नगरबधु शरीर बेच्छे तर आत्मा बेच्दिन, अस्तित्व पनि बेच्दिन । बेश्याको बोलीमा ओजन हुन्छ, उ बोलीमा पक्का हुन्छ र बोलेको कुरा होइन भन्दिन । यही इमान्दारिता बेश्याको नैतिकता हो । यस्तै नैतिकता गुण्डा र डाँकुमा पनि हुनेगर्छ । समाजबिरोधी, सुशासनबिरोधी मानिने माफिया ‘डान’ हरू पनि बोलीमा पक्का मानिन्छन् । उनीहरू मर्न तैयार छन्, मार्न तैयार छन् तर बोली फेर्दैनन् । ‘जान जाय पर बचन नजाए’ । नेपाली राजनीतिमा नयाँ उखान चलेको छ : कुछ भी हो जाय, सत्ता मिलजाय । सत्ताका लागि नेताहरू जे पनि बोल्न सक्छन्, जस्तोसुकै प्रतिवद्धता व्यक्त गर्न सक्छन् र तत्कालै कुरा बंग्याइयो भनेर माफी पनि माँग्न सक्छन् । नैतिकताबिना बेश्यालय चल्दैन तर नेपालमा नैतिकता नभएको राजनीति चलिरहेको छ । नेताहरूले सिद्धान्त, निष्ठा र जनताको विश्वसनीयता गुमाइसकेका छन् ।
सबै प्रकारका वैधानिक ढोकाहरू बन्द गरेर अन्यौल स्थितिको सिर्जनाकार एमाओवादी विधानविपरितको राजनीति र अवैध सरकार चलाइरहेछ र सन्त्रास फैलाउने मोर्चा गठन गरेर प्रचण्ड–बाबुराम पहाड बनेर निकासका सबै सम्भाबनाहरू निस्तेज पार्नेगरी गजधम्म तेर्सिएका छन् । राष्ट्रपति शासन अथवा राजनीतिक सम्मेलनबाट निकास निकाल्नैपर्ने बाध्यतामा परेका डा.रामवरण यादवलाई रावण साबित गरेर अपदस्त गर्ने कमचलाउ सरकारको दुस्साहस गर्दै प्रचण्ड–बाबुरामहरू निरङ्कूशताको नाइके बन्न हिचकिचाउँदैनन् भने लोकतन्त्रका यस्ता कलंकित पुरुषहरू नगरबधुभन्दा तल झर्न सकेका भनेर आश्चर्य नभए के हुन्छ ? राष्ट्रप्रति, जनताप्रति याद हदको बेइमानीले राजनीतिक दुर्घटना अवश्यम्भावी देखिदैछ । संविधानसभाको निर्वाचनपछि हात्तीछाप सुन र बाघमारा माओवादी उस्तै हो भन्ने चर्चा थियो, संविधानसभाको बिघटनपछि दिल्लीबाट काठमाडौं आएका एसडी मुनीले प्रचण्ड–बाबुरामको लगौंटी खोलिदिए र बाबुरामको एकवर्षे कूशासनले एमाओवादी भनेको त खिया लागेर माटिदै गएको फलाम साबित हुनपुगेको छ । तितो छ तर यथार्थ यही हो ।
प्रचण्डको नेत्वत्वको १० वर्ष ९ महिना ५ दिन लामो जनयुद्धमा १७ हजारभन्दा बढी मानिसको ज्यान गयो । बाूचेका लाखौंको ज्यान अन्ध, अपांग, मानसिक सन्तुलन बिग्रेको अवस्थामा छ । कति बृद्ध, बनिता र महिलाले आधार र ओढार गुमाए, हिसाव गर्ने फुर्सद कसैलाई छैन । ०६२–६३ को जनआन्दोलन सफल भयो, गणतन्त्र कार्यान्वयन गरेर राजनीतिक सहमतिमा धर्मनिरपेक्षता र संघीयतामा जाने निर्णय पनि गरियो । तर यिनै सहमतिकर्ताहरूले संविधान सभाबाट शान्ति र संविधान दिन सकेनन् । संविधानसभा हुँदा सत्ताका लागि जुन सत्ता प्रतिस्पर्धा थियो, संविधानसभाको घाूटी निमोठेर अन्तरिम संविधानसमेतले समेत