाई समस्याका कारण
राजदूतावास नहुँदा स्पेनलाई पनि फ्रान्सस्थित नेपाली दूतावासले हेर्दै आएको छ । पोर्चुगल, ग्रीस लगायतका अन्य मुलुकलाई पनि हेर्नुपर्ने हुँदा फ्रान्स दूतावासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन । एमआरपी पासपोर्ट बनाउन, वारेसनामा लगायतका कागजात बनाउन लामो समय कुर्नुपर्ने झन्झट छ । फारम बिग्रदा, पासपोर्ट गलत बनेर आउँदा पटक–पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुँदा स्पेनबासीले हैरानी ब्यहोरेका छन् । एमआरपी पासपोर्ट बनाउन पठाईएको फारम फ्रान्समा लामो समय सम्म रोकिने, नयाँ पासपोर्ट बनेर आएपछि फेरि पेरिसमा नै सम्पर्क गरेर कुरियर मार्फत पठाउँदा लामो समय लाग्ने, यो बीचमा फेरि फारम भर्दा गलत वा फोटो नमिलेको खण्डमा त पासपोर्ट बन्न एक वर्ष नै कुर्नुपर्ने बाध्यता छ । अवैधानिक रुपमा यहाँ रहेकाहरुलाई अफिसियल कामको लागि पासपोर्ट नै जरुरी भएकोले पनि लामो समय कुर्नुपर्दा समस्यामा परेको देखिन्छ । त्यसमाथि पनि कहिलेकाँही बनेका पासपोर्टमा नाम थर वा ठेगाना गलत भएर आईदिदा झनै ठूलो हैरानी ब्यहोर्नु परेको छ । वैधानिक रुपमा बस्ने र काम गर्ने अधिकार पाईसकेपछि आफ्नो श्रीमती र नाबालक छोराछोरीलाई पनि आफूसँगै राख्न पाउने अधिकार स्पेन सरकारले दिएको छ । तर यसको लागि कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ जो स्वाभाविक पनि हो । तर नेपालमा रहेका परिवारले सबै प्रकिया पूरा गर्न दिल्लीस्थित स्पेनिस दूताबासमा जानुपर्ने हुन्छ । बत्तीसपुतली काठमाडौमा रहेको स्पेनिस कन्सुलेटको कार्यालयबाट कम्तिमा यिनै कागतपत्र दिल्लीस्थित दूताबासमा पठाउन सक्ने ब्यवस्था गर्न सकियो भने पनि दिल्ली धाइरहनु पर्ने थिएन । नेपाल सरकारले चासो राखेर स्पेन सरकारसँग कुटनीतिक पहल गर्न सकेको खण्डमा यो प्रक्रिया सम्भव पनि छ । यसको लागि स्पेनको दुताबास काठमाडौमा तत्काल नखोलिए पनि यदी नेपाली दुताबास स्पेनमा आए यो बिषयमा कुटनीतिक बहस गर्दै समस्या समाधान गर्न सकिन्छ । दिल्लीस्थित स्पेनिस दूतावासमा परिवारले मेडिकल रिपोर्ट पेश गर्दा नेपालका कुनै पनि प्राईभेट वा सरकारी जुन अस्पतालबाट रिपोर्ट लगे पनि मान्य हुँदैन। मेडिकल रिपोर्ट भारतकै अस्पतालबाट बनाउनु पर्ने बाध्यता छ । अझ दूताबास नजिकै रहेका दिल्लीका अस्पतालहरुमा रिपोर्ट बनाउन रिफर गरिन्छ । नेपालको मेडिकल र अस्पतालहरुको मान्यता नदिंदा नेपाल र नेपाल सरकार कै बेइज्जत गरेको अबस्था छ । अर्कोतर्फ परिबार पुनर्मिलनको प्रक्रियामा डकुमेन्ट ट्रासलेट पनि उतै गर्नुपर्ने, नेपालमा ट्रासलेट गरिएका डकुमेन्टहरुलाई मान्यता नदिइने गरिन्छ । यी सबै कुराहरुले नेपाल र नेपाल सरकारलाई नै अपमानित गरेको छ । केहि बर्ष पहिले मेडिकल रिपोर्ट अनि स्पेनिस भाषामा गरिने डकुमेन्ट ट्रासलेट नेपालमा गरिए पनि मान्यता दिइने गरिन्थ्यो तर अहिले यसलाई मान्यता नदिनुको पछाडि आर्थिक कारोबार पनि हो । नेपालीहरु खर्च गरिगरि दिल्ली धाउँदै मेडिकल अनि ट्रासलेटको लागि पनि भारतमा नै खर्च गर्नुपर्ने बाध्यतात्मक परिस्थिति सृजना गरिएको छ । यी सबै कुटनीतिक सम्बन्ध स्थापित गरेर समाधान गर्न सकिने देखिन्छ।
