काठमाडौं । संविधान संशोधनमा सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति हुन नसके सबै दलको चुनावी सरकार गठन गरेर संविधान संशोधन गरि स्थानीय तहको चुनाव गर्नु पर्ने प्रस्ताव राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले अघि सारेका छन् । राप्रपाले संविधान संशोधनमा समर्थन नगर्ने संकेत गरेपछि सरकार पनि संशोधनमा नयाँ सहमति खोज्ने दिशामा अघि बढेको छ ।
सीमांकनका विषयमा संविधानको प्रावधान बाधक देखिएपछि प्रधानमन्त्री प्रचण्ड बाधा अडकाउ फुकाउ धारा अनुसार आदेश जारी गराएर एक पटकलाई प्रदेशको सीमांकन हेरफेर गर्ने पक्षमा रहेका छन् । मधेसी दलहरुले पनि संविधानको धारा २७४ को उपधारा ४ देखि ८ सम्म खारेज गरेर भएपनि संविधान संशोधन गर्न माग गरेको छ । तर सत्ता पक्षका राप्रपा र मधेसी जन अधिकार फोरम लोकतान्त्रिक नै सीमांकन हेरफेरको प्रस्तावको विपक्षमा रहेका छन् । यी दुई पार्टीले पक्षमा मत नदिने संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरेकै कारण सरकार सीमांकन हेरफेर प्रस्तावमा संशोधन गरेर सहमति खोज्ने, त्यसमा दलहरु बीच असहमति भए सीमांकन बाहेकको विषयलाई पारित गर्ने र निर्वाचनमा जाने सोचमा अगाडि बढ्ने भएका छन ।
सर्वोच्चको आदेशले नयाँ सहमतिका लागि प्रेरित गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । नयाँ सहमतिको विन्दु पहिल्याउन सभामुख ओनसरी घर्ती मगर र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता भएपनि खासै निकास निस्कन सकेको छैन । प्रचण्ड सीमांकन प्रस्ताव फिर्ता लिने, अरु तीन बुँदामा संशोधन गर्ने विकल्पमा मधेसी दल र एमाले बीचमा सहमति गर्न खोज्दैछन् । त्यसमा सहमति नभए बाधा अडकाउ फुकाउन राष्ट्रपतिकोमा पठाएर आदेश जारी गर्ने र संविधानको धारा २७४ लाई निलम्बन गराउने वा त्यो धारालाई नै संशोधन गर्ने गरि अर्को संशोधनको प्रस्ताव लैजाने विकल्पमा छलफल गर्न थालेका छन् ।
एमालेले सहयोग नगरि संविधान संशोधन नहुने भएकाले प्रधानमन्त्री प्रचण्ड मधेसी दललाई खुशी पार्न कै लागि पनि पारित नहुने संशोधन प्रस्ताव संसदमा टेबुल गरि संशोधन प्रस्ताव असफल पारेर उनीहरुको चित्त बुझाउने र सरकारबाट विदा हुने शुरमा छन् ।
त्यसपछि चुनावी सरकार गठन गर्न नै उनले राप्रपा मार्फत चुनावी सरकारको प्रस्ताव राख्न लगाएको चर्चा पनि राजनीतिक वृत्तमा रहेको छ । प्रचण्ड सरकारले संविधान संशोधन, स्थानीय तहको निर्वाचन, संविधान कार्यान्वयन र भूकम्प पीडितलाई राहत र पूर्नस्थापना जस्ता कार्य गर्न नसकेको कारण पनि यो सरकारको औचित्य समाप्त भएको छ ।













