शीर्ष नेताले
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलका शीर्ष नेतृत्वले राष्ट्रको स्वार्थभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएका कारण सहमति बन्न नसकेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ स्कुल समन्वय समिति डोटीको आयोजनामा विद्यार्थी नेता धर्मदेव फुलाराद्वारा लिखित ‘आन्दोलनमा नेविसङ्घ’ नामक पुस्तकको विमोचन गर्दै महामन्त्री सिटौलाले राजनीतिक दलका नेतामा सहमतिका लागि साहस नभएको र व्यक्तिगत स्वार्थमा खुम्चिएकाले मुलुकको राजनीतिक गत्यावरोधको निकास आउन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘‘मुलुकको राजनीति अहिले पहिरो गएर थुनिएको खोलाजस्तो भएको छ, त्यसलाई प्रवाह दिन राजनीतिक इच्छाशक्ति आवश्यक छ ।’’ संविधानसभाको निर्वाचन तोकेर सत्ता लम्ब्याउने खेलमा लागेको एनेकपा (माओवादी)ले मुलुकलाई यथास्थितिबाट चलाउन खोजिरहेको आरोप पनि उहाँले लगाउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीले अहिले मुलुकको समस्या समाधानका लागि राजनीतिक वृत्तमा हिम्मत, आँट र साहस नभएको भन्दै राजनीतिक नेतृत्व आआºनो अडानबाट तल झर्नाको विकल्प नभएको बताउनुभयो । नेविसङ्घका पूर्वसभापति प्रदीप पौडेलले राजनीतिलाई सही बाटामा हिँडाउने नेतृत्वको अभावमा लोकतन्त्रबाट प्राप्त उपलब्धिको रक्षा गर्न नसकिएको र मुलुकमा राजनैतिक तथा संवैधानिक सङ्कट गहिरिँदै गएको बताउनुभयो । नेपाली काँग्रेस डोटीका सभापति बीरबहादुर बलायरले पार्टीलाई गतिशीलता दिने अभियानमा लाग्नुपर्ने अहिलेको आवश्यकतामा पार्टीभित्र जुँगाको लडाइँ गरेर पार्टी नेतृत्वले पार्टीलाई कमजोर बनाउँदै लगिरहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस डोटीका पूर्वसभापति भरत खड्का, नेविसङ्घका पूर्वउपाध्यक्ष गणेश भट्ट, पूर्वकोषाध्यक्ष कुन्दनराज काºले, केन्द्रीय सदस्यद्वय बलदेव तिमिल्सिना र बलदेव थापालगायतले विवाद अन्त्य गरी नेपाली कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।













