मनोविज्ञान विश्लेषण
पेशलकुमार न्यौपाने
मान्छे कल्पनाशिल प्राणी हो । मान्छेको कल्पना बिना विकासका अवधारणाहरुको जन्म हुन सक्दैन । आज हामीले देखेका र भोगेका विज्ञानका नयाँ अविष्कार एवं प्रविधिहरु कुनै बेला कुनै वैज्ञानिकका कल्पनाका विषयहरु थिए । त्यही कल्पनाको साकाररुप नै हामीले देखेका र भोगेका विकासका फल हुन । तर सबै जनाको सबै कल्पनाहरु साकार हुन सक्दैन । कल्पना तथ्यमा आधारित, वैज्ञानिक, यथार्थपरक र पहुँच भित्रको हुनसक्ने योजनाबद्ध भएमात्र सफल हुन सक्छ । मान्छेको कल्पनाको कुनै सिमा हुँदैन । कल्पनाकर्ताले आफ्नो योग्यता, हैसियत, अवस्था, सम्भावना आदि कुनै कुराको पनि हेक्का नराखी कल्पना गरेको हुन्छ । त्यस्ता सबै कल्पनाहरुको पूर्ति हुन सक्दैन । यसरी व्यक्तिको कल्पनाहरु पूर्ति हुन नसकेपछि दबित इच्छाको रुप धारण गरेको हुन्छ । वास्तविक जीवनमा उसले आफ्ना कुराहरु व्यक्त गर्न पनि सक्दैन र व्यक्त गरि हाले पनि समाजले कि हाँसोको पात्र बनाउँछ कि पागल मान्छे को पगरी गुथाउँछन । जस्तैः–एउटा निरक्षर गोठालोले गाई चराउन जाँदा हेलिकप्टर चलाएर देश विदेश डुल्ने, धनी राजकुमारीसँग बिहे गर्ने आदि इच्छायुक्त कल्पना गर्न सक्दछ जो कि वास्तविक जीवनमा असम्भव हुन्छ । यसरी वास्तविक जीवनमा दबित भएका इच्छाहरु प्रकट हुने अवसर पर्खिरहेका हुन्छन् । अचेतन मनमा दबिएका इच्छाहरु चेतन अवस्थामा आउनमा लागि सपना नै उपयुक्त माध्यम हुन्छ । त्यस पछि जब व्यक्ति निदाउँछ अनि उ वास्तविक बन्धनबाट मुक्त हुन्छ । वास्तविक बन्धनबाट मुक्त भएपछि दबित इच्छाहरुको प्रस्फुटन शुरु हुन्द्ध । यसबाट के बुझिन्छ भने वास्तविक जीवनमा भोगेका वा कल्पना गरेका इच्छा, आकांक्षा, कल्पना, कुण्ठा, निराशा, आवेग, रीस, माया, प्रेम, यौन आदि कुराहरु नै सपनामा देखिन्छ । कतिपय अवस्थामा सपना देखेरै पनि संतुष्टि प्राप्त हुन्छ मन र मस्तिष्क हलुका भएको अनुभव हुन्छ । जसबाट तनाव हट्ने वा घट्ने हुन्छ फलस्वरुप मानसिक शान्ति प्राप्त भै मानसिक एवं शारीरिक रोगमा राहत प्राप्त हुन जान्छ ।













