काठमाडौं । केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अधिनायकवाद उन्मुख भएको आरोप लगाएको छ । कांग्रेसले बामपन्थी दलले चुनाव जिते अधिनायकवादमा मुलुक जाने भन्दै चुनावी क्रममा आरोप लगाएको र अहिले त्यो सत्यमा परिणत हुँदै गएको कांग्रेसका नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । कांग्रेसले सरकार विरुद्ध सांकेतिक रुपमा गत साउन १५ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा गरि ओली सरकारको काम कारवाहीको तिव्र विरोध गरेको छ ।
सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्दै काठमाडौं उपत्यकाको तीन जिल्लामा निषेधित क्षेत्र घोषणा गरि विरोध प्रदर्शनका लागि केही स्थान तोकेको, त्रिविवि र नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपतिको अपमान गरेको, संघीय प्रतिनिधिसभा, प्रदेश सभाको समामुख र उपसभामुख संविधान विपरित नेकपाले लिएको, मूल्यबृद्धि गरेको, न्यायालयमा राजनीतिक हस्तक्षेप गरेको, अघिल्लो सरकारले कानुन बमोजिम गरेका नियुक्ति खारेज गरेको, डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाई गरेको जस्तो आरोप लगाउँदै विपक्षी दलले ७७ वटा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ ।
कांग्रेसले संघीय प्रतिनिधि सभा र प्रदेश सभाको सभामुख र उपसभामुख मध्ये नेकपाले एउटा पद नछाडे संघीय प्रतिनिधि सभा र प्रदेश सभा बैठक चल्न नदिने नीति लिने भएको छ । कांग्रेसले आगामी सातादेखि यही विषयलाई लिएर सदन र प्रदेशसभा बैठकमा अवरोध गर्ने भएको छ । कांग्रेसले सदनदेखि सडकसम्म आन्दोलन गर्ने भएपछि नेकपाले राष्ट्रिय जनमोर्चाको सांसद सदस्य दुर्गा पौडेल, नेमकिपा वा संघीय समाजवादी फोरम नेपालकी महिला सांसदलाई उपसभामुख दिएर कांग्रेसको आन्दोलन तुहाउने भएको छ । प्रदेश ५ मा संघीय समाजवादीलाई प्रदेश उपसभामुख दिने र अरु प्रदेशमा कांग्रेसलाई नदिएर अन्य साना पार्टीलाई दिई कांग्रेसलाई सिध्याउने रणनीति नेकपाले बनाएको छ ।
सरकार अधिनायकवाद उन्मुख ः कांग्रेस
Posted By Admin On 03 Aug 2018. Under मुख्य समाचार
Comments are closed.













