–दीर्घराज प्रसाई
नेपालको अस्तित्व संकटमा छ । विक्रम सम्वत् २०६३ सालदेखि यो देशमा हत्यारा, लुटेरा, भ्रष्टहरुको सत्ता छ । यो अवस्थामा अव हामी नेपालीहरुले आफ्नो मातृभुमिको अस्तित्व कायम राख्न समर्पण देखाउनुपर्ने अवस्था छ । विश्वको एक मात्र हिन्दु अधिराज्यको रुपमा स्थापित विश्वब्यापी मान्यता र यसको महानता माथि प्रहार गर्दै नेपालको राष्ट्रियताको मेरुदण्ड तथा राष्ट्रियता एकताको प्रतीक, हिमाल, पहाड र तराई तथा नेपाल तथा विश्वमा हिन्दु तथा बौद्धहरुको संरक्षकको रुपमा मानिएको राजसंस्थालाई विस्थापित गरेर, २०६३ सालपछि कांग्रेस, कम्युनिष्टहरुले विदेशीहरुको आड र भरोशामा भारतीय कांग्रे्रस (आई) की सोनीयाँ गान्धी (क्याथोलीक–क्रिस्चियन) र त्यो बेलाको गुप्तचर संस्था ‘रअ’ र युरोपका इसाई राष्ट्रहरुको पैसा खाएर नेपाललाई विखण्डित गराएर, इसाईकरण गर्ने जुन खतरनाक बाटो लिएका छन् त्यो अत्यन्त निन्दनीय छ । दुःखको कुरा छ कि २०५९ सालदेखि भारतीय गुप्तचर संस्था ‘रअ’ बाट पालन पोषण गरी नेपाल माथि आक्रमण गर्न तयार गरिएका नेपाल, भारत दुबै देशले आतंककारी घोषित गरिएका माओवादीहरु बाबुराम भट्टराई र प्रचण्ड भारतीय कठपुतलीको रुपमा तयार गरिएका माओवादीहरु, कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेमा अर्का धातक माधवकुमार नेपालहरुलाई हातमा लिएर ‘रअ’ कै सक्रियतामा २०६२ मंसिरमा १२ बुँदै सहमति दिल्लीमा गराएर प्रसस्त आर्थिक व्यवस्था मिलाएर नेपालमा जनआन्दोलन गराई नेपाल माथि आफ्नो प्रभाव जमाउन खोजिएकाले अव यसरी सहेर हामी नेपालीहरुले बस्न हुँदैन ।
विक्रम सम्वत् २०७१ सालदेखि भारतमा राष्ट्रवादी हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको र भारतीय कांग्रेस (आई) विस्थापित भएकाले भारतबाट हिजोको जस्तो खतरा नरहेता पनि पुरोपका इसाई राष्ट्रहरुको सक्रियता झन् झन् बढेको छ । धर्मनिरपेक्ष, गणतन्त्र तथा संघीयता जस्ता राष्ट्रघाती रोगहरुलाई स्थापित गर्न पुरोपका इसाई राष्ट्रहरुको नैं सक्रियतामा २०७२ सालको संविधान घोषित भएको हो । इसाई राष्ट्रहरुले विश्वको एक मात्र हिन्दु अधिराज्य विस्थापित गराएर विश्वब्यापी रुपमा इसाई सामाज्य स्थापित गराउन अबौं रकम खर्च गराएर नेपाली जनताको मनस्थिति खल्बल्याउन सशक्त बनेका छन् । यही परिस्थिति रहि रह्यो भने भोलिका दिनमा हामी नेपालीहरु नेपालभित्रै आँसुका धारा बगाएर शरणार्थी बनेर बस्नुपर्ने दिन आउन सक्छ । त्यसैले अव हामी नेपालीहरु जो जहाँ छौं । आक्रमक शैलीमा सशक्त हुनुपर्ने अत्यावश्यक छ । नेपालमा नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित थियो । तर २०६२ सालपछि कांग्रेसले प्रजातान्त्रिक बाटो छोडेपछि अहिले आएर कांग्रेस पार्टीको अस्तितव उनीहरुले नैं समाप्त गरिसकेकाले २०७५ सालपछि नेपालका कम्युनिष्टहरु एमाले र माओवादी मिलेर एकलौटी रुपमा बाटोमा लागेका छन् । अहिलेको नेपालको कम्युनिष्टहरु नैं अगाडि देखिएका छन् ।
नेपालका कम्युनिष्टहरुको जन्म राष्ट्रियताबाट भएको हो । नेपालका कम्युनिष्टहरु नेपालको सार्वभौमसत्ता बचाउन सशक्त बनेर उठेको शक्ति थियो । सन् १९५० को नेपाल–भारत असमान सन्धि र विक्रम सम्वत् २००७ सालको दिल्ली सम्झौताको बिरोधमा उत्रिएकाले नेपालका कम्युनिष्टहरुलाई राष्ट्रवादी शक्तिको रुपमा लिइन्थ्यो । रुसमा कम्युनिष्टहरुको जन्म गरिबीको कारणबाट भएको थियो । चीनमा कम्युनिष्टको जन्म गरीबी र राष्ट्रियताको कारणबाट भएको थियो । तर नेपालमा कम्युनिष्ट विचारको जन्म राष्ट्रियताको कारण हो । गरिबीबाट थिएन । सन् १९५० को नेपाल–भारत असमान संधि र २००७ सालको दिल्ली सम्झौताको कम्युनिष्टहरुले बिरोध गरेकाले विक्रम सम्वत् २००८ सालमा कम्युनिष्ट पार्टी भारतको इशारामा नेपालमा प्रतिबन्दित भयो । पछि राजा महेन्द्रले २०१३ सालमा कम्युनिष्ट पार्टी माथिको प्रतिबन्द हटाएका थिए । यस हिसावले नेपालका कम्युनिष्टहरु नेपालको सार्वभौमसत्ताको सम्मानको लागि सक्रिय थिए । तर क्रमिक रुपमा कम्युनिष्टहरु विभाजित हुन लागे । कोही सोभियत रुसको पक्षधर, कोही चीनिया कम्युनिष्टको समर्थक, कोही भारतीय कम्युनिष्टका पक्षधर हुँदै विभिन्न खेमामा विभाजित भएपछि नेपालका कम्युनिष्टहरुमा नेपाली राष्ट्रवादी चरित्र हराउँदै गयो । यतिसम्म कि २०४६ सालदेखि नेपालका कम्युनिष्टहरु भारतपरस्त हुँदै विक्रम सम्वत् २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमति गरेदेखि नेपालका कम्युनिष्टहरु नेपालका स्थापित मान्यता, सार्वभौम एकता र राष्ट्रका पहिचानहरु ध्वस्त गर्न भारतीय कांग्रेस (आइ) र उसको गुप्तचर संस्था ‘रअ’को खेतलाको रुपमा प्रयोग भए । त्योबेलादेखि नेपालका कम्युनिष्टहरु लुटेरा, भ्रष्ट र देशदेहीको रुपमा चिनिएकाले नेपाली जनमानस अत्ताल्लिएको छ ? यद्यपि कम्युनिष्टहरुले नेपाली जनतामा अनेकौं भ्रमजाल बिछयाएर दिग्भ्रमित बनाउँदै सत्ता कब्जा गर्ने र अकुत सम्पत्ति जोड्नमा मात्र ब्यस्त छन् ।