काम गर्न छाडेको स्थितिमा पनि सत्ता प्रतिस्पर्धा जारी नै छ । सहमति र सहकार्य अत्यावश्यक छ भनेर मह लेपन गरेको मीठो कुरा गर्ने नेताहरू एकदोस्रालाई निचा देखाउने निकृष्ठ स्तरमा झरेका छन् । नैतिकता र जिम्मेवारी निर्वाह गर्ने इमान्दारिताको कसीमा हाम्रा नेताहरू नगरबधुभन्दा गएगुज्रेको प्रमाणित भइसकेका छन् । जनताका लागि सत्ताकेन्द्रीत राजनीतिक द्वन्द्व विषालु नीलकाँडा बनेर घोचिरहेको छ ।
बनबिरालो भट्ट हेर्दा बाघजस्तै देखिन्छ । जब हुर्कदै र हल्कदै जान्छ, तव बनबिरालो बाघ होइन रहेछ भन्ने स्पट हुन्छ । हाम्रा नेताहरू जनयुद्ध र जनआन्दोलनका मोर्चामा बाघजस्ता देखिए तर ०६३ सालपछिका ६ वर्षे लोकतान्त्रिक राजनीतिमा बनबिरालो बने, बाघ बन्न सकेनन् । संसारका अग्ला १० शिखर नेपालमा छन् । शिखर अग्लो भएर देश अग्लो हुने होइन रहेछ । नैतिकता र निष्ठाहीन अविश्वसनीय राजनीतिका कारण नेपाल संसारैकै गरिब मुलुकहरूको पुछारमा पुग्न लागेको छ । असफल राष्ट्रका बासिन्दा बन्ने मोडमा उभिएका छौं हामी । एक तृतियांस बजेटको अवधि सकिनलागेको छ र शीर्ष दलहरूको झगडामा राष्ट्रपतिलाई समेत मुछिएको स्थिति हेर्दा केही दिनभित्रै नेपालको स्थिति भयावह हुने आहट सुनिदैछ ? यी कहालीलाग्दा संकेतहरूका सर्जक शीर्ष राजनीतिक दलहरू नै हुन्, तिनीहरूवीचका घनिभूत भएको अविश्वास नै हो ।
राजनीतिक असहमति सभासदको सूट लगाएर राजनीतिक लूट मच्चाउँदा ‘जातीयताका नाममा पहिचानसहितको संघीयताको बहस गरेर जहाँनेर’ टक्क अडेको थियो, अहिले पनि राष्ट्रिय सहमतिको हलो त्यहींनेर अड्किएको छ । परिवर्तन, अग्रगमन र नविनताका चर्का भाषण गर्ने शीर्ष नेताहरू राष्ट्रियता र एकताको सोचको बिभाजनका प्रतीक बनेका छन् । डा. टीकामान बैद्यले आफ्नो नसच्छेदन आफैले गरेर परिवार नियोजनको महत्व आम नागरिकलाई देखाउने अगुवा बनेका थिए । प्रेरणाको श्रोत भनेको यस्तो हुन्छ । हाम्रा नेताहरू स्वाधीनता पराईलाई बुझाएर चंगेज खाूको जस्तो डरलाग्दो भाषण गर्छन् र सिखण्डीको भूमिका निर्वाह गरेर ‘गणतन्त्र नेपाललाई सोकेसको गुलाफी बगैंचा’ बनाइरहेका छन् । स्वार्थ र घृणाको भारी बोकेका हाम्रा नेताहरू न प्रेरणा बन्नसके, न प्रशंसाका पात्र ? विदेशी चलखेलका साधन बनेका नेताहरूले बलियो नेपाललाई १९७५ को सिक्किमभन्दा कमजोर पारिसकेका छन् ।
भदौ ५ गते फेरि प्रचण्डले कार्यकर्ताहरूलाई भनेका छन्– हाम्रो नीति सत्ता कब्जा गर्नु नै हो । अर्थात् शीर्षनेता प्रचण्डलाई सत्ताको अफिम नशाले च्याप्दै लगेको छ । काम गर्न नसके ४५ दिनमा राजीनामा दिन्छु भनेर गुड्डी हाँक्ने बाबुराम सत्ता किन छाड्ने भनेर सत्तालिप्साको महत्वाकांक्षा प्रदर्शन गरिरहेका छन् । कांग्रेसका सुशील र एमालेका झलनाथ मेरुदण्ड नभएका नेता हुन् शायद, दुई हात थापेर सत्ता माूगिरहेका छन् । प्रचण्ड बाबुराम भन्छन्– सत्ता माूगेर पाइदैन, संघीयता बिरोधीहरूलाई किन सत्ता दिने, यही सरकार २५ वर्षसम्म चलिरहन्छ । सक्छौ भने खोस । सुशील कोइराला सत्ता नछाडे बोल्दै बोल्दैनौं भन्छन् । झलनाथको भनाई छ– आन्दोलनको आूधी ल्याएर बढार्छौं । भक्तपुरे नेता बिजुक्छे थप्छन्– राष्ट्रपतिले सत्ता हातमा लिएर निकास दिनुपर्छ । राष्ट्रपतिले दुईथान निर्वाचन सम्बन्धि अध्यादेश फिर्ता गरिदिएपछि प्रधानमन्त्री बटारिएका छन् । सरकार, प्रतिपक्षी र राष्ट्रपतिवीचका भनाभनले नेपाली राजनीतिमा त्रिकोणीय तीब्र तनाव सुरु भइसकेको छ ।
लोकतन्त्र आएपछि भोजपुर, अन्नपूर्ण ३ भुगेगाउँका गजुरमान राई खान नपाएर मरे । २०६६ साल असोज ११ गते अछाम प्रहरी थानामै प्रहरी जमातले महिला प्रहरीलाई बलात्कार गरे । २०६४ सालमा पश्चिम पहाड भोकमरीले छटपटायो, लोक घाँसपात खान बाध्य भए, कति मरे राज्यले पहाडतिर फर्केर हेरेन । २०६६ सालमा नूनको हाहाकार मच्चियो र नेताहरूले नूनसमेत तोकादेशमा बितरण गरे । अहिले पनि हिमाली क्षेत्रमा सत्ता ढिके नून बेचिरहेको छ । दुई वर्ष अघि जाजरकोटतिर हैजा फैलियो र सयौंको ज्यान लियो । त्यसको कारण विश्व खाद्य कार्यक्रमले बाूडेको कुहिएको चामल, दाल हो भनेर अधिकारकर्मीहरूले प्रमाणित गरिदिए । अहिले पनि पश्चिम पहाडमा झाडापखाला र हैजा फैलिएको छ । अस्पताल र हेल्थपोष्टमा स्वास्थ्यकर्मीसमेत छैनन् । मर्ने मरिरहेका छन्, बाूच्ने ज्यूूँदै मृत्यु कुरिरहेका छन् । राजधानीमा ढसमस्स बसेका नेता र पहुूचवालाहरू ४२ करोडको एपीसी खरिद गर्दा २८ करोड भ्रष्टाचार गरेको थोत्रो एपीसी हेरेर सुशासनको डिङ् हाूकिरहेका छन् । कति कुरुप देखिन्छ र महानगरका कन्टेनरभन्दा गनाउँछन्– लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र नेपालका नेताहरू ।
प्रचण्ड कटवालको चिप्लोमा पछारिए, माधव नेपाल कालापत्थरदेखि कोपनहेगनसम्म ‘वातावरण’ भन्दै डुले, झलनाथको ‘अर्जुनदृष्टि’ बन्द बाइनाकुलरबाट खुलेको छैन । बाबुराम काम गर्न नसके ४५ दिनमा राजीनामा दिन्छु भन्थे, सत्तामा बसेर भ्रष्टाचार–अपराध–अनैतिकताको पोखरीमा पौडिखेलिरहेका छन् । सामान्य गण र देशभरिका लोकलाई हेर्ने र तिनको आकांक्षा परिपूर्ति गरिदिने कसले ? समस्याको जरो ‘जिम्मेवारी’ हो, नेताहरू सत्तालाई समस्या बनाइरहेका छन् । सत्ता पाए गुणगान, नत्र सडकगान गर्ने राजनीतिले बुद्धको देश, स्वाधीन राष्ट्रको माटो विदेशीको खेल मैदान बन्नपुगेको छ । स्थिति कतिसम्म देखिन्छ भने २०६७ सालमा रअले नेपालबारे