दुतावास स्थापना स् सरकार आफैले फाईदा लिन
नेपाल सरकारले स्पेनमा दुतावास स्थापना गरेको धेरै किसिमका फाईदाहरु उठाउँन सक्छ । बिशेष गरी धेरै भन्दा धेरै पर्यटकहरु नेपाल भित्राउँन सक्छ । अर्को तर्फ नेपालमा शैक्षिक, स्वास्थ, खेलकुद, ब्यापार ब्यबसाय जस्ता क्षेत्रहरुमा अनुभव साटासाट तथा सम्बन्ध स्थापित गर्न सफल हुने देखिन्छ ।
ठुलो संख्यामा पर्यटक भित्रने निश्चित
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको आफ्नै तथ्याङ्क अनुसार सन् २०१४ मा मात्र १३,११० जना स्पेनिस पर्यटकहरु हवाई यात्रा मार्फत नेपाल पुगेका छन्। भारत हुँदै स्थलगत रुपमा नेपालमा पुगेका स्पेनिसहरुको संख्यालाई जोड्दा अझ ठुलो सख्या देखिन्छ ।
सन् २००३ – ८,२६५ जना, सन् २००४ – ११,७६७ जना सन् २००५ – ८,८९१ जना सन् २००६ – १०,३७७ जना सन् २००७ – १५,६७२ जना सन् २००८ – १३,८५१ जना सन् २००९ – १३,००६ जना सन् २०१० – १३,७१२ जना सन् २०११( १६,०३७ जना सन् २०१२( १४,५४९ जना सन् २०१३ – १०,४१२ जना सन् २०१४ – १३,११० जना सन् २००३ देखि सन् २०१४ सम्म नेपाल पुगेका स्पेनिसहरु तथ्याङक हेर्दा यो अबधिमा करिब १ लाख ५० हजारको संख्या स्पेनिसहरु नेपाल पुगेका छन् । सन् २०१४ मा नेपाल पुगेका स्पेनिसहरुको संख्या भारत बाहेक तेस्रो मुलुकबाट नेपाल भ्रमण गर्ने पर्यटकहरुको ५ प्रतिशत हो । सन २०१४ को तथ्याङकलाई हेर्दा स्पेनबाट ०१४ को अगष्टमा मात्र ३ हजार ८५ जना पर्यटकहरु नेपाल पुगेका छन् ।
यस्तै अप्रिल, जुलाई, सेक्टेम्बर, अक्टोबर र नोभेम्बरमा पत्येक महिना १ हजार भन्दा बढी स्पेनिसहरु नेपाल पुगेका छन् । तर अन्य महिनाहरुमा भने ५ सय देखि १ हजारको बीचमा नेपाल पुगेको देखिन्छ । अन्य दुताबास स्थापना भएका युरोपियन मुलुकहरु बेल्जियमबाट ५४३७,डेनमार्क ५४३७, स्बिजरल्याण्ड ६४४७ को संख्यामा छन् । भने स्पेनमा दुतबास स्थापना गर्न सके कति पर्यटकहरुलाई नेपाल जान प्रेरित गर्न सकिन्थ्यो ? यो ज्यादै गम्भिर प्रश्न हो । सन् २०१४ को आकाडा अनुसार साना ठुला हिमाल चढ्ने स्पेनिसहरुको संख्या १ सय १९ रहेको छ । जसमध्ये २७ महिना र ९२ जना पुरुष रहेका छन् । यो सन् २०१४ को आकाडा मात्र हो । तुलनात्मक रुपमा स्पेन संसारभरका मुलुक मध्ये नेपाल पुगेर हिमाल चढ्नेमा ७ नम्बरमा रहेको छ । यस्तै सन् २०१४ कै आँकडामा नेपाल माउन्टेरिङ्ग एसोसिसनबाट अनुमति लिएर स्पेनबाट ५४ बटा गुप्रका २७१ जनाले २२९५० डलर रोयल्टी बुझाएको त्थ्याइङ्ग छ। जुन कुल ५,१५,६४५ डलरको एक ठुलो हिस्सा हो । स्मरण रहोस गैर आवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा एनआरएनए स्पेनले आयोजना गरेको पर्यटन प्रबद्र्धन सम्बन्धी कार्यक्रममा सगरमाथा आरोहण गर्नेलाई सम्मानित गर्ने कार्यक्रममा, करिब १ सयको संख्यामा त सगरमाथा आरोहण गरेका स्पेनिस आरोहीहरुको आँकडा आएको थियो ।
