काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुरुकुल अर्थात शैक्षिक प्रतिष्ठान सञ्चालनको सम्भावना र औचित्यको विषयमा एक विचार गोष्ठी गरेको छ । गत शनिवार काठमाडौंमा सत्–मार्ग अभियान नेपालको आयोजनामा भएको विचार गोष्ठीमा शैक्षिक क्षेत्रका पाँचजना व्यक्तित्वले कार्यपत्र प्रस्तुत गरेका थिए ।
महेश संस्कृत गुरुकुल देवघाट तनहूँका स.प्रा. डा.गुरूप्रसाद सुवेदीबाट नेपालमा गुरुकुलहरूको अवस्था र प्रयोगको विषयमा, त्रिभुवन विश्वविद्यालयका उ.प्रा.जनार्दन घिमिरेबाट नेपालमा अन्तर्राष्ट्रिय गुरुकुलको आवश्यकता र पाठ्यक्रमको प्रारूपको विषयमा, हिन्दु विद्यापीठका डा. चिन्तामणि योगीबाट अन्तर्राष्ट्रिय स्कूलहरूको प्रयोग र तहको विषयमा, शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालबाट अन्तर्राष्ट्रिय गुरुकुल सञ्चालनका लागि आर्थिक संभावनाको विषयमा र सोधकर्ता भरत गिरीबाट नेपालको विगत र वर्तमानको शैक्षिक नीति र गुरुकुल विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
अभियानका प्रवक्ता दीपक सुवेदीले नेपाल अर्थात हिमखण्डीय भूमि प्राचिनकालमा विश्वको गुरुक्षेत्र भएको तर अहिले नेपालीलाई आफ्ना सन्तान सानै हुँदै कुन देश पढ्न पठाउने भन्ने सोच आउनपर्ने बाध्यता सृजना भएको तर्फ ध्यानाकर्षण गर्दै अब पुनः नेपालले शैक्षिक क्षेत्रमा आफ्नो पूरानो विरासत फर्काउन के गर्नु पर्छ भन्ने विषयमा आफ्नो संस्था चिन्तित भई सो कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा पूर्व निर्वाचन आयुक्त डा. रामभक्त पि.वि. ठाकुर, पूर्व गभर्नर तथा नेपाल सरकारका पूर्व सचिव दिपेन्द्र पुरुष ढकाल, पूर्व शिक्षा सचिव शङ्कर पाण्डेलगायतका शिक्षा क्षेत्र एवं यस क्षेत्रलाई बढी महत्व दिने व्यक्तित्त्वहरूको उपस्थिति रहेको थियो ।












