काठमाडौं । राजधानीमा ठूलो हल्लीखल्ली, तामझाम र चहलपहलका साथ तीनघण्टे रात्रीबस सञ्चालन हुन थालेको ठ्याक्कै दुई हप्ता भयो । तर दुई हप्ताअघि यात्रु र बस व्यवसायीमा जुन खालको उत्साह थियो, त्यो अहिले निकै कम भएको छ । पहिलो बस भेट्नै मुश्किल, भेटिहालेमा पनि राति ११ बजेपछि बस गन्तव्यमा पुग्न नमान्ने यात्रुको गुनासो छ । व्यबसायीहरु भने पहिलो टिपमा मान्छे खचाखच भएपनि दोस्रो, तेस्रोमा कम हुने र ११ बजेपछि त बस नै रित्तो हुने हुँदा कमाई नभएको गुनासो गर्छन् ।
त्यसो त रात्रीबस शुरु गर्ने बेलामा नै राति ११ बजेपछि मान्छे हुँदैनन् भन्ने कुरा काठमाडौं महानगरपालिका र यातायात व्यवसायी राष्ट्रिय महासंघ दुवै निकायले बुझेका थिए । अहिले बस चलाउन शुरु गर्ने र विस्तारै समस्या तथा अनुभव बुझेर अगाडि बढ्ने सहमति भएको थियो । बिहानको समयमा बढी यात्रु हुने भएकाले पछि त्यसलाई पनि मध्यनजर गर्दै रातभर नै बससेवा सञ्चालन गर्ने तयारी पनि छ । तर दुई हप्ताको अनुभवले बस चलाउने व्यवसायीहरुमा भने निराशा उत्पन्न गराइसकेको छ । सुरक्षा र सुविधा भरिभराउ भएपनि खल्ती नभरिने हो कि भन्ने उनीहरुको चिन्ता छ । तैपनि निराश भैहाल्ने अवस्था छैन भन्नुहुन्छ, यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौला । ’त्यति निराश हुनुपर्ने अवस्था छैन’ सिटौलाले भन्नुभयो –’सरकार, यातायात व्यवसायी र मिडियाको सकारात्मक समन्वय मार्फत रात्री बस सेवालाई प्रभावकारी बनाउन सक्नुपर्छ ।’
अहिले तीनघण्टे रात्री बसले मात्र खर्च नधान्ने भएकाले महानगरपालिका र व्यवसायीबीच राति चल्ने बस दिउँसो पनि चलाउने सहमति भएको छ । यसकारण रात्रीसेवा लेखिएको बस दिउँसो पनि गुडेको देखिन्छ ।
रात्री चहलपहल बढाउन माग
होटल, रेष्टुरेन्ट, केही बैंक र संचारसंस्था मात्र राति केहीबेर चल्ने व्यवसाय अन्तर्गत पर्छन् । धेरै बजार, पसर साँझ पर्नासाथ बन्द हुन्छन् । बेलुकी ८ बजेसम्म सडकमा केही चहलपहलजस्तो देखिएपनि त्यसपछि झण्डै सुनसान हुन्छ । राति अबेलासम्म होटल, रेष्टुरेन्टमा बस्नेमध्ये धेरै आफ्नै सवारी साधन प्रयोग गर्छन् । त्यसकारण ८ देखि ११ बजेसम्म यात्रु भेटेपनि त्यसपछि भने रात्री बसले यात्रु भेट्टाउने गरेका छैनन् । ’रात्रि गतिबिधि र चहलपहल बढाउन आवश्यक छ’ यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भन्नुभयो –’राति ढुक्कसँग पसल, व्यवसाय सञ्चालन गर्न सकियो भने मात्र मान्छेको चहलपहल बढ्छ र यात्रु पनि बढी भेटिन्छन् ।’
सुरक्षाको भरपर्दो व्यवस्था हुने हो भने विकसित देशका शहरमा जस्तै राजधानीमा पनि रात्री व्यवसाय सञ्चालन गर्न सकिने व्यवसायीको भनाई छ । तर दिउँसै समेत असुरक्षा हुने राजधानीमा तत्काल यस्तो वातावरण बन्ला जस्तो देखिन्न । तैपनि व्यवसायीहरुले आशा मारिसकेका छैनन् । रात्रीबस सँगै रात्री जीवन र चहलपहल पनि बढ्ने उनीहरुको आशा छ । यसो भएमा रात्रीबस रातभर नै चलाउन सकिने व्यवसायीले बताएका छन् ।
अहिले शुरुमा चक्रपथ तथा मुख्य ठाउँहरुलाई लक्षित गरी रत्नपार्कलाई मुख्य विन्दु बनाएर २६ सिटका १४ वटा रात्रीबस सञ्चालन गरिएको छ । पहिलो चरणमा रत्नपार्कबाट कलंकी, लगनखेल, कोटेश्वर, जोरपाटी, बाँसबारी लगायत रुट र चक्रपथमा गरी हरेक रुटमा दुई दुईवटा रात्री बस चल्छन् । रत्नपार्कबाट माईतीघर, बबरमहल बानेश्वर, तिनकुने हुँदै सिनामंगल र फर्किंदा कोटेश्वर हुँदै फर्किने, रत्नपार्कबाट लगनखेल सातदोबाटो पुगि फर्किने, रत्नपार्कबाट केशर महल, लाजिम्पाट हुँदै गंगालाल अस्पताल पुग्ने, रत्नपार्कबाट कमलपोखरी, गौशाला, चाबहिल हुँदै जोरपाटी जाने, तथा रत्नपार्कबाट कलंकी जाने गरी रुट तय गरिएको छ । यस्तै चक्रपथका लागि कलंकीलाई मुख्य विन्दु बनाई दायाँतर्फ दुई र बाँयातर्फ दुई वटा गाडी चल्छन् ।
रातको समयमा सार्वजनिक गाडी नपाएर यात्रुले सास्ती भोग्न थालेपछि सरकारले रात्रीकालीन बस सेवा सञ्चालन थालेको हो । रातको समयमा लुटपाट हुने बढी सम्भावना भएकाले हरेक गाडीमा हतियार सहितका दुई जना सुरक्षाकर्मी पनि राख्ने व्यवस्था छ । यस्तै मोबाईल भ्यानबाट पनि प्रहरी गस्ती हुन्छन् । सुरक्षाका लागि बसहरुमा सिसिटिभी क्यामरा पनि जडान गरिएको छ ।













