काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को वजेट, योजना तथा कार्यक्रम पारित गरेको छ । २९ औं नगरपरिषदमा प्रस्तुत बजेट, योजना तथा कार्यक्रमहरु नेपालको संबिधान र स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार कार्यकारी अधिकृत रुद्रसिंह तामाङले प्रस्तुत गरेका थिए ।
चालु आर्थिक वर्ष ०७३÷०७४ का लागि विनियोजित वार्षिक बजेट ७ अर्ब ७५ करोड ६२ लाख रूपैयाँमध्ये प्रथम पाँच महिनाको अवधिमा जग्गा एकीकरण आयोजनाहरु बाहेक ४५ करोड २० लाख १३ हजार ४ सय ७७ रूपैयाँ खर्च भएको छ । यसै गरी सोही अवधिमा आयतर्फ ६ अर्ब ९२ करोड ५५ लाख ८२ हजार रूपैयाँ अनुमान गरिएकोमा १ अर्ब ७ करोड १७ लाख ८२ हजार रूपैयाँ संकलन भएको छ । कूल राजश्व आम्दानीमा आन्तरिक आयबाट २ अर्ब २५ करोड ६६ लाख ८७ हजार रूपैयाँ अनुमान गरिएकोमा हालसम्म ७१ करोड ८३ लाख ७३ हजार ५ सय १० रूपैयाँ संकलन भएको छ भने अन्य श्रोतबाट ३५ करोड ३४ लाख ९ हजार २ सय ८६ रूपैयाँ प्राप्त भएको छ । स्थानीय कर तर्फ गत आर्थिक वर्ष ०७२÷०७३ मा ८० करोड ८७ लाख ६ हजार ५४ रूपैयाँ राजश्व संकलन भएकोमा चालू आर्थिक वर्ष ०७३÷०७४ को प्रथम पाँच महिनामा ४४ करोड ६२ लाख १ हजार ८ रूपैयाँ संकलन हुन आएको छ । वजेट योजना तथा कार्यक्रम तर्जुमा गर्दा शहरी सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य, शहरी शौन्दर्य कायम गरी वातावरण मैत्री शहरको विकास, शहरी गरिबीमा न्यूनिकरण, सामाजिक समाबेशीबरणका सवालहरु, फोहोरमैलाको व्यवस्थापन, वाल मैत्री स्थानीय शासन पद्दति, गुणस्तरीय शहरी सेवा सुबिधामा महानगरवासीको पहुँच अभिवृद्धि हुने अवसर श्रृजना, सुदृढ आर्थिक विकास र निवार्चित जनप्रतिनिधिहरुको स्थानीय तहलाई विकास प्रक्रियाको क्रममा विकास गर्ने आधारहरुलाई बजेट निर्माणमा प्राथमिकता दिइएको छ ।
बजेट, योजना तथा कार्यक्रम निर्माण गर्दा आवधिक योजना महानगरको आवधिक योजना दिगो विकासका लक्ष्यहरु, सान्र्दभिक नीतिहरु, महानगरपालिकाको आवधिक योजना तथा क्षेत्रगत गुरुयोजनाहरु, यस अघिका वार्षिक वजेट तथा कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । विकासका मुलभुत सिद्धान्तलाई व्यवहारमा उतार्न क्षेत्रगत नीति, रणनीति, कार्यनीति र कार्यक्रम बनाई प्रस्ताव गरेको छ । यसबाट नतिजामुखी बजेट प्रणालीको विकास भई नागरिक प्रति जवाफदेही, जिम्मेवार र उत्तरदायी महानगर प्रशासनको प्रवद्र्धन हुने गरिएको छ । आगामी आर्थिक वर्षका लागि वित्तीय परिचालन र खर्च अनुमान गर्दा वित्तीय सन्तुलन कायम गर्ने उद्देश्य लिई सो अनुरुप कार्यक्रमहरु तर्जुमा गरी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि कुल ५ अर्ब ३७ करोड १८ लाख ९८ हजार रुपैयाको राजस्व तथा व्यय प्रस्ताव गरेको छ । यसका लागि आन्तरिक आयबाट १ अर्व ८३ करोड ९९ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसमा स्थानीय करको योगदान ४५ प्रतिशत र गैर कर अनुदानको योगदान ५५ प्रतिशत गरिएको छ । कुल विनियोजनमा तलव, भत्ता तथा अन्य खर्चका लागि ५९ करोड ३७ लाख रूपैयाँ प्रस्ताव गरेको छु । यसैगरी विषयगत क्षेत्र अनुसारको नीति कार्यान्वयनका लागि विकास खर्चतर्फ ४ अर्व ७१ लाख ९३ हजार रूपैयाँ विनियोजन गरिएको छ ।