नेपालका कम्युनिष्टहरु अध्ययन बीना कालमाकर््सले भनेका थिए भनेर ‘धर्म अफीम हो’ भन्दै भ्रम सिर्जना गर्ने गर्छन् । तर त्यो सत्य होइन । ‘धर्म अफीम हो’ भन्ने बारेको वास्तविकता यस्तो छ कि कालमाकर््सका बाबुलाई यहुदी भनेर क्रिस्चियनहरुले अत्यन्त हेप्थे । कालमाकर््सका बाबुलाई कतै जागिर नदिने, कतै जागिर भएमा बाबुको जागिर खोज्ने, उनको अहितमा यस्ता अनेकौं सञ्जाल फैलाएपछि कालमार्सका बाबु क्रिस्चियनहरुसँग अत्यन्त आक्रोशित बनेर बेलायतमा बसाईं सरेका थिए । आफ्ना बाबुलाई क्रिस्चियनहरुले अत्यन्त पीडा दिने गरेकाले क्रिस्चियनसँग आक्रोशित भएर कालमाकर््सले क्रिस्चियन धर्मलाई इड्कित गरेर ‘धर्म अफीम हो’ भनेका थिए । तर कालमाकर््सले मुस्लिम, बौद्ध, हिन्दु आदि धर्महरुलाई त्यसो भनेका थिएनन् । तर यता केपी ओली पनि त्यही भ्रममा परेर ‘धर्म अफीम हो’ भन्दैं ‘कम्युनिष्टहरुको धर्म हुँदैन’ भन्दै कुर्लिन्छन् । नेपालका कम्युनिष्टहरु भन्छन– ‘राज्यको धर्म हँदैन‘ । संसारमा कैयौ इसाई, मुस्लिम, यहुदी राष्ट्रहरु छन् । पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खा लगायत नुवाकोट, कीर्तिपुर, कान्तिपुर, भक्तपुर, ललितपुर, मकवानपुरहुँदै पुर्वमा टिष्टा नदीसम्म बाईसी, चौबिसी लगायत, कुमाउँगढ, अलमोडा हुँदै पश्चिम काँगडासम्मका ५४ भन्दा बढी स–साना हिन्दु राज्यहरु एकीकरण गरी स्थापित भएको नेपाल विश्वको एकमात्र हिन्दु अधिराज्य हो । यसरी नेपालको एकीकरणसँग जोडिएको विश्वका हिन्दुहरुको आस्था केन्द्र र सुरक्षा अवधारणासँग जोडिएको हिन्दु अधिराज्यलाई आफ्ना व्यक्तिगत धारणासँग जोडेर कम्युनिष्टहरु बोल्छन् भने नेपालका कम्युनिष्टहरुलाई कसरी नेपालको राष्ट्रवादी शक्ति मानिन्छ ?
यही जेष्ठ महिनाको प्रारम्भमा प्रधानमन्त्री एमालेको केपी ओलीको सक्रियतामा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी’ (नेकपा) गठन भयो । यसरी दुई कम्युनिष्ट मिलेपछि केही चीनियाँ लेखकहरुले समेत समर्थन गरेर लेख लेखे । तर त्यो भित्रको रहस्य के हो भन्ने कुरा यसै हो भन्न सकिदैन । तर नेपालका कम्युनिष्टहरुलाई चीनले भारत र युरोपका इसाई राष्ट्रहरुका दलालहरु हुुन्, भन्छ । विश्वास गर्दैन । चीनका साम्यवादी नायक माउत्सेतुङ्गले नेपालका कम्युनिष्टहरु कान्तिकारी पोशाक लगाएता पनि सबै भारतीय डिजाइनका चलेका हुन्छन् । नेपाल राजसंस्थाको नेतृत्वमा साम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको देश भएकाले हामी कम्युनिष्टहरु नेपालको राजसंस्थाको सम्मान गर्छौ भनेर कैयौ पटक नेपालका नेताहरुसँग बोल्ने गरेका थिए । त्यही अवधारणलाईलाई चीनमा खुल्ला अर्थ नीतिका संस्थापक तेडसियायो पिड्को पनि थियो । उनले भनेका थिए–‘नेपाल आफ्नो संस्कृति इहिासमा धनी छ । नेपाल जनता सार्वभौमसत्ताका र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादको बिरुद्ध सँधै सक्रिय रुपमा संघर्षरत छ ।’ तर माओवादीभित्र धेरै इसाई भएकाले र एमालेका अधिकांश नेताहरु युरोका इसाई राष्ट्रहरुको विश्वास प्राप्त भएकाले अव यी कम्युनिष्टहरुबाट नेपालको सार्वभौम अस्तित्व बाँच्न सक्छ भन्न सकिदैन ।
‘हत्यारा अपराधीको नाम लिदा पनि, पक्राउ पर्छ निर्दाेषी दोष यसको छ कि भनि’ भन्ने महाकवि भवभूतिको कविताको सम्झना आउँछ । कम्युनिष्टहरुले बाटो बिराएर राष्ट्रघात गर्न लागेको लेख्न खोज्दा मलाई नैं अपराधी भन्लान् जस्तो भएको छ । यस सन्दर्भमा एमाले र माओवादी दुई पार्टी मिलेपछिको नेपालका कम्युनिष्टहरुको अवस्थाको चित्रण गरेर भन्ने हो भने कमिलाका प्वाँख उम्रिएपछिको जस्तो अवस्था देखिन लागेको छ । माओवादी र एमाले यी दुई कम्युनिष्टहरु एक भएपछिको नेपाल कम्युनिष्ट पार्टीका नेता केपी ओली अहिले मौरीको संगत छोडेर झिंगासँग सँगत गर्न थालेका छन् । सँगत भनेको कस्तो हुन्छ भने मौरीको संगतमा गएमा फूलको बासना र महको भण्डारमा पुगिन्छ, झिँगाको बाटोमा लागियो भने फोहरको डड्गुर र रछयानमा पुगिन्छ, । त्यत्ति मात्र होइन, झिंगा यति आरिसे हुन्छ कि मौरीले जम्मा गरेको मह खाएर सिध्याउन खोज्छ र मह खाँदाखाँदै पखेटा महमा टाँसिन्छ र त्यही मर्छ । अहिले केपी ओली प्रधानमन्त्री भएपछि धेरै दिन अल्मलिए र माओवादीसँग टाँसिन पुगेपछि उनी पनि झिँगाको बथानमा पुगेका छन् । उनको हालत पनि भोलि त्यही लोभी झिगाको जस्तै हुनेछ जुन महमा टाँसिएर मर्छ ।
बालकृष्ण समको कविता भन्छ– ‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पथ्थर बन्दछन् । केपी ओलीमा पनि अहंकार बढेर विश्वको एक मात्र हिन्दु अधिराज्य र नेपाल अधिराज्य भए भरका हिन्दु मन्दिरहरुमा पूजाआजा गर्नेक्रममा असंख्यौं नेपाली जनताको राजाको सम्मान गरेको देखेर डाडले आक्रोशित भएर अनर्थमा राजा ज्ञानेन्द्रको बिरोध गर्न थालेकाले केपी ओली अधैर्य बनेर अनर्थमा आफ्नै कारणले फोहोरमा बिटुलिन पुगेका छन् । एमालेले किन एक निर्वाचनमा पहिलो पार्टी हुन गयो भन्ने कुरा एमालेका नेताहरुले बुझून् । राप्रपा नेपालले पैसा र पदको लोभमा फसेर गणतन्त्रवादी, धर्मनिरपेक्षवादीको सरकारमा पद खान आसक्त भएकाले त्यस्तो घातक औसरवादी पार्टीलाई साथ दिनुभन्दा कुनैं विकल्प नदेखेपछि देशभक्तहरुले केही न केही राष्ट्रियतामा अडान देखाएकाले केपी ओलीको नेतृत्वको एमालेलाई चौतर्फी रुपमा मत हालेर