नेपाललाई अनुदान सहयोगको सम्भावना
औपनिवेशिक राष्ट्रहरू मध्ये यो पनि एक प्रमुख राष्ट्र स्पेन थियो। यो राष्ट्रले दक्षिण अमेरिकामा ब्राजिल बाहेक सबै ठाउँ तथा मध्य अमेरिका र उत्तर अमेरिकाका धेरै ठाउँलाई आफ्नो उपनिवेश बनाएको थियो । स्पेनले हरेक बर्ष दक्षिण अमेरिकी मुलुकहरुमा अरबौ सहयोग गर्दै आएको छ । नेपाल जस्तो मुलुक,जहाँ बर्षेनि हजारौ पर्यटकहरु जान्छन, यदी कुटनीतिक सम्बन्ध राम्रोसँग स्थापित गर्न सकेको खण्ड, यस्तै किसिमको सहयोग नेपालमा पनि भित्राउन सकिने संम्भाबना देखिएको छ । स्पेनले जसरी कृषि र प्रर्यटन क्षेत्रलाई बिकास गर्न सकेको छ, यही क्षेत्रको बिकासको लागि लगानी भित्राउन सके नेपाललाई पनि फाईदा पुग्ने देखिन्छ ।
स्पेनको प्रान्तीय सरकार (कातोलोनिया) सँगको सम्बन्ध
स्पेनका नेपालीहरु बिशेष त कातालोनिया क्षेत्रमा बसोबास गर्दै आएका छन् । यहाँको प्रान्तीय सरकार नेपाल सरकारसँग सम्बन्ध प्रगाढ गर्न आतुर देखिएको छ । स्पेनको प्रान्तीय सरकार (कातोलोनिया) नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न ईच्छुक देखिएको छ। मेडिकल क्षेत्रमा छात्रवृद्धि प्रदान गर्न, तालिम तथा स्वास्थ्यकर्मी बीच अनुभब आदानप्रदान जस्ता कार्यक्रम ल्याउन तयार रहेको छ । नेपाल सरकारका अधिकारीहरुले हस्ताक्षर गरि प्रपोजल तयार गरे कातोलोनियाका स्वास्थ्य अधिकारीहरु सम्बन्ध बिस्तार र सहयोग आदानप्रदानको बाटो खुलाउने सदैब तयार रहेका छन्। स्पेनले साउथ अमेरिका र अफ्रिकी मुलुकहरुमा स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ ।
ब्यबसायी सम्बन्ध प्रगाढ बनाउनका लागि
बार्सिलोना स्थित उद्योग ब्यबसायीहरुको सञ्जाल कामारा दे कमरसियो दे बार्सिलोना, नेपाल उद्योग बाणिज्य महासंघसँग छलफल गर्न तयार रहेको छ । आपसी सम्बन्ध बिस्तार हुन सकेमा लगानी मैत्री बाताबरणको सृजना दुई मुलुक बीच हुन सक्ने प्रचुर सम्भावना रहेको छ । उदाहरणका लागि गैर आवासीय नेपाली संघको सातौ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनमा स्पेनको टिम छलफलको लागि तयार रहे पनि, नेपालबाट प्रतिनिधिहरु आउन नसक्दा सम्बन्ध बिस्तार हुन सकेन। अझ स्पेनमा दुताबास नै स्थापना भएमा सबै खाले सम्बन्ध स्थापित गर्दै लगानी मैत्री बाताबरण बनाउन सकिने देखिन्छ ।
नेपाली फुटबल खेलाडीहरुलाई ब्यबसायी बनाउन
स्पेनलाई फुटबलको देश भनेर चिन्ने गरिन्छ । चाहे अर्जेटिनाका लियोंनल मेसी हुन् वा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो वा यी फुटबलर जस्तै सपना बोकेका खेलाडीहरुको सपना स्पेन छिर्ने हुन्छ । संसारका चर्चित फुटबल क्लबहरु रियल म्याड्रिड र बार्सिलोना जस्ता फुटबल क्लबहरु रहेको स्पेनमा सम्बन्ध स्थापित गरेका हाम्रो देशका फुटबल खेलाडीहरुको सपनालाई साकार पार्न किन कन्जुस गर्ने ? नेपाल सरकारले