काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षका लागि तोकिएको भन्सार राजश्व असुल उपर गर्न केही प्रमुख भन्सार कार्यालयका प्रमुख सहित भन्सार अधिकृतहरुको सरुवा गर्ने तयारी शुरु गरेका छन् । साउन र भदौ महिना कर्मचारीहरुको सरुवा गर्ने समय पनि हो । अर्थ मन्त्री भएको केही दिन भित्रै भन्सार राजश्व कडाईका साथ असुल्न भन्सार कार्यालय प्रमुखलाई निर्देशन दिदै एकै दिन ३५ करोड भन्दा बढी राजश्व असुली भएको थियो । तर अर्थ मन्त्रीले कडाई गरि भन्सार राजश्व असुल्न निर्देशन दिए पनि व्यापारीसँग मिलेमतो गरि राजश्व चुहावट गर्दै आएका भन्सार कर्मचारीहरुले व्यापारीहरुलाई उचालेर भन्सार दरबन्दी बढाइएको र यसले मूल्य वृद्धि हुने प्रचार प्रसार गराई भन्सार मूल्यांकन घटाउन र भन्सारको कडाई न्यून गर्न सरकारलाई दवाव सिर्जना गराई राजश्व चुहावट गरि व्यापक भ्रष्टाचार र घुसखोरी गर्ने प्रवृत्ति बढाएका थिए । अहिले अर्थ मन्त्री डा. खतिवडाले एयरपोर्ट भन्सार बाहेकका भन्सार प्रमुखको सरुवा गर्ने मनस्थिति बनाई विरगञ्ज, भैरहवा, विराटनगर, रसुवा र काकरभिट्टा जस्ता प्रमुख भन्सार कार्यालय प्रमुखको सरुवा गर्न र त्यहाँ कम घुस खाने, कम राजश्व चुहावट गरि लक्ष्य अनुसारको भन्सार असुली गर्ने व्यक्तिको खोजी गर्न भन्सार विभागका महानिर्देशक तोयम राय, अर्थ मन्त्रालयाका राजश्व सचिव शिशिरकुमार ढुंगाना, अर्थ सचिव राजन खनालसँग छलफल गरिरहेका छन् । धेरै राजश्व चुहावट गर्दै आएपछि वीरगञ्ज भन्सारका प्रमुख सेमन्त पोखरेल, विराटनगर भन्सारका प्रमुख मिमासु अधिकारी, भैरहवा भन्सारका प्रमुख भूपाल शाक्य, रसुवा भन्सारका प्रमुख गोपाल कोइराला, काकरभिट्टा भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल कालो सूचीमा परेका छन् । यस मध्ये वीरगञ्ज र भैरहवा भन्सार प्रमुख पोखरेल र शाक्यको २ वर्ष अवधी पुगिसकेको छ । काकरभिट्टा भन्सारका प्रमुख अर्यालले सरुवा मागि सकेका छन् भने विरगञ्ज भन्सारका प्रमुख पनि सरुवा हुन चाहिरहेका छन् तर व्यापारीको मिलेमतोमा व्यापक राजश्व छलि गर्दै आएका भैरहवा भन्सारका प्रमुख शाक्य भने नेकपाका नेताहरुको पहुँचमा पुनः एक वर्ष भैरहवा भन्सारमै बस्न व्यापक चलखेलमा लागिरहेका छन् । विराटनगर भन्सार प्रमुख अधिकारी, रसुवाका भन्सार प्रमुख कोइराला सोही ठाउँमा टिकिरहन शक्ति केन्द्रको चाकरी र करोडौ थैली बुझाउँदै हिडेका छन् । अर्थ मन्त्री डा. खतिवडा घुस नखाने हुँदा उनका ज्वाई डा. रामशरण खरेललाई प्रभावमा पारी थमौती हुन लागेका छन् ।
भन्सारमा सरुवाको तयारी
Posted By Admin On 22 Jul 2018. Under मुख्य समाचार
Comments are closed.