एक नम्बर पार्टी बनाउन सशक्त बनेकाले हो । तर अहिले केपी ओलीमा अहंकार बढेर नेपालको राष्ट्रियताको अवधारणा माथि आक्रमक बन्न थालेपछि उनको सक्कली अनुहार देखिदैछ । केपी ओलीले भन्छन्– आफू क्रिस्चियन, मुस्लिम, हिन्दु धर्मवलम्वीहरुबाट भोट पाएर सत्तामा आएकाले मात्र हिन्दु धर्मको समर्थन नगर्ने भन्दै हिमवतखण्ड नेपालको महानता माथि प्रहार गरेका छन् । केपी ओलीबाट नेपालले धोका पाएको छ ।
संसारका राष्ट्रहरुमा अनेकौं क्रान्ति तथा आन्दोलनहरु हुने गर्छन् । ती सबै आन्दोलनको लक्ष रहन्छ– आफ्नो देश र जनताको समृद्धि र राष्ट्र निर्माणमा सरिक रहनु । तर नेपालमा २०६३ सालपछि जो जति सत्तामा आए ती सबै विदेशीहरुको निर्देशनमा परिचालित भएर नेपालका स्थापित मान्यता समाप्त गर्नमा मात्र लागेका छन् । यो पक्षमा केपी ओली नरहलान् भन्ने ठानिएको थियो तर उनीमा ‘मुखमा राम राम बगलीमा छुरी’ रहेछ । प्रधानमन्त्री केपी ओली र माओवादीबाट गृहमन्त्री बनाइएका रामबहादुर थापा वादलले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस, सहीद दिवस खारेस गरिदियो, समस्त हिन्दुको अपमान गर्दै घटस्थापना, जनै पूर्णिमा, कोजाग्रत पूर्णिमा, रामनवमी, कृष्णजन्म अष्टमी, ऋषि पञ्चमी विस्थापित गराउन सार्वजनिक विदाहरु खारेज गरिदिएर विशाल नेपालको सिर्जना भएदेखि राष्ट्रिय प्रतिष्ठाका लागि मानिएको राष्ट्रिय एकता दिवस तथा युगयुगदेखि स्थापिन हिन्दु दिवसहरु खारेज गरेर लगभग ९६ प्रतिशत ॐकार परिवारको आत्मामा चोट पु¥याउने कुकर्म गरेको छ । सम्पूर्ण यस्ता गलत निर्णयको भागिदार प्रधानमन्त्री केपी ओली नैं ठहर्छन् । तमाम हामी हिन्दु र नेपालका राष्टवादीहरुले केपी ओलीलाई राष्ट्रवादी ठानेर अध्यधिक मतले जितायौं तर त्यसको परिणाम अहिले सबैलाई ठूलो धोका भएको छ । केपी ओलीको मन्त्रीपरिषदबाट यस्ता निर्णयहरु गराइन्छ भने यहाँ माओवादीलाई मात्र दोष दिन सकिदैन ।
एमाले भित्रका केपी ओली, माधव नेपाल, झलनाथ खनालहरु आफूहरुलाई कम्युनिष्ट भन्छन् तर यिनीहरु कम्युनिष्ट नैं होइनन् । नेपाली जनताको मन मस्तिष्कलाई दिग्भ्रमित बनाएर जतिसक्दो देशलाई लुट्ने, प्रसस्त पैसा कमाउने, ठूल्ठूला घर बनाएर बस्ने, नातागोता र आफ्ना कार्यकर्ता पोस्ने, आफ्नो सुरक्षाका साथ पार्टीभत्र अपराधमा संलग्न गुण्डाहरु राख्ने गर्छन् र यिनीहरु कम्युनिष्टको नामबाट नेपालको अस्तित्व निमिटयान्न गर्नेमा छन् । प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरा र माओवादीबाट निक्लेका बाबुराम भट्टराई यी सबै क्रिस्चियन