काठमाडौं । ताप्लेजुङको खोक्लिङ ८ को एक सामुदायिक वनको साधारणसभामा भागलिन गइरहेको बेलामा खुकुरी प्रहार गरि हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको परिवारलाई वन मन्त्री शंकर भण्डारीले भेटेर १ लाख नगद र श्रीमतीलाई वन कार्यालयको सहायकमा करार नियुक्ती दिने पत्र हस्तान्तरण गरेका छन् ।
साथै उनले परिवारलाई समवेदन समेत दिएका छन् । वन रक्षक शाही जाजरकोट जिल्लाको दसेरा गाविस–८ निवासी हुन । उनलाई शहीद घोषणा गर्दै सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको छ । यसमा पनि मन्त्री भण्डारीले पहल गरेका छन् । सैनिक हेलिकोप्टर लिएर मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट टेक्निसियन्स एशोसिएसन अफ नेपालका महासचिव प्रेम सापकोटा गत पौष २६ गते जाजरकोटको दसेरा–८ स्थित मृतक वन रक्षक शाहीको घर पुगेर समवेदन र सहानुभूति प्रकट गरि १ लाख नगद सहयोग रकम हस्तान्तरण गरेका थिए । मन्त्री भण्डारीले आफ्नै तलबबाट परिवारलाई १ लाख नगद सहयोग उपलब्ध गराएका हुन । मन्त्री भण्डारीको यो कदमलाई सबै कर्मचारीहरुले उदारणीय कार्य भनि प्रशंसा गरेका छन् ।