भारतमा सेमिनार गरेको थियो, केही दिन अघिमार उत्तरप्रदेशमा नेपालबारे भारतीय सेनाकै संलग्नतामा सुरक्षा बैठक गरियो । भदौ ३ गते नेपाल आएका चीनको एपेक एफ फाउण्डेशनलका कार्यकारी सिआयो उनानले भदौ ४ गते प्रचण्डसूग गुप्तगू गरेर लुम्बिनी विकासको माष्टरप्लान बोकेर निकासाका लागि दिल्ली गए । यी घटनाक्रम हेर्दा सामान्य लागे पनि यसको गम्भीरता दूरगामी असरदार देखिन्छ । अनि भन्न मनलाग्छ– फ्रान्समा भट्टी पसलबाट भएको आन्दोलनले समानता, सम्पन्नता र स्वाधीनता स्थापित गर्यो । नेपालमा जनयुद्ध र जनआन्दोलनबाट खारिएका रथी महारथीहरूले बिध्वंश, अराजकता, बिखण्डन र पराधीनता स्वीकार गर्न थाले । अनि कसरी आमनागरिकले भनेजस्तो शान्ति र संविधान आउन सक्छ ? ढाडमा हाड नभएका र दिमागमा हिलो भरिएका नेता भएपछि नागरिक र राष्ट्र कसरी परतन्त्रबाट मर्माहत हुन्छ भन्ने ताजा दृष्टान्त नेपाल बन्न पुगेको छ । अस्थिरता, अराजकता, बिखण्डन र बिभाजनले गाूजेपछि मानवीयता मूल्यहीन हुन्छ, मान्छे भनेका किराफट्याङ्ग्रा मारिएझैं मारिन्छन्, फालिन्छन् भन्ने शिक्षा लिन सोमालिया, हेटी वा अफगानिस्तानतिर हेर्नुपर्दैन किनभने कावुलको झल्का काठमाडौंमै देखिन थालिसक्यो । आफ्नो असक्षमता र असफलतालाई राष्ट्रको शिरमा थोपरेर पानीमाथिको ओभानो बन्न खोज्ने नेताहरू नगरबधु जत्ति पनि देश र जनताप्रति इमान्दार हुनसकेनन् । अग्रगमनका कुरा गर्नेहरूसँग जब मौलिकता र नयाूपन छैन र लोकतन्त्रका महिमा र गरिमाका सीमाहरू तोड्दै गएका छन् र प्रभावहीन, निर्णयहीन र नैतिकहीन धापमा धसिदै गएका छन् भने यस्तो बाइफाला राजनीतिको अन्त जरुरी छ । मेचीदेखि महाकालीसम्म, गाउूदेखि सहरसम्म, पार्टीदेखि नागरिक समाजसम्म जहाँबाट निस्क, कोही त निस्क ‘मेरो नेपाल’ भनेर संहाल्न, नगरबधुभन्दा गएगुज्रेका नेताहरूलाई कहिलेसम्म मनलाग्दी गर्न दिएर सहिरहने ?
फोहरका किटाणुका लागि हैजा फैलने फोहर नै स्वर्ग हुन्छ । हैजाका किटाणु स्वच्छतामा बाँच्नै सक्दैन । नेपाली राजनीति हैजाका महामारीभन्दा डरलाग्दो बनिसकेको छ । जसरी आज बागमती अथवा विष्णुमतीमा पुगेर खुट्टा चोपलौं, भोलिपल्टैदेखि खुट्टा चिलाएर रोगले समातिहाल्छ । त्यस्तै बनिसकेको छ नेपाली राजनीति । हरेक क्षेत्र र हरेक व्यक्तिलाई यसरी राजनीतिकरण गरिएको छ कि स्वच्छताको कल्पनासम्म पनि गर्न सकिदैन । राजनीतिकरण अथवा भ्रष्टाचार, अपराधिकरण, माफियाकरण । यस्तो राजनीतिले शान्ति, संविधान र नयाँ नेपाल बनाउन सक्ने नै थिएन, बनाएन । यसमा आश्चर्य मान्नुपर्दैन । आश्चर्य त यी सबै महामारीहरू हेरेर प्रचूर राष्ट्रियता भएका युवाहरू किन चुपचाप छन् भन्ने पो भएको छ ।