हुन् । वास्तवमा यिनीहरु समर्थकहरु कम्युनिष्ट र्नै होइनन् । यिनीहरु यूरोपका इसाई राष्ट्रबाट पालिएकाहरुको समूह हो । यसरीे कस्ले कति भ्रष्टाचार गरेको बारेका सत्य–तथ्य पत्ता लगाउन को कस्ले के कति सम्पत्ति, स्वदेश विदेशमा बैंक ब्यालेन्स, घर, जग्गा छन् को कस्ले आफ्ना श्रीमती, छोरा–छोरी वा नातागोताको नाममा सम्पत्ति लुकाएर राखेका छन् त्यसको छानवीन गर्न निष्पक्ष व्यक्तिहरुको एक उच्च स्तरीय आयोग गठन गरियोस् र त्यसको प्रतिवेदन कार्यान्वयन् गर्न कटिवद्ध भएपछि सबै तथ्यहरु वैधानिक रुपमा देखिन्छन् । कुर्मको पनि हद हुन्छ– माओवादीको नाममा चीनबाट फाइदा लुट्ने, माओवादीको नामबाट भारतलाई छक्याएर भारतीय गुप्तचर संस्था ‘रअ’को प्रियपात्र बनेर चीन बिरोधी गतिविधिमा लाग्ने भन्दै भारतबाट कुक्लाउनसम्म कुम्ल्याउने माओवादीहरु अपराधीहरुको जथ्था हो । माओवादी को हुन् र कहाँबाट सञ्चालित थिए भन्ने कुरा बुझ्न सुधीर शर्माबाट लिखित ‘प्रयोगशाला’ नामको ठूला पुस्तक पढे हुन्छ । पुस्तकमा सम्पूर्ण विवरण प्राप्त छन् ।
माओवादीसँग मिलेर एउटै पार्टी–‘नेपाल कम्युनिष्ट पार्टी’ बनेपछि केपी ओली यत्ति हौसेकि उनको अहंकारको सीमा नैं रहेन । त्यसपछि उनले नेपाललाई कसरी उठ्न नसक्ने गरी आक्रमण गर्ने भन्ने आपराधीक सोच लिएर बढ्न थालेका छन् । अर्कोतर्फ देशभक्त राजा ज्ञानेन्द्र देशका विभिन्न मठ मन्दिरहरुमा उपस्थित भएकोमा आक्रोशित हुँदै अनेकौं बेइज्जत गर्दै राजतन्त्रको पक्ष लिनेहरुको बिरुद्ध जाई लागेका छन् । सगरमाथा भएर हो ? वा पशुपतिनाथ रहेकाले वा जानकीधाम भएर वा गौतम बुद्धको जन्मभूमि भएर वा मुक्तिनाथ भएकाले हो ? होइन । संसारको नजरमा नेपाल आँखो भएको संसारको एकमात्र हिन्दु राजसंस्था भएको देश र विश्वको एकमात्र हिन्दु अधिराज्य भएर नैं हो । हिन्दु राजा र हिन्दु अधिराज्य सुरक्षित रहिरहेमा मात्र सगरमाथा, पशुपतिनाथ, जानकीधाम, गौतम बुद्धको जन्मभूमि, मुक्तिनाथ सबैको सुरक्षा हुन्छ । राजा यो पूण्यभूमिका रक्षक मानिन्छन् । अव विदेशीहरुको नाङ्गो हस्तक्षपबाट मुक्त भएर देश बचाउन, नेपालका सम्पूर्ण पार्टीभित्र र बाहिरका देशभक्तहरुको संयुक्त प्रयासमा विश्वको एक मात्र हिन्दु अधिराज्य कायम राखेर र राजसंस्थाको संरक्षणमा हिमाल, पहाड, तराईका सबै फूलहरु समान रुपमा फूल्न पाउन सक्ने सहअस्तित्व आधारबाट नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र सन्तुलन कायम गर्दै नेपालको उज्वल भविष्य निर्माणमा हामी सबै सरिक हुन सकौं ।
dirgharajprasai@gmail.com











