काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन प्रणालीलाई छिटो छरितो र पारदर्शी बनाउन आगामी माघ १ गतेदेखि आस्बा (एप्लिकेसन सपोर्टेड बाई ब्लकेड एमाउण्ट) प्रणाली लागू गर्ने भएको छ ।
सार्वजनिक निष्काशन कार्यलाई सर्वसाधारणले सहज रूपमा धितोपत्र खरिद गर्न पाउने भन्ने उद्देश्यले आस्बा (एएसबीबीए) प्रणाली लागू गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । आस्वा प्रणालीमा सहभागी हुन बोर्डले बैंक तथा वित्तीय संस्थालाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ ।
बोर्डले पहिलो चरणमा ‘क’ र ‘ख’ वर्गको बैंकलाई आस्वा प्रणालीमा सहभागी हुनको लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम रहेको, प्रति शेयर चुक्ता पूँजीभन्दा प्रति शेयर नेटवर्थ बढी भएको, पाँच वर्षभन्दा बढी सञ्चालनमा रहेको र पछिल्लो दुई वर्षदेखि खुद मुनाफामा सञ्चालन भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भई फुकुवा भएको ३ वर्ष पुगेको, काठमाडौँ उपत्यकाभित्र कम्तीमा ४ वटा शाखा भएको लगायतका मापदण्ड तोकेको छ । यो प्रणाली लागू भएपछि सार्वजनिक निष्काशनहरूमा शेयर आवेदनको लागि लगानीकर्ताले नगद रकम सबन्धित बैंकमा जम्मा गर्नु पर्दैन ।
यसमा आफूले शेयर खरिद गर्न लागेको रकम बैंक खातामा हुनुपर्छ । शेयरको लागि आवेदन दिएपछि शेयर बाँडफाँड नहँुदासम्म बैंकले उक्त रकम रोक्का गर्छ । शेयर बाँडफाँडपछि लगानीकर्तालाई शेयर परे अनुसारको रकम मात्र सम्बन्धित खातामा रकमान्तर गर्छ ।