कुटनीतिक सम्बन्ध स्थापित गर्न सके,फुटबलहरुलाई तालिम,अनुभव साटासाट,साना ठुला गरी सयौको संख्यामा रहेका स्पेनिस क्लबहरुमा ब्यबसायिक खेलको बाटो खुल्ने देखिन्छ । स्मरण रहोस् गत बर्ष मात्र नेपालबाट एक पत्रकार किरण मरठ्ठाले बार्सिलोना फुटबल क्लबका खेलाडीहरु मेसी, जाबी,पिके, क्लबका निर्देशकहरुसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए । व्यक्तिगत प्रयासमा यति ठुलो अबसर सृजना हुने स्पेनमा सरकारी तबरबाट राष्ट्रका गहना खेलाडीहरुलाई धेरै ठुला अबसर र मौका सृजना गर्न सकिने सजिलै अनुमान लगाउँन सकिन्छ । एउटा खेल जितेर इतिहास रच्दा धेरै गर्ब गर्ने हामी सबै खेलप्रेमी नेपालीहरुलाई खेलाडीहरु भविष्य उज्जवल पार्न सरकारी तबरबाट गर्ने प्रयासले हामीलाई आशा र खेलाडीलाई अबसर हुनेमा बिश्वस्त छौ। स्पेनमा नेपाली दुताबास स्थापनाले यसमा थप उर्जा दिनेमा आशाबादी रहेका छौ ।
“झा” आयोगको प्रतिबेदन लागु गर्न
सन् २०११ मा नेपाल सरकारका प्रधानमन्त्री डा.बाबुराम भट्टराई रहदाँ,सो समयमा गठित ‘झा आयोगको’ प्रतिवेदनले स्पेनमा दूतावासको आवश्यकता छ भन्दै प्राथमिकता राखेको थियो । सरकारले बहराईन ओमन र स्पेनलाई प्राथमिकतामा राखी दुताबास खोल्नु पर्ने बताए पनि, ओमन र बहराईनमा दुताबास स्थापना गरेता पनि, स्पेनमा भने अझै स्थापना हुन सकेको छैन । माथि उल्लेखितमा बुँदाहरुमा दुतावास खोल्नु पर्ने थुप्रै कारण भए जस्तै कारण सरकारले केहि बर्ष पहिले प्राथमिकता राखेको स्पेनलाई, अब ब्यहबारीक उपमा कार्यान्वयन होस् भन्ने स्पेनबासी नेपालीहरुको चाहाना रहेको छ ।
पोर्चुगललाई पनि स्पेनले हेर्न सक्छ स्
स्पेनमा जस्तै नेपालीहरु संख्या अर्को युरोपियन मुलुक पोर्चुगलमा बढिरहेको बेला, नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न सके,स्पेनबासी नेपालीहरुलाई मात्र नभई पोर्चुगलको नेपाली समुदायलाई पनि केहि हद सम्म सम्बोधन हुने देखिन्छ । फ्रान्सले आफु बाहेक तिन बटा मुलुकमा बस्ने नेपालीहरुलाई हेर्नु पर्ने हुँदा,स्पेनमा दुताबास स्थापना गरी कुटनीतिक सम्बन्ध प्रगाढ पार्दै,पर्यटक भित्राउँने योजना मात्र हैन,सरकारले पोर्चुगल बासी नेपालीहरुको राहदानी बनाउने समस्यालाई स्पेनबाट नै सम्बोधन गर्न सक्छ । यसो गर्दा पेरिस दुतावास र स्पेनमा खोलिने दुताबास दुवैलाई कम भार हुने हुँदा,राम्रो सेवा र सुबिधा दिन सक्षम हुने देखिन्छन् ।
निचोडस्
माथि उल्लेखित सबै कुराहरु अलवा स्पेनमा नेपाली राजदुताबासको स्थापना गर्न सके,नेपाली भाषा, संस्कृति, चाडपर्ब, रहन सहन,भेषभुषालाई समेत बिश्व माँझ पु¥याउने एक कोसेढुंगा साबित हुने देखिएको छ । चाडबाड,रहनसहनले भरिपूर्ण स्पेनको समुदायमा हाम्रा चालचलन र रितिरिवाजलाई पनि पु¥याएर बिदेशी संस्कृतिको सिको गर्ने नेपाली परिपाटीको अन्त्य गर्दै,नेपाली पहिचान बिश्व माँझ फैलाउँने नयाँ सुरुवात स्पेनबाट गर्न सकिनेमा हामी बिश्वस्त छौ । अनलाइन खवरबाट











