संगीता रेग्मी
नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पु¥याएर जान्छन् । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नबस्नु जिम्मेवार निकायहरुको गैरजिम्मेवारीपना हो ।
यस्ता प्राकृतिक विपदी आकस्मिकता भएपनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट हामी पीडित भइरहेका छौं । वर्षयामसँगै हिमाली र पहाडी क्षेत्रमा सुरू हुने पहिरो र तराई÷मधेशमा हुने बाढीको समस्या आजको मात्र होइन ।
प्राकृतिक समस्या पूर्व सूचना दिएर आउँदैन तर यसबाट हुने अनपेक्षित परिणाम आउनु नै संकट हो । नेपाल भूकम्पको जोखिममा छ भन्ने कुरा विदित छ । तराईमा प्रत्येक वर्ष बाढी र आगजनीले जीवन तथा भौतिक क्षति गर्छ भन्ने थाहै छ ।
यस बर्ष मात्रै निरन्तरको वर्षासँगै आएको बाढीले जम्मा २३ जिल्ला डुबानमा परेको छ भने साउन ३२ गतेसम्म १३० जनाचन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांकले देखाउँछ । यस वर्ष मधेशमा बाढीको प्रकोप विगतका वर्षहरूमा भन्दा अझ भयावह देखिन्छ । बालबालिका, वृद्धवृद्धा, सुत्केरीहरूले खान र बस्न समेत पाएका छैनन् भने उनीहरूको शारिरीक अवस्था कमजोर भइसकेको छ ।
अन्न भण्डारको उपमा पाएको मधेशले हरेक वर्ष देशभरीको लागि खाद्यान्न परिपूर्ति गर्दै आउँदै छ । तर धान उत्पादनको यो समयमा सम्पूर्ण मधेश बाढीले आक्रान्त भएको छ । बाढीले मधेशका जनताको गाँस त खोज्यो नै कृषि उत्पादनहरु पनि नष्ट ग¥यो सम्पूर्ण देशवासीको वर्षभरीलाई खाने पुग्ने उत्पादन पनि नष्ट ग¥यो । निरन्तर निर्यात भन्दा आयात बढी भइरहेको हाम्रो देशमा यो वर्षको बाढीले अझ बढी प्रभाव पार्ने देखिन्छ र आयातमा स्वतः वृद्धि हुनेछ ।
२०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पले मानवीय र भौतिक क्षति यो वर्षको बाढीले अझ बढी मर्माहित ग¥यो । विकास र कृषि क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । अविकसित देशबाट विस्तारै विकासन्मुख बन्दै गएको नेपालका लागि यस्ता प्राकृतिक प्रकोपहरूले अझ ठूलो धक्का दिने गरेको छ ।
सतर्कता जरुरी
नेपालमा ठूलठूला जोखिम, विपत् र संकटमा सूचना प्रविधिको पर्याप्त प्रयोग देखिँदैन । अहिले नेपालमा बाढीको जोखिमबारे पूर्वसूचना बेलैमा पर्याप्त प्रवाह नभएकाले र सजगता नअपनाइनाले धेरैको ज्यान गएको छ र कैयांै पीडित हुनपुगेका छन् । बाढी–पहिरोको पूर्व सूचनाले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्छ । हामीले जति सक्दो चाँडो सुधार गरेर प्रविधिलाई सार्वजनिक सेवाप्रवाहमा अधिकतम उपयोग गर्दै जनताको दैनिक जीवन सहज बनाउन अति जरुरी छ ।
यस्ता प्राकृतिक प्रकोपहरु वर्षौपिच्छे आउने गर्छन् । यो विषयमा सरकारले हेक्का नराख्नु, पूर्व तयारी नगर्नु, संकटपछिको विपत्लाई प्रभावकारी व्यवस्थापन नगर्नु नै ठूलो समस्या हो । समथल भू–भाग भएको मधेशमा केही दिनको वर्षाले नै डुबानको समस्या देखा पर्दछ । वनजंगल विनाश, चुरेको दोहन, जलवायूमा परिवर्तन बाढीको मुख्य कारणको रूपमा रहेको छ । चुरेको दोहन रोक्नु अहिलेको प्रमुख आवश्यकता हो । नदी नियन्त्रण, वृक्षरोपण, जग्गा प्लटिङमा कडाई, बसाई–सराईंमा नियन्त्रण, ढलको उचित व्यवस्थापन गर्न सकेमा बाढीबाट केही हदसम्म जोगिन सकिन्छ । विपत्तमा कुनै राजनीति हुनुहुँदैन । सबै वर्ग, समुदाय एकजुट भएर विपत्तको सामना गर्नुपर्छ । भूकम्पका बेला मधेशले पहाडलाई सहयोग गरेको थियो, त्यसरी नै पहाडले बाढीले विनाश गरेको मधेशलाई सहयोग र सद्भाव देखाउने बेला भएको छ । आफ्नो क्षमता, ज्ञान, अनुकूलता अनुरुप आ–आफ्नो ठाउँबाट विपत् व्यवस्थापनमा जुट्नुपर्छ । सरकार र अन्य राजनीतिक दलको आलोचना गर्नुभन्दा हाम्रो ठाउँबाट सकेको सहयोग गर्नु नै अहिलेको आवश्यकता हो । विपत्तमा परेका मधेशी जनतालाई हाम्रो सहयोग र साथको आवश्यक छ ।विपत्तमा साथ र विकासमा सहकार्य गर्न सके नेपाल साझा, शान्त् र विकसित हुने बेर लाग्दैन । (मधेश दर्पण फिचर सेवा)
प्राकृतिक प्रकोप र समाधानको उपाय
Comments are closed.













